‘झिँगेदाउ’ को अर्को गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं ।  चलचित्र ‘झिँगेदाउ’ मा समावेश दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्रको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका चल अचल दृश्य समावेश गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । चलचित्रमा पहिलो पटकक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिनुभएको छ ।

चलचित्रको यसअघि सार्वजनिक गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिमले यो गीतबाट पनि दर्शकको मन जित्ने अपेक्षा राखेको छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायत कलाकारको पनि अभिनय छ ।

भीमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो । विष्णु कल्पितको छायांकन रहेको चलचित्रको सम्पादकको जिम्मेवारी मित्र डी गुरुङले सम्हाल्नुभएको छ ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे हुनुहुन्छ । निर्देशक देउजाले चलचित्रस्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताउनुभयो । चलचित्र आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?