
प्रदीप ढकाल
मलाई कुनै वादको ट्याग नलगाइयोस् । म कुनै वादी होइन । यहाँसम्म कि म राष्ट्रवादी पनि होइन । आजका दिनसम्म म केवल एक सामान्य नागरिक हुँ, भोलि पनि त्यही रहनेछु । म जस्तै लाखौं मानिसहरू यो देशका कुनाकन्दारामा कुटो, कोदालो, हँसिया, बञ्चरो चलाएर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । उनीहरूको मनमा यतिबेला एउटै सामूहिक प्रश्न उठिरहेको छ- आखिर कहिले हाम्रो देशले सही नेतृत्व पाउँला ?
के हामी सधैं असक्षम, अदूरदर्शी र सत्ताको उन्मादमा मस्त नेताहरूको शासन सहनुपर्ने हो ? के कहिल्यै हाम्रो प्रतिनिधित्व गर्न सक्षम, दूरदर्शी र इमानदार नेतृत्व आउनेछ ? हामी, सामान्य नागरिकहरू, जसको पसिनाबाट देशको ढुकुटी भरिन्छ, कहिले साँचो न्याय पाउनेछौं ? हाल गाउँ, शहर वा राजधानीका गल्लीहरूमा राजावादीहरू अनि गणतन्त्रवादीहरूको एकापसमा जुहारी चल्दैछ, नेपालको संविधान २०७२ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेर घोषणा गरेको छ । २५० वर्षीय राजतन्त्र फालेर मुलुकमा हजारौं जनताको रगत बगेर आएको गणतन्त्रको यति छोटो अवधिमै कसरी जनमानसमा वितृष्णा फैलिँदै छ ? के साच्चिकै गणतन्त्रको जग बलियो नभएको हो ?
पूर्वराजा ज्ञानेन्द्रले हाक्षिउ गर्दैमा यी गणतन्त्रवादी नेताहरूको दाँतबाट पसिना आउँछ भने के यी नेताहरूले साच्चिकै चोखा छन् त ?
जनता चरम निरासामा छन्, सबै जनता बग्न नपाएको पोखरी सरी कुण्ठाले भरिएका छन् । देश र जनताको पक्षमा यी नेताहरूले आफूलाई न सुधारे पोखरी विष्पोट हुने निश्चित जस्तो देखिन्छ । नेपालका हरेक परिवर्तनका मूल जरा जनता हुन् । प्रजातन्त्र, गणतन्त्र, संघीयता यी सबै परिवर्तनको भार जनताले नै उठाएका हुन् । तर हिजोको संघर्षलाई आजका नेताहरूले सत्ता सन्तुलनको खेल बनाएका छन् । सही नेतृत्वको खडेरी नेपालमा झन् गहिरिँदै गएको छ । सत्तामा पुगेपछि नेताहरू आफ्नो पार्टी, आफ्ना मानिस, आफ्ना लगानीकर्ताको मात्रै पक्षपोषण गर्छन् । उनीहरू जनता सम्झने कुरा चुनावको केही महिनाअघि मात्रै गर्छन् । आमनागरिकका वास्तविक समस्या सत्ताका गल्लीहरूमा गुमनाम छन् ।
नेपालका मुख्य राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य साना दलहरू-सबैले पटक-पटक सरकार चलाउने मौका पाए । तर उनीहरूबाट देशले समृद्धिको गति लिने साटो, अझै अस्थिरता, भ्रष्टाचार र राजनीतिक व्यापारिकरणको बोझमात्रै सहनु परिरहेको छ । राजनीति जनताको सेवा गर्न बनाइएको हो तर यहाँका नेताहरूको प्राथमिकता भने आफ्नै भविष्य सुरक्षित गर्नुमा केन्द्रित छ । आज नेपाली समाजमा राजनीति भनेको भ्रष्टाचारको पर्याय बनेको छ । नेतृत्व भनेको शक्ति प्रदर्शन गर्ने मञ्चमा सीमित छ । देशको शासन व्यवस्था व्यक्तिवाद, नातावाद, कृपावादको दलदलमा फसिरहेको छ । सरकार सञ्चालनमा रहेका नेताहरू आफ्नै स्वार्थमा केन्द्रित छन् । जनताका प्रश्नहरू सुनुवाइको पर्खाइमा छन् । शिक्षा क्षेत्रको अवस्था जस्ताको तस्तै छ । सामुदायिक विद्यालय जर्जर छन् । शिक्षामा गुणस्तर वृद्धि गर्नेभन्दा निजीकरणलाई प्रवद्र्धन गर्ने काम भइरहेको छ । स्वास्थ्य क्षेत्र झन् कमजोर बन्दै गएको छ । सरकारी अस्पतालहरूमा न त पर्याप्त चिकित्सक छन्, न त आवश्यक उपकरण नै । गरिब जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ ।
रोजगारीको कुरा गर्ने हो भने, हरेक वर्ष लाखौं युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । सरकारले रोजगारी सिर्जना गर्नेभन्दा प्रवासमा श्रम बेच्न उक्साउने नीति लिएको छ । नेपालका गाउँ-शहर युवाविहीन बन्दै गएका छन् । खेतबारीमा तन्नेरी हातहरू छैनन्, केवल वृद्धहरूको मलिन अनुहारमात्र छन् । यो समस्या समाधान गर्न सरकारले कुनै ठोस नीति ल्याएको छैन । सबैभन्दा गम्भीर समस्या भनेको भ्रष्टाचार हो । सुन तस्करी काण्ड, हृवाइट बडी, क्यान्टन्मेन्ट, भुटानी शरणार्थी जस्ता ठूला भ्रष्टाचारका घटना दिनहुँ बाहिर आउँछन्, दोषीलाई कारबाही हुनुको सट्टा उनीहरू झन् सशक्त बन्दै गएका छन् । आमनागरिक कर तिर्छन्, तर त्यो करबाट बनेका योजना भ्रष्टाचारको चक्रव्यूहमा अल्झिन्छन् । यो अवस्थामा देश कसरी समृद्ध बन्न सक्छ ?
हामीलाई अब त्यस्ता नेताहरू चाहिन्छन्, जो शक्तिमा होइन, सेवामा विश्वास गर्छन् । जो जनताको पीडा बुझ्छन्, समाधानको बाटो पहिल्याउन सक्छन् । देशको भविष्य सुनिश्चित गर्न नागरिक स्वयं सचेत हुन जरुरी छ । नेतृत्वको सही छनोट गर्न नसक्ने हो भने हामीले निरन्तर यिनै असक्षम नेताहरूको शासन भोग्नुपर्नेछ । हामीले अब यस्तो नेतृत्व खोज्नुपर्छ, जसले शिक्षाको सुधार गर्छ, स्वास्थ्य सेवामा सुधार ल्याउँछ, रोजगारी सिर्जना गर्छ, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्छ र लोकतान्त्रिक मूल्य तथा मानव अधिकारको सम्मान गर्छ । नेपालका जनता निराशलाई छन्। उनीहरू परिवर्तनमा बदल्न चाहन्छन । तर परिवर्तनको सपना देखेरमात्र पुग्दैन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ ।
यो युग जेनेरेशनको युग हो । नयाँ पुस्ताले राजनीति केवल वादविवादको विषय होइन, जिम्मेवारीको विषय बनाउनुपर्छ । अहिलेका नेताहरूले सुशासन दिन सकेनन् भने जनताले उनीहरूलाई विस्थापित गर्न ढिला गर्नु हुँदैन । अब देशले सक्षम नेतृत्व खोज्नुपर्छ । इमानदार र दूरदर्शी सरकार निर्माण गर्नुपर्छ । नेपाललाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।
देशलाई सशक्त नेतृत्व चाहिएको छ । सबैले सचेत नागरिकको भूमिका निर्वाह गर्दै सही नेतृत्वको छनोट गर्ने जिम्मेवारी लिनुपर्छ । नेतृत्व परिवर्तनको पहिलो चरण हाम्रो सचेत निर्णयबाट नै सुरु हुन्छ । समय आइसकेको छ, असक्षमहरूलाई बिदाइ र सक्षमलाई अघि सार्ने ।
त्यवती गा.पा., गुल्मी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच