✍️ सुरेश भट्टराई
आज सन् २०१९ देखि सम्पर्कमा रही सन् २०२२ देखि त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय वायुमण्डलीय स्रोत र वातावरण अनुसन्धान प्रयोगशालासँग आबद्ध भई गरेको एक अनुसन्धानको बारे यही मंसिर १६ गते मिटियोरोलोजी नामक जर्नलमार्फत प्रकाशित अनुसन्धानात्मक लेख र यसले उजागर गरेका कुराहरू यहाँहरू माँझ साट्ने जमर्को गर्दैछु । आशा गर्छु तपाईंले यो लेख पढ्दै अन्त्यसम्म पुग्दा तपाईंलाई उक्त घटनाको उत्पत्तिको कारण, त्यसले निम्याएको विपत्ति, वैज्ञानिक दृष्टिकोणसँग साक्षात्कार गराउने मेरो जमर्को, वैज्ञानिक सहकार्यमार्फत् नेपालीले नेपालमै बसेर कसरी यस्ता खालका विश्वस्तरीय अनुसन्धान गर्न सक्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गर्ने उद्देश्यमा म केही हदसम्म भए पनि सफल हुनेछु ।
कुरा २०७५ साल चैत १७ गते साँझको हो, पर्सा र बारा जिल्लाका बासिन्दाहरूले नेपालमा यसअघि कहिल्यै नदेखिएको एक शक्तिशाली आकाशे सुँडेलोको बबन्डर सामना गर्नुपर्यो । त्यस साँझ नेपालको उक्त क्षेत्रमा केही मिनेटमै यस विनाशकारी आँधीले ३० जनाको ज्यान लियो, हजारभन्दा धेरैलाई घाइते बनायो, अनि धेरै परिवारहरूलाई आश्रयविहीन बनायो । गाउँहरू माटोमा मिसिए, रूखहरू जरैदेखि उखेलिए र सवारीसाधन पल्टाइए । यो विनाशले स्थानीय बासिन्दा र नेपाललगायत विश्वका वैज्ञानिकहरूलाई समेत झस्कायो । नेपाल जस्तो देशमा यस्तो पहिले कहिल्यै भएको सम्झनामा छैन । त्यसैले पर्सा–बारामा भएको बबन्डर नेपालमा पहिलो पटक आकाशे सुँडेलो उत्पन्नभई भएको वैज्ञानिक रूपमा प्रमाणित गरिएको घटना बन्यो ।
दक्षिणी तराईबाट आएको न्यानो र प्रचुर आर्द्रतासहितको हावा हिमालयबाट तल झर्ने चिसो हावासँग ठोक्किएर यो आँधी प्रणाली बनेको थियो । यो टकरावले हावामा अन्तरघर्षण सिर्जना गर्यो जसले स्थानीय सतहको हावालाई फन्फनी घुमाउँदै आकाशतिर तान्ने ऊर्जा दियो ।
यो घटनापछि, त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय वायुमण्डलीय स्रोत र वातावरण अनुसन्धान प्रयोगशाला र जापानको टोयोहाशी युनिभर्सिटी अफ टेक्नोलोजीका वैज्ञानिकहरूको टोलीले यस घटनालाई बिस्तृतमा अनुसन्धान गर्ने निधो गरे । उनीहरूको उद्देश्य यो आकाशे सुँडेलो किन र कसरी बन्यो भन्ने पत्ता लगाउनु थियो । अनुसन्धानकर्ताले कम्प्युटर सिमुलेसन र भूउपग्रहबाट प्राप्त तथ्यांगहरको प्रयोग गरेर वातावरणीय अवस्थाहरूको गहन अध्ययन गरे । अन्ततः अध्ययनले देखायो कि नेपालको विशेष भूगोल र स्थानीय वातावरणीय अवस्थाहरूको मिलनले यस हिमवत् भू-खण्ड नेपालको इतिहासमा नभोगिएकोे विनाशकारी आकाशे सुँडेलो सिर्जना गरेको हो ।
उक्त अध्ययनका अनुसार आकाशे सुँडेलोको उत्पत्ति एउटा मेसोसाइक्लोन भन्ने वायुमण्डलीय आँधी प्रणालीबाट भएको थियो । यो प्रणाली एउटा गहिरो र घुमाउने प्रकारको आँधी हो जसले सामान्यतया आकाशे सुँडेलोकोे निर्माण हुनसक्ने संकेत गर्दछ । दक्षिणी तराईबाट आएको न्यानो र प्रचुर आर्द्रतासहितको हावा हिमालयबाट तल झर्ने चिसो हावासँग ठोक्किएर यो आँधी प्रणाली बनेको थियो । यो टकरावले हावामा अन्तरघर्षण सिर्जना गर्यो जसले स्थानीय सतहको हावालाई फन्फनी घुमाउँदै आकाशतिर तान्ने ऊर्जा दियो ।
तर, उक्त समयमा यतिमात्र पर्याप्त थिएन । नेपालको भूगोलले पनि यस आँधीलाई तीव्र बनायो । अध्ययनका अनुसार चितवन उपत्यका, महाभारत शृंखला र चुरे पहाडहरूबीचको समतल भू¬–भागले हावाको बहावका लागि सुरुङको काम गर्यो । जब चिसो हावा तलतिर झर्यो यसको वेग पहाडहरूलाई छिचोल्दै तीव्र हुँदै गयो । उही समयमा तलबाट आएको न्यानो हावा माथितिर उठ्यो । फलस्वरूप, यो गतिशीलताले आँधीलाई थप बलियो बनायो अनि आकाशे सुँडेलोे रूप धारण गरी बबन्डर मच्चायोे ।
यस अध्ययनमा वैज्ञानिकहरूले भू–उपग्रहबाट लिएका तस्वीरहरू र कम्प्युटर सिमुलेशनहरूलाई मिलाएर आकाशे सुँडेलोले बबन्डर मच्चाउँदै पछ्याएको बाटो र समयको अनुमान गरे । पर्सा-बारा क्षेत्रमा भएको यो नसोचिएको विनाशले ७५० मिटर चौडा बाटो बनाउँदै ४४ किलोमिटर लामो यात्रा तय गरेको भेटियो । भू–उपग्रहबाट प्राप्त तस्वीरहरूले यस विनासकारी आकाशे सुँडेलो बबन्डर मच्चाएर छोडेको एउटा सिधा र संकुचित चिहृन देखाए जसमा पर्ने गाउँहरू पूर्णरूपमा ध्वस्त भएका थिए ।
त्यस साँझ उक्त गाउँ-बस्तीका बासिन्दाहरूका लागि आकाशे सुँडेलोको आगमन अकल्पनीय थियो । धेरैजनाले आकाशे सुँडेलो भन्ने शब्द पहिले कहिल्यै सुनेका थिएनन् । केही प्रत्यक्षदर्शीहरूले आकाशबाट जमिनतर्फ फैलिएको बलेनी आकारको बादललाई वर्णन गरे, जसले भयानक गर्जन निकाल्दै सबै चीज तहसनहस गरिरहेको थियो । मानिसहरूलाई न सुरक्षित स्थानमा जान समय थियो न त यस्तो विपदको सामना गर्ने कुनै तयारी । नेपाल यस्तो खालको विपद् व्यवस्थापनमा तयार रहेको देखिएन ।
हुन पनि यस खालको विपद् नेपालमा आइपर्ला भनेर अघिसम्म कसैले कल्पनासम्म गरेका थिएनन् । यसो हुनुमा नेपालको सीमित मौसम विज्ञान पूर्वाधार थियो जसले यस घटनालाई अनुमान गर्न र प्रतिक्रिया जनाउन कठिन बनायो । देशभरि थोरै मात्रामा रहेका मौसम मापन केन्द्रहरू पनि पूर्णरूपमा यन्त्रबद्ध थिएनन् र छैनन् पनि । यसका बाबजुद, वैज्ञानिकहरूले उपलब्ध तथ्यांक र गणितीय नमुनीकरण (सिमुलेशन)मार्फत् पर्सा-बारा क्षेत्रमा उत्पन्न भएको आकाशे सुँडेलोको वातावरणीय पृष्ठभूमि पुनः निर्माण गर्न सके ।
यो अनुसन्धानले नेपाललाई एउटा महत्वपूर्ण पाठ सिकायो कि आकशे सुँडेलोहरूको उत्पत्ति र मच्चाउने बबन्डरहरू दुर्लभ भए पनि नेपालको विशेष भौगोलिक र वातावरणीय अवस्थाहरूले यस्ता घटना सम्भव बनाउन सक्छ । यद्यपि हिमवतखण्डमा अवस्थित हाम्रो देश नेपाललाई यस्ता आकाशे सुँडेलो प्रभावित क्षेत्र मानिँदैन, यस अध्ययन/अनुसन्धानले चरम मौसमीय अवस्थाहरू जुनसुकै ठाउँमा हुन सक्नेछ भन्ने सन्देश सबैलाई दिएर गयो ।
पर्सा–बारामा आएको आकाशे सुँडेलोले विनाशको चिहृन छोड्यो तर वैज्ञानिक अध्ययनहरूले यस घटनाको कारणहरूको गहिरो समझदारी प्रदान गरेको छ । अब तपाईं हाम्रो महत्वपूर्ण कार्य भनेको प्राप्त यस वैज्ञानिक ज्ञानलाई सदुपयोग गर्दै भविष्यमा यस्ता विपदहरूबाट मानिसलाई जोगाउने उपायहरूमा थप अध्ययन अनुसन्धान गर्दै कार्यान्वयन गर्नु पनि हो ।
उक्त अनुसन्धानमार्फत् संलग्न वैज्ञानिकहरूले पर्सा-बारा जस्ता बबन्डरले भविष्यमा नेपालका लागि जोखिम बढाउन सक्छ भनी जोड दिएका छन् । साथै नेपालले मौसम पूर्वानुमानमा सुधार गर्न थप लगानी गर्न आवश्यक छ । आधुनिक रडार प्रणाली, स्वचालित मौसम मापन केन्द्र र उपग्रह आधारित निगरानी उपकरणहरूले यस्ता चरम मौसमजन्य घटनाको पूर्वानुमान र भरपर्दो भविष्यवाणी गर्न सहयोग पु¥याउनेछन् भन्ने कुरालाई यस अनुसन्धानले थप प्रष्ट्याएको छ । साथै, जनचेतना अभिवृद्धि पनि महत्वपूर्ण छ भन्ने सन्देश दिएको छ ।
यो लेख पनि यस आँधीबारे नारेलमार्फत् भएको अनुसन्धानको बारे जनचेतनाका लागि लेख्दैछु । यस अनुसन्धानले सामान्य आकाशे सुँडेलो मच्चाउने बबन्डर सुरक्षा उपाय जस्तै सुरक्षित स्थानहरूको पहिचान र आपत्कालीन अभ्यास, ग्रामीण समुदायमा लागू गर्नुपर्छ भन्ने सन्देश दिएको छ । आकाशे सुँडेलोजन्य विपद अपरिचित भए पनि आधारभूत सुरक्षा उपायले धेरैको जीवन जोगाउन सक्दछन् भन्ने कुरालाई पनि यस अनुसन्धानले जोड दिएको छ ।
यसै अनुसन्धानमा वैज्ञानिकहरूले यस्ता घटना हुनुमा जलवायु परिवर्तनको प्रभाव पनि विचार गर्न सुझाब दिएका छन् । पर्सा–बारा बबन्डर स्थानीय वातावरणीय अवस्थाहरूको परिणाम भए पनि विश्वव्यापी तापक्रम वृद्धिले आँधी-तुफानहरूको आवृत्ति र तीव्रता बढाएको देखिन्छ । नेपालले जलवायु परिवर्तनसँग जुध्न रणनीतिहरू विकास गर्न र तत्काल लागू गर्न आवश्यक छ ।
पर्सा-बारामा भएको बबन्डरलाई सम्झनुको अर्थ केबल त्यहाँ भएका जीवनहरूको स्मरण गर्नुमात्र होइन, तर उनीहरूको सम्झनालाई कार्यद्वारा सम्मान गर्नु पनि हो । साथै, यो घटना केवल दुःखको विषय होइन यसले नेपाललाई भविष्यका विपद्हरूका लागि तयार हुन अवसर प्रदान गरेको छ । त्यो बबन्डरले नेपाललाई प्रकृतिको अप्रत्याशित शक्तिको कठोर सम्झना दिलायो तर यो घटनाबाट शिक्षा लिन र आगामी दिनहरूमा अझ बलियो तयारी गर्न नेपालसँग अझै पनि अवसर छ । आज हामी यो विपत्तिलाई सम्झिरहेका छौं भने, यो सम्झना भविष्यलाई सुरक्षित बनाउने जिम्मेवारीको संकेत पनि हो ।
पर्सा-बारामा आएको आकाशे सुँडेलोले विनाशको चिहृन छोड्यो तर वैज्ञानिक अध्ययनले यस घटनाको कारणहरूको गहिरो समझदारी प्रदान गरेको छ । अब तपाईं हाम्रो महत्वपूर्ण कार्य भनेको प्राप्त यस वैज्ञानिक ज्ञानलाई सदुपयोग गर्दै भविष्यमा यस्ता विपद्बाट मानिसलाई जोगाउने उपायमा थप अध्ययन अनुसन्धान गर्दै कार्यान्वयन गर्नु पनि हो । यो मौसमजन्य बबन्डर केबल एकपटकको घटना भए पनि यसले नेपाललाई चेतावनी दिएको छ । यसले हामीलाई भविष्यमा यस्तो चरम मौसमीय अवस्थाहरू सामना गर्न तयारी गर्न प्रोत्साहित गरेको छ । यसबाट प्राप्त ज्ञान र तयारीले भविष्यका विपद्लाई कम गर्न ठूलो भूमिका खेल्न सक्छ ।
हामी सबैलाई थाहै छ, प्राकृतिक शक्ति अनिश्चित र अनियन्त्रित हुन सक्छन् तर शिक्षा, उपकरण र जनचेतनाको सहायताले तिनीहरूको असरलाई न्यूनीकरण गर्न सकिन्छ । पर्सा-बारामा आएको आकाशे सुँडेलोले मौसमी बबन्डर र विनाशको कथा लेख्यो तर यसले हाम्रो विज्ञान र तयारीको कथा पनि लेखेर गएको छ । नेपालका समुदायहरू सुरक्षित र बलियो बनाउन यो घटनाले देशलाई सकारात्मक परिवर्तनका लागि उत्प्रेरित गर्नुपर्छ भन्ने कुरामा यस अध्ययनको एक अंश भएको नाताले सम्पूर्ण पाठकमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
(भट्टराई राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल) मा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ। )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच