महिला साफ च्याम्पियनसिप नेपालमा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला साफ (दक्षिण एसियाली फुटबल) च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बंगलादेशमा बसेको विशेष साधारणसभाले नेपालले राखेको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो ।

नेपालले प्रस्ताव गरेको मिति भदौ १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्बर १०) गतेसम्म साफ च्याम्पियनसिप हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा नेपाली टोलीले साफको साधारणसभामा सहभागिता जनाएको थियो । नेपाली टोलीले काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने गरी गरेको प्रस्ताव साफले स्वीकार गरेको हो ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीनसदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी हुनुहुन्थ्यो ।

यस्तै साधारणसभाले पुनः साफको अध्यक्षमा बंगलादेशका काजी मोहम्मद सलाहुद्दीनलाई निर्विरोध निर्वाचित गरेको छ । उहाँ अब २०२६ सम्म साफको नेतृत्वमा रहनुहुनेछ । यस्तै साधारणसभाले भुटान फुटबल फेडेरेसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्तसमेत गरेको छ । त्यस्तै साफ अनुशासन तथा आचारसंहिता र साफ आचारसंहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?