थ्री नेसन्स कपमा नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । दुबै हाफमा नेपालले एक/एक गोल गरे । खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो । एरिक विष्टले गरेको कर्नरलाई अनन्तले हेडरमार्फत गोल गर्नुभएको थियो । त्योसँगै पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको थियो ।

यस्तै नवयुग श्रेष्ठले ५६ औं मिनेटमा सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर पार्नुभयो । उहाँले झन्डै ३५ यार्ड टाढाबाट गरेको भली प्रहार सिधै गोलमा परिणत भएको थियो । मैदानको मध्यभागमा उहाँले पाउनुभएको बललाई पहिलो टचमै प्रहार गर्नुभएको थियो । जसलाई विपक्षी गोलरक्षक सेसाभाथ सौभान्शोकले ठम्याउँन सक्नुभएन ।

त्यसअघि नेपालले खेलका विभिन्न समयमा गरेका प्रयासहरू सफल हुन सकेनन । १८ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।

यसै खेलबाट डिफेन्डर सनिश श्रेष्ठ, फरवार्ड दीपकराज सिंह र मिडफिल्डर सुमित श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गर्नुभएको थियो । सनिशले सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्नुभएको हो । फ्रेन्ड्स क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै व्यवसायिक फुटबल खेल्नुभएका उहाँ हाल गर्नुभएपछि विभागीय टोली एपिएफबाट ‘ए’ डिभिजन लिग खेल्ने गर्नुहुन्छ ।

यस्तै फरवार्ड दीपकराज सिंह ठकुरीले खेलको ८२ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यु गर्नुभएको थियो । सातदोबाटो युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेल्नुहुने उहाँले गोलकर्ता नवयुग श्रेष्ठको स्थान लिनुभएको थियो ।

सुमित श्रेष्ठले इन्ज्युरी समयमा आयुष घलानको स्थान लिँदै डेब्यु गर्नुभएको हो । फुटसलबाट राष्ट्रिय टोली हुँदै सुमित फुटबलमा आउनुभएको हो । उहाँ राष्ट्रिय यू-२० टोलीबाट समेत खेलिसक्नुभएको छ । यस्तै घरेलु फुटबलमा उहाँ मनाङ मस्र्याङ्दी क्लबबाट खेल्नुहुन्छ ।

जारी त्रिदेशीय खेलमा नेपाल, लाओस र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । अब चैत ११ गते भुटान र लाओस तथा त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने खेल तालिका रहेको छ ।

राउण्ड रोबिनपछि शीर्ष दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ पाँच सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिसकेको छ । खेलका टिकटहरू खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरूबाट पनि किन्न सकिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई पाँच हजार अमेरिकी डलर, द्वितिय पुरस्कार तीन हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पाँच सय अमेरिकी डलर गरी कुल नौ हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । उक्त पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४८० रुपैयाँ रहेको एन्फाले जनाएको छ । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?