जिउँदो व्यक्तिको मृत्युदर्ता बनाएर सात करोडको जग्गा बिक्री, किर्ते आरोपमा पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । जिउँदो व्यक्तिको नक्कली मृत्यु दर्ता गरेर जग्गा बिक्री गर्ने गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । ब्युरोका अनुसार २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्तिदेवी लोहनीको जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गाधनीको मृत्यु भएको भनी नक्कली कागजात बनाएर सात करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उहाँको नाममा कीर्तिपुर नगरपालिका-२ मा रहेको ३४१ वर्गमिटर जग्गा तीन करोड ७० लाख रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

लोहनी बेलाबखतमा मात्र नेपाल आउने गर्नुहुन्थ्यो । सोही क्रममा २०६१ माघ १३ गते उनले सो जग्गा खरिद गरेर पुनः जापान जानुभएको थियो । उहाँ गत जेठ ५ गते नेपाल आउनुभयो । जेठ १३ गते मालपोत कार्यालय कलंकीमा सक्कल पूर्जा देखाएर बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उहाँको जग्गा बिक्री भइसकेको खुलेको थियो ।

नक्कली श्रीमान खडा गरी जग्गा नै नामसारी
पक्राउ परेकामध्ये ५२ वर्ष महावीर चन्दले लोहनीको पति तारानिधिको नामको नक्कली नागरिकता बनाएका थिए । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान् भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए । शान्तादेवी नाममा रहेको सो जग्गा त्यसै वर्षको पुस ५ गते नक्कली तारानिधिमा नामसारी भएको थियो । त्यसपछि उनीहरूले सो जग्गा २०७७ फागुन १० गते भक्तपुर नगरपालिका ११ की सुनिता कर्माचार्यलाई तीन करोड ७० लाख रुपैयाँमा बिक्री गरेको खुलेको हो ।

वास्तविक जग्गाधनी शान्तादेवीले करिब सात करोड मूल्य बराबर पर्ने जग्गाको ठगी मुद्दामा अनुसन्धानका लागि ब्युरोमा असार १ गते जाहेरी दिनुभएको थियो । ब्युरोले सो गिरोहलाई काठमाडौंका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला घर भई हाल काठमाडौं टोखा-८ बस्ने महावीर चन्द (नक्कली तारानिधि), सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये खनाल र कार्की मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । जसमा खनालले खरिदकर्ता खोज्ने र आर्थिक कारोबारको व्यवस्थापन गरेको र कार्कीले नक्कली कागजात बनाउने मिलाउने र मालपोत कार्यालयमा समन्वय गरेका थिए । प्रहरीले दुवैलाई चितवनको भरतपुरबाट गत बिहीबार पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?