काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी २८ मंसिरमा हुने महाधिवेशनमा सत्तारूढ र विपक्षी गठबन्धननिकट पत्रकार संघठनका ‘एलायन्स’बीच प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)निकट प्रेस युनियन र प्रेस चौतारी नेपालले ‘एलाइन्स’ गरेका छन् । एलायन्सले अध्यक्षमा निर्मला शर्मालाई उम्मेदवारी बनाएको छ ।
यसैगरी, विपक्षी नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित ६ संगठनले युनियनबाटै विद्रोह गर्नुभएका रमेश विष्टलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अध्यक्षमा शर्मा र विष्टबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गठबन्धनमा केन्द्र र जिम्मेवार संगठनबाटै विद्रोह भएपछि यसको असर देशभर पर्ने आँकलन गरिएको छ । गठबन्धनभित्र प्रदेश र जिल्ला–जिल्लामा भागबण्डा गरिएपछि यसलाई लिएर देशव्यापी असन्तुष्टि छ । युनियन र चौतारीका असन्तुष्ट मत विपक्षी गठबन्धनका उम्मेदवार विष्टले तान्नसक्ने आँकलन गरिएको छ ।
शर्मा अघिल्लो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । तर, पराजित हुनुभयो । विष्ट यस अगाडिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि निर्वाचन गराउने जिम्मेवारी उहाँले पाउनुभएको थियो । तर, उहाँ पनि राजीनामा दिएर हिँडेपछि महिला उपाध्यक्ष बाला अधिकारीको नेतृत्वमा महासंघको निर्वाचन हुँदै छ । अध्यक्षमा देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिनुभएको छ ।
सत्तानिकट एलायन्सबाट चौतारीले अध्यक्षसहित महिला उपाध्यक्ष, समावेशी सचिव, कोषाध्यक्षसहित २२ पदाधिकारीमा उम्मेदवार उठाएको छ भने युनियनले वरिष्ठ उपाध्यक्ष, महासचिव, खुला सचिव, मधेसी सचिवसहित २८ पदाधिकारीमा उम्मेदवार उठाएको छ । विद्रोही उम्मेदवार विष्टलाई प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहित ६ संगठनले समर्थन गरेका छन् । महासंघले हालसम्म २६ अध्यक्ष पाइसकेको छ । तर, हालसम्म महासंघको नेतृत्वमा महिला पुग्न सकेका छैनन् ।
पत्रकारहरू दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ । दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन् । देशभरि दलमा आबद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन् । तर, उनीहरूको आवाज मुखरित हुन सकेको छैन ।
यस्तो छ विपक्षीको प्यानल र प्रतिबद्धता
पत्रकार महासंघमा कांग्रेसनिकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपालसहितले चुनावी गठबन्धन गरेका छन् । महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका छन् । तर, यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । विष्टलाई माओवादी केन्द्रनिकट प्रेस सेन्टरसहित, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन लगायतले समर्थन गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिनुभएको थियो । तर, गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर प्रेस सेन्टरसहितका संगठनले प्रेस युनियनका विद्रोहीसँग गठबन्धन गरेका हुन् । गठबन्धनबाट अध्यक्षमा विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहनुभएको छ । खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहनुभएको छ । खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार रहनुभएको छ । महिला सदस्यमा आदिवासी, जनजातितर्फ सरु राना, मधेसीतर्फ मीनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहनुभएको छ । दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार हुनुहुन्छ । आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ ।
मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहनुभएको छ । लेखा समिति संयोजकमा धु्रव रावल र लेखा समिति सदस्यमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार हुनुहुन्छ । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार हुनुहुन्छ ।
गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउन महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धिकरण गर्ने उल्लेख छ । ‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रूपमा अघि बढाउने छौँ’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।
युनियन-चौतारीको समूहलाई जिताउन अपिल
कांग्रेस र एमालेनिकट पत्रकारका संगठन प्रेस युनियन र प्रेस चौतारीले आगामी पत्रकार महासंघको निर्वाचनका लागि संयुक्त प्यानल घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रेस चौतारी नेपाल र प्रेस युनियनले साझा उम्मेदवार घोषणा गरेका हुन् । कार्यक्रममा महासंघका पूर्व-सभापतिहरू सुरेश आचार्य, महेन्द्र विष्ट, विपुल पोखरेललगायत सहभागी हुनुहुन्थ्यो । अध्यक्षका प्रत्यासी निर्मला शर्माले सबैजसो पूर्व-सभापतिहरूको समर्थन आफूसँग रहेको बताउनुभयो । शर्माले आफू तीस वर्षदेखि लगातार पत्रकारितामा क्रियाशील रहेको बताउँदै यसपटक समावेशी नेतृत्व स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यसपटक इमानदारीसाथ संयुक्त समूहलाई जिताउन अपिल गर्नुभयो ।
तीन महिला केन्द्रीय सदस्य निर्विरोध
पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीनजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आदिवासी जनजाति महिला सदस्यमा देविका घर्तीमगर, दलित महिलामा सावित्री रसाइली र महिला सदस्यको दलितमा रीता बुढाथोकी निर्विरोध हुनुभएको हो । निर्विरोध निर्वाचित देविका र सावित्रा रसाइली एमालेनिकट प्रेस चौतारीका हुन् भने बुढाथोकी माओवादीनिकट प्रेस सेन्टरकी उम्मेदवार हुनुहुन्छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । महासंघमा ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी दर्ता भए पनि अन्तिम नामावली प्रकाशन हुदाँ अध्यक्षदेखि सदस्यसम्म गरेर नौ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने १२४ जनाको उम्मेदवारी कायम भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच