जापानका पूर्व-प्रधानमन्त्री सिन्जो आबेको हत्या, विश्वजगत नतमस्तक, नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका जापानका पूर्व–प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी सहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँमाथि गोली प्रहार भएको थियो ।

भाषण गर्दा गर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएको थियो । उहाँको शरीरबाट रगत बगेको थियो । उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो । गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ । सो चुनावी अभियानमा उहाँ भाषण गरिरहनुभएको थियो । आबे ६७ वर्षको हुनुहुन्थ्यो । उहाँले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुईपटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नुभएको थियो ।
ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो । अमेरिकाबाट जापान फर्केलगत्तै जापानको स्टिल प्लान्टमा काम गर्नुभएका उहाँ सन् १९८२ देखि राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९९३ मा आफ्ना पिताको मृत्युपछि आबेले संसदीय चुनावमा भाग लिई सांसद हुनुभएको थियो ।

आबेको मध्यमार्गी दक्षिणपन्थी दल लिबरल डेमोक्रेटिक पार्टीले सन् १९५५ मा गठन भएदेखि नै राजनीतिक वर्चस्व कायम गर्दै आएको छ । अगष्ट २०२० मा स्वास्थ्यका कारण राजीनामा दिनुअघि आधुनिक जापानको सबैभन्दा लामो कार्यकाल चलाउने प्रधानमन्त्रीका रूपमा आबेको नाम इतिहासमा दर्ज भएको थियो ।

आबे राजनीतिक परिवारका सदस्य हुनुहुन्थ्यो । उहाँका हजुरबुवा नोबुसुके किशीले सन् १९५७ देखि १९६० सम्म प्रधानमन्त्री कार्यकाल चलाउनुभएको थियो भने बुवा शिन्तारो आबे मन्त्रिपरिषद्का मुख्यसचिव हुनुहुन्थ्यो । त्यस पदलाई प्रधानमन्त्रीपछिको दोस्रो शक्तिशाली पद मानिन्छ ।

सन् २००६ मा लिबरल डेमोक्रेटिक पार्टीबाट जापानको प्रधानमन्त्री चुनिँदा आबेको उमेर ५२ वर्ष मात्र थियो । जापानको प्रधानमन्त्री पदमा रहँदा देशमा उहाँले वाहवाही कमाउनुभएको थियो । आबेको कार्यकालमा जापानको अर्थ व्यवस्थामा नयाँ छलाङ आयो । आर्थिक नीतिलार्ई आबेनोम्क्सि भनी नयाँ शब्दले परिभाषित गरिँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मोदीनोमिक्स भनी भारतको अर्थ व्यवस्थाको नामकरण गरेको इतिहास छ । पदमा रहँदा कहिल्यै पनि विवादमा नपर्नुभएका आबेको निधनले विश्वजगत नतमस्तक भएको छ । सन् २०१९ मा राष्ट्रपति विद्या भण्डारीले जापान भ्रमण गर्दा आबेले न्यानो स्वागत गर्नुभएको थियो ।

मित्रराष्ट्र जापानका पूर्व प्रधानमन्त्री आवेको हत्याको निन्दा गर्दै नेपाल सरकारले भत्र्सना गरेको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आवेको हत्याको घोर भत्सर्ना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार जापानी जनता र स्वर्गीय आवेको परिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ ।’ यस्तै नेपाल सरकारले आवेको सम्मानमा आज(शनिबार) राष्ट्रि शोक मनाउने पनि निर्णय गरेको छ ।

यसैैबीच, भारतले पनि जापानका पूर्व-प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । दिवंगत आवेको सम्मानमा भारत सरकारले राष्ट्रिय शोक मनाउन लागेको हो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आवेको उच्च सम्मान गर्दै राष्ट्रिय शोक मनाउने जानकारी गराउनुभएको हो । आवेले जापान र भारतबीचको राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विकासमा महŒवपूर्ण भूमिका खेल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?