✍️ वीरेन्द्रबहादुर चन्द
शीर्षक यस्तो राख्नुको कारण हो- सबैका हजुरआमाहरू बास्तवमै प्यारा हुन्छन् । यो सायद ध्रुव सत्य नै होला । संसारका सबै हजुरआमाहरू मातृस्नेहले भरिपूर्ण हुन्छन् । उहाँहरूलाई यो जीवनजगतको अनुभवले अपार बनाएको हुन्छ । त्यसैले हजुरआमाहरू यो संसारका सबैभन्दा दयालु र मायालु अवतार हुन् । हजुरआमा एउटा यस्तो वरदान हुन् जसले यो संसारलाई अझै सुन्दर, प्रिय र अविष्मरणीय बनाइदिएको छ । यस्तै गरी मेरी हजुरआमा पनि अत्यन्तै प्यारी हुनुहुन्छ । यो सानो आलेखमा मैले मेरी हजुरआमासँगका केही स्मरणहरू टिप्ने प्रयास गरेको छु ।
अठ्चालीस सालतिरको कुरा हो । जिज्युबाजेको देहान्त भएको वर्ष । म त्यतिबेला लगभग तीन वर्ष जतिको थिएँ । जिज्युबाजेको मृत शरीर आसीन हुने ठाउँलाई हजुरआमा सफा गरिरहनुभएको थियो । त्यति बेला हजुरआमा फुर्तिलो हुनुहुन्थ्यो । जिज्युबाजेको मृत शरीरलाई त्यहाँसम्म ल्याउनु अगावै हजुरआमाले उक्त स्थान राम्ररी लिपपोत गरिसक्नुभएको थियो । म हजुरआमालाई हेरिरहेको थिएँ । उहाँ केही बोल्नुभएको थिएन । एकदम शान्त भएर आँगन लिपपोत गर्नुभएको दृश्य मेरो सम्झनामा अझै पनि ताजा छ । यो नै मेरी हजुरआमासँगको मेरो पहिलो स्मरण हो ।
म सानो छँदा हजुरआमा मलाई धेरैजसो आफ्नो बुईमा बोक्नुहुन्थ्यो । कहिले चुन्निले बाँधेर त कहिले मलाई बलियोसँग समात्न लगाएर । उहाँले कैयौं पटक मलाई बुई लगाएर धामी बाज्यूको घर लानुभएको छ । धामी बाज्यु हाम्रा असल छिमेकी थिए । बेलाबेला हाम्रो घरमा आइरहन्थे । हाम्रो घरका सबै जना उहाँलाई सम्मान गर्थे । उहाँको हँसिलो अनुहार र भद्र व्यक्तित्व अनुकरणीय थियो । अहिले त उहाँको स्वर्गबास भएको पनि निकै वर्ष भइसक्यो । छिमेकमा कोही बिरामी परेको छ भने उहाँ आफ्नो मन्त्रको शक्तिले सञ्चो बनाइदिनुहुन्थ्यो । झारफुकमा उहाँको राम्रो दख्खल थियो ।
धेरै नै सरसफाइ गर्ने बानी थियो हजुरआमाको । घरको आँगन, कपडाहरू, भाँडाकुँडाहरू, खाना पकाउँदा होस् या मोही बनाउँदा- यी सबै कुराहरूमा हजुरआमा धेरै सरसफाइ गरेर राख्नुहुन्थ्यो । उहाँले बनाएको मोही सबै छिमेकीहरू एकदम असल छ भन्थे ।
मलाई टाउको दुखेको बेला हजुरआमा यसलाई छल लाग्यो, डिठ लाग्यो भन्दै मलाई बुई लगाएर धामी बाज्युको घर लानुहुन्थ्यो । त्यहाँ पुगेपछि धामी बाज्यु मेरो नाडी छाम्नुहुन्थ्यो र हल्का काँपेजस्तो गरेर केही जोरले बोल्नुहुन्थ्यो । यसरी मेरो छल धपाइन्थ्यो । उहाँ भन्नुहुन्थ्यो कि घरपुगुञ्जेलसम्म यो बालक सञ्चो हुन्छ । घर फर्किँदा हजुरआमा मलाई फेरि बोक्नुहुन्थ्यो । मलाई यति आराम र सुकुन मिल्थ्यो कि म तुरुन्तै रिल्याक्स महसुस गर्थें । घर पुगुन्जेलसम्म म साँच्चिकै सन्चो हुन्थेँ-धामी बाज्युको मन्त्रको शक्तिले हो या मेरी हजुरआमाको बुईको न्यानोपनले, म भन्न सक्दिन ।
घरको पहिलो नाति भएर होला हजुरआमाले मलाई सधैं आफूसँगै राख्नुहुन्थ्यो । मलाई खुवाउने, चुठाउने र सरसफाइ गर्ने सबै काम गर्नुहुन्थ्यो । बेलाबेलामा मेरो प्रसंशा पनि गर्नुहुन्थ्यो कि मेरो नाति रुँदैन, सफासुग्घर छ, अनुशासित छ, कहिले पनि बिस्तरामा दिसा पिसाब गर्दैन आदि इत्यादि । यस्तैमा एक दिन फुपू आउनुभएको बेला उहाँलाई हजुरआमाले हामीसँगै सुत्न जोड गर्नुभयो । फुपूले शंका गर्नुभएको थियो कि मैले राति आछी गर्छु भनेर, तर हजुरआमाले यति बढाइचढाइ कुरा गर्नुभयो कि उहाँ हामीसँगै सुत्नुभयो । मलाई याद छ, भोलि बिहान हजुरआमाले कत्ति पनि झिँझो नमानीकन मैले आछी गरेका सबै कपडाहरू आफैंले सफा गर्नुभयो । फुपू पनि नुहाउन जानुभयो । हजुरआमा अचम्मको भावमा यो कसरी भयो, कहिले पनि यस्तो नगर्ने बालक, उसको सायद पेट खराब भएको छ भन्दै मलाई पनि नुहाइदिनु भयो ।
हजुरआमाको बढीजसो समय घाँस काट्न, पर्सो बोक्न, भैंसी र पाडीको हेरचाह गर्नमा बित्दथ्यो । उहाँको बिरालोप्रतिको मोह पनि औधि थियो । घरमा एउटा बिरालो त जहिले पनि हुन्थ्यो/हुन्छ । भैंसी दुहुने बेलामा मलाई एउटा छुट्टै गिलास लिएर आइज भन्नुहुन्थ्यो र त्यो गिलास भरी मेरा लागि भनेर दूध दुहुनुहुन्थ्यो । बिरालोलाई पनि नबिराईकन छुट्टै भाँडामा दिनुहुन्थ्यो । भैंसी राम्रै दूध दिन्थ्यो तर कोही छिमेकी आएर गोरसको बारेमा सोद्धा हजुरआमा भैंसीले दूध दिनै छाड्यो, अलिकतिमात्र दिन्छ भन्नुहुन्थ्यो । यस्तैमा एक दिन एक जना छिमेकी आएर भैंसीले कति दूध दिन्छ भन्ने बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । हजुरआमाले पुरानै जवाफ दिनुभयो कि यसले दूध दिनै छाड्यो, अलिकति मात्र दिन्छ ।
म छेउमा बसेर त्यो कुरा सुनिरहेको थिएँ र तुरुन्तै हजुरआमाको कुरा काटेर ती छिमेकीलाई बताइदिए कि भैंसीले धेरै दूध दिन्छ, एक बाल्टी भरी दिन्छ र मलाई छुट्टै गिलासमा पनि दिन्छ । हजुरआमा मुस्कुराउनु भयो र मलाई उता जान भन्नुभयो । खासमा हजुरआमा मलाई कहिले पनि गाली गर्नुहुदैनथ्यो । मैले भनेका कुराहरूमा होस् या मैले गरेका गल्तीहरूमा-उहाँ सधैं हाँसेर टार्नुहुन्थ्यो । यस्तैमा एक दिन मैले बिहानको नास्ता नखाने भनेर जिद्दी गरिरहेँ ।
हजुरआमाले जति फकाउँदा पनि म अरलो गरेर बसिरहेँ । अनि अन्त्यमा हजुरआमाले अहिले रोटी नखाए पछि केरा खालास् भनेर हकार्नुभयो । र, त्यो दिनभरि म हजुरआमाको बुई चढेर खै त केरा हजुरआमा खै मलाई चाहियो भनेर दिक्क लगाइरहेँ । त्यति गर्दा पनि हजुरआमाले मलाई पिट्नु भएन बरू हाँसेर यो कुरा अरूलाई सुनाउनुभयो ।
धेरै नै सरसफाइ गर्ने बानी थियो हजुरआमाको । घरको आँगन, कपडाहरू, भाँडाकुँडाहरू, खाना पकाउँदा होस् या मोही बनाउँदा-यी सबै कुराहरूमा हजुरआमा धेरै सरसफाइ गरेर राख्नुहुन्थ्यो । उहाँले बनाएको मोही सबै छिमेकीहरू एकदम असल छ भन्थे । कुनै भाँडामा केही दाग लागेको छ भने उहाँ तुरुन्त सफा गर्नुहुन्थ्यो । एक साँझ हजुरआमाले एउटा कचौरामा कालो वस्तु भेट्नुभयो । अलि अलि अँध्यारो भइसकेको थियो । बिजुली बत्ती थिएन । त्यो कालो वस्तु के रहेछ भनेर हजुरआमाले पत्ता लगाउनका लागि मुखमा राखेर टोक्नुभयो र एकछिन पछि छि छि यो त मुसाको गु रहेछ भनेर थुकिदिनुभयो जसरी उहाँ औषधिहरू थुक्नुहुन्थ्यो ।
म सानो हुँदाको कुरा हो, हजुरआमा कहिलेकाहीँ बिरामी पर्नुहुन्थ्यो । यस्तो बेलामा उहाँका लागि औषधि लिएर बुबा घर आउनुहुन्थ्यो र उहाँलाई औषधि आफैं खुवाउनुहुन्थ्यो । हजुरआमा पनि त्यो औषधि मुखमा राखेर पानी खानुहुन्थ्यो र त्यो तितो औषधि बल्ल बल्ल निलेको कुरा गर्नुहुन्थ्यो । तर, जब बुबा त्यहाँबाट जानुहुन्थ्यो, हजुरआमा हतार हतार मुखबाट औषधि थुकीदिनुहुन्थ्यो र त्यो तीतो औषधि कहिले खानु नपरोस् भनेर औषधिलाई सराप्नुहुन्थ्यो ।
कम बोल्ने, शान्त वातावरणमा बस्न मन पराउने, आफ्नो काममा लागिरहने बानी हजुरआमाको छ । उहाँ विद्रोही स्वभावको भन्दा पनि शान्त स्वभावको हुनुहुन्छ । सन्तुष्ट हुनुहुन्छ । अझै उहाँ नयाँ लुगा वा खानेकुराभन्दा पनि सालका पातहरू दिँदा बढी खुशी हुनुहुन्छ । ती पातहरू उहाँ भान्सामा र सागसब्जी दिनमा खर्चनुहुन्छ । त्यसैले म उहाँलाई भेट्न जाँदा समय खर्चेर भए पनि सालका पातहरू टिपेर दिने गर्छु र उहाँको अनुहारमा आएको खुशी देख्दा मेरो अनुहार पनि खुसी हुन्छ ।
औपचारिकता उहाँलाई मन पर्दैन । सानोमा एक दिन मलाई हजुरआमाले भित्रबाट सुप्पो लिएर आइज नाति भन्नुभयो । म भित्र गएँ र सुप्पो लिएर आएँ तर हजुरआमालाई मैले सुप्पो भेट्टाउनै नसकेको कुरा बताएँ, जब कि त्यो सुप्पो ठीक मेरो हात पछाडि थियो । हजुरआमा केही नबोलेर मुस्कुराउनु मात्र भयो । त्यस बेला बुबा पनि घरमै हुनुहुन्थ्यो र उहाँले यसरी बुढो मान्छेलाई कहिले पनि ढाँट्नु हुँदैन भनेर सम्झाउनुभयो । मलाई पनि हाजुरआमालाई ठगेकोमा नरमाइलो लाग्यो ।
हजुरआमा हामी नातिहरूको धेरै ख्याल राख्नुहुन्थ्यो । हामीलाई धेरै भन्दा धेरै दूध, र घ्यू खुवाउनुहुन्थ्यो । म र भाइलाई ठूलो गिलासमा दूध दिनुहुन्थ्यो र हामी टन्न दूध पिउँथ्यौँ तर भाइले सधैंसो त्यो गिलास झुक्किएर पोखिदिन्थ्यो र दूध पूरै खेर जान्थ्यो । हजुरआमाले जुक्ति लगाउनुभयो कि अबदेखि भाइलाई गिलासमा होइन कचौरामा दूध दिने । दोस्रो दिन भाइले कचौरामा र मैले गिलासमा दूध पियौँ तर दुर्भाग्य त्यो दिन भाइले फेरि दूध पोखेछ । हाँस्दै हजुरआमाले फेरि दूध थपिदिनुभयो ।
अहिले हजुरआमा निकै वृद्ध हुनुभएको छ । आज पढ्ने लेख्ने भयो अनि मेरो विषयमा के के के के लेखेछ भनेर नसोच्नुहोला हजुरआमा । मलाई हजुरको पूरै जीवनकथा नै लेख्ने मन छ । अझै पनि हजुरसँग सुन्दर पल बिताएर मीठा कुराहरू गर्न बाँकी नै छन् ।
कुनै नयाँ कुरा वा नौलो परिवर्तन उहाँ त्यति सजिलै पचाउन सक्नुहुन्न । त्यसैले उहाँ त्यही पुरानो घरमा बस्नुहुन्छ जहाँ उहाँले धेरै काल र स्मृतिहरू गुजार्नुभएको छ । उही पुरानो सल ओढ्नुहुन्छ, उही पुरानो आङ्डो लगाउनुहुन्छ । पाठेघरसम्बन्धी रोगको उपचार गर्न एक पटक उहाँ काठमाडौं जानुभएको थियो तर त्यहाँको नयाँ ठाउँ, नयाँ वातावरण, नयाँ खाना केही पनि मन नपरेर उहाँ उपचार नै नगरिकन फर्कनु भएको थियो । खानामा पनि सधैंजसो खाने खाना भए उहाँ सजिलो मान्नुहुन्थ्यो, नत्र धेरै आइटम भएमा खाने फुर्सद नै हुँदैन, केही न केही खान बिर्सन्छु भन्नुहुन्थ्यो । यस्तो सादा जीवन बिताउन मन पराउने हजुरआमा आफू पनि धेरै सादा नै हुनहुन्छ ।
जीवनभर संघर्षले थिचिनु भएकी हजुरआमाको कम्मर अब पूरै झुकिसकेको छ । धेरै टाढासम्म हिँड्न सक्नुहुन्न तर घरको सानोतिनो काम गर्नुहुन्छ । ७७ लाग्नु भयो तर अनुहार झन् बूढो देखिन्छ । स्नेहले तेजिलो अनि अनुभवले परिपक्व देखिन्छ । त्यही सुन्दर अनुहार लिएर उहाँ सधैँ हामीलाई बिदाइ गर्न आउनुहुन्छ । एक पटक मलाई सम्झना छ कि उहाँ अब म बाँच्दिन, यो मेरो तँसँगको अन्तिम भेट हो भन्दै म घरबाट जाने बेलामा मलाई अन्तिम पटक हेर्न भनी धेरै तलको बाटोसम्म आउनुभएको थियो ।
उहाँ यति छिटो पाइला चलाउनुहुन्थ्यो कि जति जति म टाढा पुग्थेँ त्यति नै पर गएर मलाई हेर्नुहुन्थ्यो । घरभन्दा निकै तल पुगिसक्नुभएको थियो तर उहाँ, अहँ, रोकिनुभएन । त्यतिबेला हजुरआमालाई देखेर मेरा आँखा रसाएका थिए । रसाएका के भनौँ, आँसुले पूरै भिजेका थिए । खासमा म रुन चाहन्नथेँ तर किन किन आँखाबाट निरन्तर नुनिलो पानी बगेकोबग्यै थियो । त्यो क्षण मेरा लागि बढी नै भावनात्मक बन्न पुगेको थियो । सायद त्यो हजुरआमासँगको मेरो आत्मीयता थियो सायद । सायद थियो त्यो मेरो उहाँप्रतिको अगाध प्रेम । त्यो आँसुको अर्थ सायद त्यस्तै केही थियो ।
धेरै वर्षपछि मैले एक दिन हजुरआमाले बोक्नुभएको घाँसको भारी म बोक्छु भनेर मागेँ । सुरुमा त मान्नुभएन तर मैले जिद्दी गरेपछि त्यो घाँसको भारी मलाई बोक्न दिनुभयो । मैले त्यो भारी आफ्नो पिठ्युमा राखेँ । त्यो उकालो बाटोमा त्यो घाँसको भारी मलाई बोक्न धेरै अफ्ठ्यारो भयो । मैले सोचेँ कि हजुरआमाले यस्तो भारी कसरी बोक्नुहुन्छ होला । त्यही बेला फेरि सोचेँ हजुरआमाले यस्ता भारी जीवनमा धेरै पटक बोकिसक्नुभएको छ ।
अहिले हजुरआमा निकै वृद्ध हुनुभएको छ । आज पढ्ने लेख्ने भयो अनि मेरो विषयमा के के के के लेखेछ भनेर नसोच्नुहोला हजुरआमा । खासमा मलाई हजुरको पूरै जीवनकथा नै लेख्ने मन छ । मलाई लाग्छ अझै हजुरसँग सुन्दर पल बिताएर मीठा कुराहरू गर्न बाँकी नै छन् । म फेरि त्यो बाल्यकालमा फर्किएर हजुरको बुई लाग्न त पाउँदिन तर त्यस्तै धेरै कुराहरू गरेर हजुरलाई दिक्क लगाउन चाहन्छु । प्यारी हजुरआमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच