
दैलेख । हजारौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला रहेको धार्मिक तीर्थस्थल दैलेखको शीरस्थान र नाभिस्थानका विभिन्न स्थानमा जमिनमुनिबाट आएको ग्यास जस्तो पदार्थको विषयमा समय-समयमा निकै चर्चा परिचर्चाहरू भइरहेको हुन्थ्यो । भारतले पछिल्लो समय नेपालमा अघोषित नाकाबन्दी लगाएको समयमा देशमा पेट्रोलियम पदार्थको हाहाकार भएपछि विकल्पको खोजी हुन थाल्यो र नेपाल सरकारको नजर दैलेखमा रहेको ज्वालामा परेको थियो । यसरी आफ्नै देशमा खेर गएको पेट्रोलियम पदार्थ उत्खनन् गर्नुपर्ने आवश्यता अनुसार चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुवरी २८ मा तीन वर्षभित्र अनुसन्धान गरिसक्ने गरी दुई पक्षीय सम्झौता भएको थियो ।
सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखमा पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँहरूमा अनुसन्धान गर्नेगरी ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, डुगेंश्वर गाउँपालिकालाई मध्यविन्दु बनाएर ड्रिलिङको काम सुरु भएको थियो ।
२०७१ सालमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सहमति भएसँगै २०७५ सालमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्ने सम्बन्धी परियोजना स्वीकृत भई पेट्रोलियम पदार्थको उत्खनन् र अन्वेषण गर्न दुई अर्ब ४० करोड रुपैयाँको लगानीसँगै प्राविधिक सहयोग गर्नेगरी चीन र नेपाल सरकारबीच दुई पक्षीय सम्झौता भएको थियो । पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरेको थियो । पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सिएनपिसी इन्जिनियरिङले उत्खनन्को काम अगाडि बढायो ।
पहिलो चरणको सफलताका साथ अन्वेषण सकिएपछि दोस्रो चरणको ड्रिलिङ गर्ने उपयुक्त स्थानका लागि दैलेखको भैरवी गाउँपालिका वडा नं. १ को जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रहण गरी २०८१ वैशाखबाट काम अगाडि बढ्यो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको छ । चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ गर्दा पेट्रोलियम पदार्थ ग्यास हुनसक्ने बढी सम्झावना भएको आयोजनाका सिनियर डिभिजन जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रिलिङको काम सकिएको छ ।
के कस्तो पेट्रोलियम पदार्थ रहेको छ भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार वैशाख महिनादेखि सुरु गरिएको ड्रिलिङको काम असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि जमिनमुनि कडा चट्टान भेटिएपछि पुस महिनासम्म लम्बिन गएको थियो । दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई-दुई मिटरबाट नमुना परीक्षणका लागि निस्किएका ढुंगा र माटोलाई परीक्षण चीनमा पठाइएको छ । चिनियाँ टोलीबाट अन्तिम नतिजा आउन केही समय लाग्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढ्नेछ । प्राप्त भएको विवरणलाई संकलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीनवटा थप अध्ययन हुनेछ । पेट्रोलियम पदार्थ हुनका लागि आवश्यक मापदण्डअन्तर्गतका संकेत सफलतापूर्वक प्राप्त भइरहेका छन् । प्राप्त परीक्षण, चिनियाँ टोलीको प्रतिवेदनपछि आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्ने विभागले जनाएको छ ।
व्यावसायिक उत्खनन्को काम अघि बढाइने
दैलेखमा ग्यास भएको पत्ता लागेसँगै व्यावसायिक उत्खनन्को काम अघि बढाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको र अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खनन्को कामलाई अघि बढाइने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले पेट्रोलियम पदार्थ उत्खनन्को काम अघि बढाउने जानकारी गराउनुभएको हो । सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । पहिलो चरणको कामको सम्झौता सकिएको छ भने दोस्रो चरणको काम सुरु गर्न चीन सरकारसँग पहल थालिएको जनाइएको छ । अब लाग्ने बजेटको अनुमानित विवरण र निकालिएको स्याम्पलको परीक्षणको रिर्पोट अनुसार अघि बढ्ने जनाइएको छ । स्थानीय तथा प्रदेश सरकारले समेत व्यावसायिक उत्खनन्का लागि पहल थाल्न संघीय सरकारलाई आग्रह गरेका छन् । दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको कार्य अगाडि बढ्न सकेमा देशको आर्थिक विकासमा निकै उपलब्धिमूलक हुनेछ भने धेरैको संख्यामा रोजगारीको सम्भावना रहेकाले स्थानीयसमेत खुशी देखिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच