
एकतामा बल हुन्छ विभाजित भए लडिन्छ । यो अंग्रेजी लोकोक्ति हो । अंग्रेजीमा भन्ने गरिएको ‘युनाइटेड वि स्ट्याण्ड डिभाइडेड वि फल’ हरेक पलमा मनिसले पालन गर्नुपर्ने सूत्र हो । वर्तमान राजनीतिमा पनि यस सूत्रको सार्थकता देखिन आउँछ । यो सूत्रको पालना गर्ने राजनीतिक शक्तिहरू सफल बन्न सकेका छन् भने पालन नगर्ने दलहरू असफल बन्दै गएका छन् । पूर्वराजाको सम्बोधन पछिको नेपाली राजनीति संग्लिँदै गएको अर्थमा बुझ्न सकिन्छ । वर्तमान समयमा कार्यरूपमा रहिरहेको राज्य प्रणालीलाई अनेक उपनाम दिएर गाली गर्ने गरी पार्टीहरू एक आपसबाट टाढा बनेको अवस्था थियो । राजावादी भनिएका दलहरूबीच पनि एकता थिएन । २०४६ सालको प्रजातन्त्र आउनासाथ पूर्वपञ्चहरूका पार्टी खुले ।
पार्टीका नाममा प्रजातन्त्र भन्ने शब्द त जोडिएको थियो तर पार्टी संस्थापकहरू पञ्चायतमा रहेर मन्त्री प्रधानमन्त्री भइसकेको व्यक्ति भएका कारण त्यस्ता पार्टीहरूलाई नेपाली जनताले पूर्वपञ्चहरूका पार्टी हुन् भनेर चिन्ने गरेका थिए । तर, सुरुदेखि नै तिनका बीच बेमेल भयो र फरक-फरक चिहृन लिएर पार्टीका नाम भने समान बन्दै आएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नाम र तिनका चुनाव चिहृन हलो र गाई नेपाली जनमासनलाई अनेक दृष्टिबाट आकर्षित गर्ने खालका थिए तर प्रजातन्त्र प्राप्तिपछिको साढे तीन दशकसम्ममा पनि तिनले राजनीतिक रूपमा नेपाली जनताको मन जित्न सकेका छैनन् । हालको राजावादीहरूले गर्ने भनेको आन्दोलनका लागि पनि तीनका बीच एकता कायम हुन सकेको छैन ।
उक्त आन्दोलनका लागि नेतृत्वदायी भूमिकामा रहेर कमाण्ड सम्हाल्ने सर्वसम्मत राष्ट्रिय व्यक्तित्व (नेसनल फिगर) कोही नभएको कारण राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलाई कमाण्डर तोकिएको छ तर सुरुदेखि नै उनीहरूबीच विवाद सुरु भएको छ । नवराजलाई कमाण्डर नस्वीकार्ने र आफ्नै कमाण्डमा आन्दोलन गर्ने गरी राजेन्द्र लिङ्देन अगाडि सर्नुभएको छ भने दुर्गा प्रसार्इंले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राजाको स्वागतमा जम्मा भएको भिड आफूले ल्याएको दाबी गर्नुका साथै त्यसको जस अरूले लिन लागेको भनेर आलोचना गर्नुभयो । यसरी विभिन्न मतमतान्तर भएर आन्दोलन गर्न लागेको राजनीतिक शक्तिले कुनै सफलता पाउन सक्ने सम्भावना देखिँदैन ।
हाल गणतन्त्रवादी दलहरूका क्रियाकलापले नेपाली जनतामा चरम निराशा पैदा भएको अवस्था चाहिँ हो तर यसो भन्दैमा गणतन्त्रको विकल्प खोज्ने बेला यो होइन । गणतन्त्रलाई नै अझै सुधार गरेर जानुपर्छ र त्यसका लागि गणतन्त्रवादी नेता र नेतृत्व सुध्रिनुपर्छ । यसतर्फ गणतन्त्रवादी नेताहरूले ध्यान पुर्याउनैपर्छ । राजावादीहरूको हालको हलचलबाट उनीहरूले कुनै परिवर्तन गर्न सक्लान् भन्ने देखिँदैन, उनीहरूको सुरुकै गतिविधिबाट पनि त्यस्तो सम्भावना छैन तर यसले गर्दा गणतन्त्र र गणतन्त्रवादी नेताहरूलाई फाइदा पुगेको छ । उनीहरू बीचको दूरी टाढिँदै गइरहेको अवस्थामा हाल त्यो दूरी नजिक बन्दै गइरहेको अवस्था छ । गणतन्त्रको विकल्प राजतन्त्र बन्न सक्दैन, गणतन्त्रको विकल्प गणतन्त्र नै हो अझै सुधारिएको गणतन्त्र हो ।
त्यस्तो गणतन्त्र जसमा नेता र दलहरू राजनीतिक स्वार्थमा चुर्लुम्म डुबेको अवस्थामा नहोऊन्, तिनले राजनीतिलाई व्यापार नठानून् समाजसेवा ठानून् । अनियमिता र भ्रषटाचार नहोस्, देशले विकासित बन्ने मौका पाओस् । बेरोजगारी हटोस् नेपाली युवाहरूले आफ्नो श्रम र पसिना बेच्न विदेशी भूमि जानु नपरोस् । त्यस्तो अवस्था सिर्जना गर्न दलहरू सफल बन्ने हो भने कुनै पनि व्यक्ति एक पटक हटिसकेको राजतन्त्र पुनः आउनुपर्छ भने राजावादीहरूको जुलुसमा सहभागी बन्न जाने थिएनन् । हिजोका दिनहरूमा परपर बन्दै गएका दलहरू हाल एक बन्दै गएका छन् । यसबाट गणतन्त्र ती सबै दलहरूलाई चाहिएको छ भन्ने देखिन आएको छ । मधेसकेन्द्रित अभियानमा रहेको माओवादी केन्द्र प्रधानमन्त्रीको आग्रहपछि फिर्ता आएको छ ।
राजावादीहरूको विरुद्धमा सबै शीर्ष दलहरू प्रतिक्रिया दिइरहेका छन् । ती दलहरूले आ-आफ्नो ढंगले प्रतिक्रिया दिए पनि साझा वक्तव्य आएको खण्डमा नेपाली जनता अझै एकीकृत र संगठित बन्नसक्ने थिए । गणतन्त्रवादी नेताहरूका कमजोरीहरू धेरै छन् । कमजोरी मात्र होइन उनीहरूबाट अनेकौँ प्रकरणहरूमा संलग्नता हुँदै आएको छ । त्यस्ता प्रकारणहरू सयौँ छन् । राज्य विरुद्धको अपराध गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउनु र कडाभन्दा कडा सजाय गर्नुपर्नेमा तिनलाई उन्मुक्ति दिने काम तिनै नेताहरूबाट भइरहेको छ । सत्तामा जो पुगे पनि अर्को पार्टीका शीर्ष नेताहरूलाई समेत कारबाही नगर्ने सहमति गरिन्छ । न्यायपालिका र कर्मचारी प्रशासनमा समेत चरम भ्रष्टाचार छ र तिनलाई नेताहरूको संरक्षण हुने गर्छ ।
यस्ता विभिन्न कार्य र कारणहरूले गर्दा गणतन्त्रलाई माया गर्ने जनतामा निराशाभन्दा अरू केही छैन । तिनमा उत्साह सिर्जना हुने खालका कुनै कार्यहरू हुन पाएका छैनन् । नातावादले देश चुर्लुम्म डुबेको छ । त्यसकारण गणतन्त्रवादी नेताहरूले भोलि राजावादीहरूले हानेका एउटा झटोरोको पछि लागेर आफ्ना पक्षका कार्यकर्ताहरू पनि जालान् कि भन्नेतर्फ भने सचेत रहनुपर्ने हुन्छ । २०४८ सालको कांग्रेसमय देशमा माओवादीको सशस्त्र विद्रोह सुरु भएपछि तिनका पछि लाग्नेहरू तिनै कांग्रेस कार्यकर्ताहरू थिए । त्यसकारण प्रसिद्ध कवि गोपालप्रसाद रिमालको ‘त्यो हुरी बनेर आउने छ र अरू पत्कर बनेर त्यसलाई पछ्याउनेछन्’ भन्ने भाव गणतन्त्रवादी नेताहरूले पनि स्मरण गर्नैपर्छ । नत्र कहिलेकाहीँ नपत्याउने खोलाले पनि बगाउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच