नेपालको राजनीति कहिले घाम र कहिले छायाँ जसरी अगाडि बढिरहेको छ । पार्टीहरूबीचको पूर्वअभ्यासका आधारमा मात्र होइन हालका गतिविधिलाई हेर्दा यसो भन्न सकिने अवस्था छ । भुसमुनि छोपिएको आगो जसरी भुत्भुतेभित्र छोपिएको अवस्थामा सुुषुप्त रूपमा रहिरहेको नेपाली कांग्रेसको राजनीति हाल अचानक तातिँदै आएको छ । अँगेनाका अगुल्टाहरू ठोसिएको शैलीमा त्यहाँभित्र विभिन्न गुटगत गतिविधि हुनथालेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीचका मतामतान्तर बाहिर देखिने गरी पोखिन थालेका छन् । संस्थापन इतर पक्षले विराटनगरमा आफ्नो पक्षको भेला गरको छ । स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसले पराजय व्यहोर्नुपरेलगत्तै डा.शेखर कोइराला पक्षले उक्त भेला डाकेको थियो ।
संस्थापन पक्षधर उक्त भेलामा उपस्थित भएका थिएनन् । पहिले कांग्रेसले जितेको उक्त ठाउँमा कांग्रेसहरू एक हुन् नसकेकाले पराजय व्यहोर्नुपरेको हो भन्ने उक्त पक्षको भनाइ थियो । नेपाली कांग्रेस पार्टीमा यो एउटा ठूलो रोगका रूपमा पहिलेदेखि विकसित बन्दै आएको रूढ परम्परा हो । यसको स्थापनाकालदेखि रोपिएको बीजका रूपमा रहेर हाल असी वर्ष पुग्न लाग्दासमेत त्यही महारोग यस पार्टीमा हुर्किँंदै आएको छ । विराटनगर भेला केन्द्रलाई जानकारी गराएरै गरिएको भनेर संस्थापना इतरले भनेको भए पनि संस्थापना पक्ष त्यसो होइन र उक्त भेला गुटगत भेला भनिरहेको छ ।
नेपाली कांग्रेसको आगामी अधिवेशन केन्द्रित रहेर आफू सभापतिको उम्मेदवारका लागि आकांक्षी रहँदै आउनुभएका डा.शेखर आफ्ना लागि आधारभूमि तयार गर्दै हुनुहुन्छ भन्ने संस्थापन पक्षको भनाइ छ । राजनीतिलाई यसरी गुट-उपगुटमा विभाजन गर्दै लाने र आफू तिनै सानासाना गुटको नेता बन्ने प्रवृत्ति हाम्रो देशको विशेषता हो, हामीले यसैलाई राजनीति भन्ने र मान्ने गर्दै आएका छौं । डा.शेखरको नेतृत्व रहेको संस्थापना इतर पक्षले संस्थापन पक्षसँग ६०/४० को बण्डा पहिलेदेखि माग गर्दै आएको छ । यस पक्षले वर्तमान संविधान संशोधनको माग जोडदार रूपमा गर्दै आएको छ । सर्वसामान्यले यो नेता र त्यो नेता भन्ने माग गर्दैनन् जसले काम गर्छ त्यसको आवश्यकता र अपेक्षा गर्ने गर्छन् ।
वृद्ध, रोगी, कार्यक्षमताको अभाव भएका नेता र नेतृत्व जनताको अपेक्षामा पर्दैैनन् । संस्थापन इतर पक्षको भेलाको लगत्तै संस्थापन पक्षले आयोजना गरेको अर्को भेलामा डा.शेखर कोइरालाको उपस्थिति भएन । यसबाट यी दुई गुटबीचको मतान्तर स्पष्ट रूपमा बाहिर देखिन आएको छ । आन्तरिक रूपमा पार्टीभित्र मतान्तर हुनुभनेको पार्टी कमजोर बन्नु हो । यस्तै मतान्तर बढेर २०५८ साल नेपाली कांग्रेस पार्टी विभाजन भएको इतिहाससमेत छ । यसले गर्दा हालका जिम्मेवार पदाधिकारीहरूले यसतर्फ सचेत रहनु उपयुक्त हुन्छ । विगतका विषयको अध्ययन अथवा इतिहासको अध्ययन गर्नुको आवश्यकता र औचित्य पनि यही हो ।
नत्र इतिहास त विगत हो त्यसबाट केही प्राप्ति हुँदैन भने पनि हुन्थ्यो । विगतमा भएका नराम्रा काममा सुधार र राम्रा कामको अनुसरण गर्न इतिहासको अध्ययन गरिने भएकाले नेपाली कांग्रेस पार्टीले इतिहासबाट पाठ सिक्दा अनुचित हुँदैन बरू यसको सट्टामा फाइदा हुन्छ । राजनीति गर्नु भनेको नेता बन्न र नेतृत्व हात पार्न हो । त्यसका लागि उच्चस्तरीय प्रतिस्पर्धाको आवश्यकता पर्छ, त्यसो गर्नैपर्छ तर यसो भन्दैमा त्यस्तो प्रतिस्पर्धा अस्वस्थ, अवाञ्छित खालको हुनुहुँदैन । आजका क्रियाकलापले त्यसैलाई मन नपराएर भोलिका दिनमा जनताले आपूmलाई अनुमोदन नगरेकाखण्डमा त्यसबाट हानी हुने त हाल गुट खडा गरेर राजनीति गर्न खोज्नेहरूलाई नै हो ।
अर्कातिर नेपालको वामपन्थी राजनीति पनि सुरुदेखि बिथोलिँदै आएको छ । एउटै दृढ वामपन्थी पार्टी कहिल्यै पनि रहनसकेको छैन । बरू एक डेढ दर्जन जतिको संख्यामा नेपालका वाम पार्टीहरू चिरा-चिरा पर्दै आएको इतिहास छ । पुष्पलाल श्रेष्ठदेखि डा.केशरजङ रायमाझी, मोहनविक्रम सिंहसम्म आइपुग्दा धेरै चिरामा वामपन्थी विभाजित भइसकेका थिए । व्यक्तिवादी बन्दै गएका नेताहरूले अमात्य, बर्मा, मानान्धरलगायत गुटगत पार्टीहरू खोलेका थिए भनेपछि आएर मनमोहन अधिकारी, नारायणमान बिजुच्छेमात्र होइन हालको माओवादीहरूका अग्रज र अनुज नेताहरूको संख्या जोडिने र छुट्टिने खेल हालसम्म भइरहेकै छ, टुंगिएको छैन ।
यस्तो अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपार्टीहरूबीच एकताको प्रयास भइरहेको छ भन्नु जनताले उहाँलाई उपहासमा अझै बढी उडाउने मौका दिनुमात्र हो । यस्ता कुरा पहिले नभएका होइनन्, हुँदै आएका हुन् र प्रचण्डले यसभन्दा पहिले यस्तै अभिव्यक्ति दिनुभएको थियो तर अन्य वामपार्टीहरूले विश्वास गरेको अवस्था छैन, न उहाँको भनाइमै निष्कपट भावना तिनले पाएका छन् । पहिले भएको वामएकता पनि लामो समयसम्म दिगो भएर टिक्न नसकेको देखिएकै हो । त्यो त्यति पुरानो भइसकेको छैन ।
संसद्मा एमालेका सांसदले ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग गरेको विषयलाई लिएर चलेको दोहोरीका कारण लामो समयसम्म संसद् अवरुद्ध भएको र अवरोधकै बीच संसद्को अधिवेश टुंगिएको प्रसंगलगायत अनेकौं सन्दर्भलाई हेर्दा दाहालको वामएकताको अभिव्यक्तिले पनि अरू वामपार्टीहरूलाई एकीकृत गर्ने सम्भावना देखिएको छैन । यसरी हेर्दा पार्टीहरू जनताका काममा केन्द्रित हुनुको सट्टा अन्यत्र ध्यान मोडिरहेको जस्तो देखिएको छ जुन जनहित र अन्ततः पार्टी हितमा समेत रहने छैन । देशका जिम्मेवार र ठूला मानिएका पार्टीहरूले यसतर्फ सोच्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच