दिगो कृषिका लागि एग्रो इकोलोजीमा जोड

Read Time = 4 mins

काठमाडौं । कृषि तथा अगुवा साना किसानले वातावरण संरक्षणका साथै दिगो कृषिका लागि एग्रो इकोलोजीमा जोड दिनुपर्ने बताएका छन् । खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ र एक्सन एड नेपालद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै प्रांगरिक खेतीमा जोड दिनुपर्ने बताउनुभयो । जसका लागि केन्द्रले प्रांगारिक खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै उहाँले एग्रो इकोलोजीका लागि सहकार्यमा जोड दिनुभयो । डा. श्रेष्ठले भन्नुभयो, ‘किसान र सरकार पक्ष विपक्ष होइन, हाम्रो लक्ष्य र उद्देश्य एउटै हो । डुबे हामी सबै डुब्छौँ, त्यसैले सहकार्य गरौँ ।’

राष्टिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहिन्द्र खड्काले भने सरकार र किसान एउटै नभएको भन्दै सरकार किसानको अभिभावक भएकाले सोहीअनुसारको जिम्मेवारी हुने बताउनुभयो । उहाँले एग्रो इकोलोजीको प्रवद्र्धनबिना नेपालको कृषि क्षेत्रले गति लिन नसक्ने बताउनुभयो । परम्परागत खेती प्रणालीलाई निर्वाहमुखी भन्ने गरिएकोमा पनि उहाँको आपत्ति थियो । परम्परागत खेतीबाटै हालसम्मको नेपाल धानिँदै आएको भन्दै उहाँले परम्परागत खेती नभई हालको रासायनिक मल र विषादी प्रयोग हुने खेतीचाहिँ परम्परागत खेती प्रणाली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत र निर्वाहमुखी खेती प्रणाली नै आधुनिक खेती प्रणाली हो, अहिलेको रासायनिक मल र विषादी प्रयोग गरिने खेती प्रणाली आधुनिक खेती प्रणाली हुनै सक्दैन ।’ राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाले पदका लागि पद ओगट्ने प्रवृत्ति नहटेसम्म नेपालको कुनै पनि क्षेत्रले गति लिन नसक्ने बताउनुभयो । उहाँले एग्रो इकोलोजी प्रवद्र्धनका लागि रासायनिक मलमा नभई प्रांगारिक खेतीका लागि साना किसानलाई अनुुदान दिनुपर्ने बताउनुभयो ।

उत्पादनका आधारमा प्रोत्साहित गर्ने नीतिमा साना किसान अटाउन नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा कृषिविज्ञ डा. कृष्ण पौडेल, टिक भट्टराई, सांसद डा. विमला राई पौडेल, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले पनि सरकारले एग्रो इकोलोजीका लागि रासायनिक र विषादीतर्फ नभई प्रांगारिक खेती प्रणालीमा जोड दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका केदार कोइरालाले परम्परागत आधुनिक खेती प्रणालीबारेको स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?