
जुम्ला । जुम्लास्थित कर्णाली खेलकुद क्लबका नाममा धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गर्नुभएको छ । चन्दननाथ नगरपालिका–५ को वडा कार्यालय नजिक रहेको राजासिममा १३० वर्गमिटर जग्गा धावक रोकायाले क्लबको नाममा दान गर्नुभएको हो । करिब ३५ लाख रुपैयाँ बराबरको जग्गा क्लबको नाममा दान गरेको धावक रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्लाको खेल क्षेत्रको विकासका लागि जग्गा दान गरेको छु ।’ दान गरेको जग्गाले खेलकुद र खेलाडीहरूप्रतिको समर्पणलाई योगदान पुगेको छ । जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुर्याउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
धावक रोकायाको प्रेरणाले जुम्लामा खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने भएको छ । पहिलो तलामा फिटनेस क्लब हुने र जसबाट दिगो सञ्चालनका लागि कोष संकलन गर्ने योजना रहेको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।
दोस्रो तलामा क्लबको प्रशासनिक कार्य गर्नका लागि कार्यालय कक्ष निर्माण हुने र तेस्रो तथा चौथो तलामा न्यूनतम शुल्कमा केटा र केटीहरूका लागि छुट्टाछुट्टै छात्रावास सुविधा प्रदान गरिने योजना रहेको छ । संकलन भएको रकमले योग्य खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गरिने क्लबका अध्यक्ष शाहीले बताउनुभयो । धावक रोकायाबाट दान भएको जग्गाले जुम्लालाई नेपालकै प्रमुख उच्च प्रशिक्षण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने भएको छ । क्लबका अध्यक्ष शाहीले भन्नुभयो, ‘प्रशिक्षण गर्न चाहने थुप्रै खेलाडीहरूको आकांक्षालाई मूर्तरूप दिन जग्गा दानले पहुँच र आवासको अभावजस्ता चुनौतीहरूलाई समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’
दान भएको जग्गामा भवन निर्माणका लागि नक्सांकनको काम इञ्जिनियर नवीन शाही र इञ्जिनियर उत्तम रोकायाले गरिसक्नुभएको छ । भवन निर्माण परियोजना कर्णाली खेलकुद क्लबको मात्र नभएर यसले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई सशक्त बनाउन र जुम्ला तथा बाहिरको खेलकुदको भविष्य निर्माण गर्ने अपेक्षा गरिएको क्लबका अध्यक्ष शाहीको भनाइ छ । खेल क्षेत्रमा आफूले भोगेको समस्यालाई मध्यनजर गर्दै जग्गा दान गरेको धावक रोकायाले बताउनुभयो ।
जुम्लाको खेल क्षेत्रको विकासका लागि आफ्नो योगदान सधँै रहने छ । राष्ट्र चिनाउने खेल क्षेत्रको विकासका लागि जग्गा दान गरेको धावक रोकायाले बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागार्इंले धावक रोकायाले क्लबका नाममा जग्गा दान गर्नु महत्वपूर्ण काम भएको बताउनुभयो ।
हरिबहादुरको खेल क्षेत्रको यात्रा
कीर्तिमानी धावक हरिबहादुर रोकाया तत्कालीन चन्दननाथ गाविस-४ मा विसं २०२२ असोज १५ गते जन्मिनुभएको । उहाँ १५ वर्षको उमेरदेखि धावन यात्रा तय गर्नुभएका एक परिचित खेलाडी हुनुहुन्छ । एभरेस्ट म्याराथनमा हृयाट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भूत क्षमतावान् व्यक्तित्व हुनुहुन्छ उहाँ । साबिकको कर्णाली अञ्चललाई पहिलोपटक मेडल दिलाउने देशकै शान हुनुहुन्छ ।
उहाँले १३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । पहिलोपटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (पाँच हजार १८४ मिटर उचाइ)बाट सुरु भई नाम्चे बजार (तीन हजार ४४६ मिटर) सम्मको एभरेस्ट म्याराथनमा भाग लिनुभएको थियो । त्यसमा उहाँ तेस्रो हुनुभएको थियो । सन् १९९७ मा भएको प्रतियोगितामा दोस्रो हुनुभएका उहाँ सन् १९९९ मा पहिलो हुनुभएको थियो । उहाँले संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने विश्वप्रसिद्ध म्याराथन एभरेस्ट म्याराथनमा सन् २००० मा पहिलो भएर विश्व कीर्तिमान नै राख्नुभएको हो ।
तीन घण्टा ५० मिनेट २३ सेकेण्डमा म्याराथन पूरा गरी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा कीर्तिमानी धावकका रूपमा नाम लेखाउनुभएको हो उहाँले । उहाँले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटलीलगायत देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगेका छन् भने केही राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारसमेत जित्न सफल छन् । विश्वरूपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी, राममाया बुढा, मञ्जु बुढा, सबै रोकायाले उत्पादन गरेका खेलाडी हुनुहुन्छ । उहाँहरू सबै अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच