
काठमाडौं । सेनिटरी प्याड खरिदमा करिब ५२ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । कर्मचारीसँग मिलेमतो गरेर भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले सागरदेवी फर्मा हेटौँडा र त्यसका प्रोप्राइटर विमलेश शाहलाई पनि प्रतिवादी कायम गरेको छ ।
आव ०७७÷७८ र ०७८÷७९ का लागि सेनिटरी प्याड खरिद गर्दा कर्मचारी र आपूर्तिकर्ता कम्पनी सागरदेवी फर्माले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । फर्मा र त्यसका प्रोप्राइटर शाहसँगको मिलोमतोमा आव ०७७÷७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी उपमहानगरका कर्मचारीले अस्वाभाविक मूल्य कायम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
१९ मंसिर ०७७ को टिप्पणी निर्णयबाट सेनिटरी प्याडको प्रतिप्याकेट मूल्य ७९.१ रुपैयाँ कायम गरिएको थियो । जुन मूल्य अस्वाभाविक हो । टिप्पणी निर्णयबाट लागत इस्टिमेट स्वीकृत गराइएको थियो । यता, फर्मा सञ्चालक शाहले राष्ट्रसेवकसँग मिलेमतो गरी एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेस गरेको देखिएको छ । त्यसमा प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी उपमहानगरले ठेक्का दियो । तर, पछिल्लो आवमा त्यही सेनिटरी प्याडको खरिद निकै कम दरमा भयो । ०७८÷७९ मा सोही कम्पनीको सेनिटरी प्याड प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । पछिल्लो वर्षको खरिद हेर्दा अघिल्लो वर्षभन्दा निकै कम दर पाएपछि अख्तियारले यसैको आधारमा मुद्दा दायर गरेको हो ।
अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँ बढीका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी भएको अख्तियारले जनाएको छ । पछिल्लो वर्षको तुलनामा बढी भुक्तानी देखिएको रकमलाई नै अख्तियारले भ्रष्टाचार कायम गरेको छ । यसमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित अन्य कर्मचारी अधिकारी, ठाकुर र सर्राफविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । हिनामिना भएको रकमलाई नै संयुक्त बिगो कायम गरेर उनीहरूलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।
राष्ट्रसेवकसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा बढी भुक्तानी लिएको आरोपमा कसुर कायम गरेर अख्तियारले फर्मा र फर्माका प्रोप्राइटर शाहलाई पनि प्रतिवादी कायम गरेको छ । कसुरको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कार्य गरेको अख्तियारको आरोप छ । उनीविरुद्ध पनि ५१ लाख ९९ हजार १२० रुपैयाँ नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच