पृथ्वीमा सात अर्बभन्दा बढी जनसंख्या

विश्वनाथ खरेल
Read Time = 9 mins

हाम्रो मुलुकका दुई छिमेकी देशहरू संसारमा सबैभन्दा बढी जनसंख्या भएकादेशहरू हुन् । यी दुई देशमा मात्र अढाई अर्ब मानिसहरू बसोबास गर्छन् । छिमेकी देशहरूको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ तथापि देशमा जनसंख्या वृद्धिदर उच्च रहेकाले नीतिनिर्मातालाई नेपालको बढ्दो जनसंख्याप्रति चिन्ता लाग्नु स्वाभाविकै हो । प्रत्येक वर्ष जुलाई ११ तारिकलाई विश्व जनसंख्या दिवसका रूपमा मनाइँदै आएको छ । विश्वमा देखा परेका प्रमुख समस्याहरूमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले जनसंख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ ।

जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो छैन । प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्यधिक चाप हो । सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसंख्या वृद्धि नै हो । विश्वको जनसंख्या सात अर्बभन्दा बढी पुगेको अनुमान छ । विश्वमा प्रत्येक दुई सेकेण्डमा नौजना शिशुको जन्म र सोही समयमा तीनजना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान छ । प्रतिदुई सेकेण्डमा ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाखभन्दा बढी मानिस थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । विकसित मुलुकहरूमा कूल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसंख्या बसोबास गर्दछन् ।

यसैगरी विश्वको कूल प्रजनन दर २.३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १.५ प्रतिशतमात्र रहेको भए तापनि अविकसित देशहरूमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा ८ अर्ब ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिसको जमघट हुनेछ । यसमा शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जनसंख्या वृद्धिको काहलिलाग्दो चापले अल्पविकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

नेपालको जनसंख्या वृद्धिदर अझै अति उच्च नै छ । देशमा बाह्रौं जनगणना लिने कार्य विसं.२०७८ मा सम्पन्न भयो । देशको पछिल्लो जनसंख्या अर्थात् २०७८ को जनगणनाअनुसार दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यसरी ससर्ती हेर्ने हो भने दश वर्षको अवधिमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले वृद्धि भएको जनाएको छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । जुन अधिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको थियो ।

यसमा महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ अर्थात कूल जनसंख्याको ५१ दशमलव शून्य ४ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ अर्थात् कूल जनसंख्याको ४८ दशमलव ९६ प्रतिशतमा पुगेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाजोमा महिलाको ६ लाख ९ हजार ८ सय ५८ जना जनसंख्या बढी देखिन्छ । मुलुकको जनसंख्या वृद्धिदर तीब्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । विसं १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए तापनि विसं २००९÷०११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ ।

विसं २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको देखिएको छ । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कूल प्रजनन् दर भने निकै लामो समयदेखि ६ सन्तानप्रति आमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोब्बर हुन जाने अनुमान छ । विसं २०५८ सालको जगगणनामा नेपालको कूल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४२३ रहेको थियो । २०६८ को जनगणना अनुसार दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या वृद्धि भएकोे छ ।

यसमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । महिलाको जनसंख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कूल जनसंख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात् कूल जनसंख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाजोमा महिलाको झण्डै ८ लाख जनसंख्या बढी देखिन्छ । पछिल्लो जनगणनाले देशको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत बिन्दु घटेको हो ।

नेपालमा प्रतिघण्टा ६१ जना, प्रतिदिन १४६४ जना र प्रतिवर्ष झण्डै ५ लाख ३२ हजार ३३६ मानिस थपिन्छन् । त्यस्तै गरी यस धर्तीबाट विदा लिनेकोे संख्याप्रति घण्टा २६ जना, प्रतिदिन ६२४ जना, र प्रतिवर्ष २ लाख ३० हजार ३८१ पुग्दछ र जन्मनेको संख्या प्रतिघण्टा ७ जना, प्रतिदिन २०८८ जना र प्रतिवर्ष ७ लाख ६२ हजार ७१७ जना हुन्छन् । जनसंख्या वृद्धिदर नियन्त्रित गर्ने आजसम्मका प्रयास सफल नभएको यो एक उदाहरण हो ।

आजको विद्यमान जनसंख्यालाई त भरणपोषण गर्न हामी असमर्थ छौं भने अब आउँदा वर्षमा वृद्धि हुने जनसंख्यालाई भरणपोषण गर्ने साधन र क्षमता हामीसित के रहने छ ? जनसंख्या नियन्त्रणतर्फ प्रभावकारी नीतिनिर्देशनको आवश्यकतालाई उपेक्षा गर्नु भयावह समस्यालाई निम्त्याउनु होइन र ? मुलुकको जनसंख्या झण्डै तीन दशकदेखि उच्च गतिमा वृद्धि हुँदैछ । यसको मुख्य कारण हो एकातिर मृत्युदरमा कमी आउनु र अर्कोतिर उच्च प्रजनन दर कायमै रहनु हो ।

विश्वका विभिन्न देशको तुलनामा नेपालको जनसंख्या वृद्धिदर निकै उच्च भएको तथ्य २०४८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ०९७ पुगको थियो । कूल जनसंख्यामध्ये ४९.८७ प्रतिशत पुरुष ५०.१३ प्रतिशत स्त्री रहन गएको थियो । हाल तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गएको छ । आगामी २०८२ सालभित्रै जनसंख्याको दृष्टिकोणले अर्को सिंगै नेपाल थपिन जाने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2022-07-12 9:59 am

विश्वनाथ सर, हजुरले आजको (राजधानी) दैनिकमा ‘…विश्वको कुल प्रजननदर २.४७ रहेको छ ।’ भनिएको छ, BUT हिमालय टाईम्समा ‘…विश्वको कूल प्रजनन दर २.३८ रहेको छ ।’ भनिएको छ, कुनचाहिँ सही होला, हजुर ??? प्रश्न् सोधेर गल्ती गरेको भए, माफ पाउँ है…

रिलेटेड न्युज

छुटाउनुभयो कि ?