विराट गोल्डकपको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । विराटनगरको शहीद रंगशालामा रात्रीकालीन समयमा आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । आयोजक विराट गोल्डकप ट्रस्टले चैत ९ गतेबाट हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूपमा परिवर्तन भएको थियो । विराट गोल्डकपको नामबाट हुन लागेको यो छैटौँ संस्करण हो ।

शहीद रंगशालामा रात्रीकालीन प्रतियोगिताका लागि मैदान मर्मत गर्ने काम सकिएको तथा प्यारापिटलगायतका कामहरू पनि पूरा भइसकेको आयोजकले जनाएको छ । नौ दिनमा समापन हुने प्रतियोगितामा आठ टिमले नकआउट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारतीय एउटा क्लबले पनि प्रतिस्पर्धा गर्नेछ ।

नेपालका तीन विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै संकटा, जवालाखेल र घरेलु टोलीका रूपमा विराटनगर सिटी फुटबल क्लब रहेका छन् । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको केरलामा रहेको लुका सकर क्लब आउने पक्का भइसकेको आयोजकले जनाएको छ ।

दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको र अर्को संस्करणमा सहभागी हुने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ । दिल्ली एफसीको ठाउँमा ड्रुक लयुल फुटबल क्लब, भुटानले सहभागिता जनाउने भएको छ ।

यस संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा पनि वृद्धि गरेको आयोजकले जनाएको छ । यस संस्करणको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत संस्करणको विजेता एपिएफले १५ लाख १५ हजार र उपविजेता पञ्जाव पुलिसले सात लाख ५१ हजार प्राप्त गरेका थिए ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार, प्लेयर अफ दी म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ । आयोजकले टिकेटिङ पार्टनरका रूपमा ‘खल्ती एप’सँग साझेदारी गरेको छ । क्वाटरफाइनलसम्मको खेलका लागि दुई सय तथा सेमिफाइनल र फाइनल खेलको तीन सय टिकट दर तोकिएको छ । प्रतियोगिता आयोजना गर्दा कम्तीमा २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?