मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता: कांग्रेस नेता राजेन्द्रकुमार केसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका-१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको दौड प्रतियोगिताको शुभारम्भ गर्दै नेता केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील क्लवले गरेका कार्यको सरहाना गर्दै नेता केसीले देश विकासको अभियानमा युवा वर्गमा रहेका सीप तथा क्षमता उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले अन्तर्राष्ट्रिय युवा दिवसले समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहनकुमार बस्नेतले सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम तथा रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

क्लबका पूर्वअध्यक्ष त्रय नकुल हमाल ठकुरी, बालकृष्ण मैनाली र जगन्नाथ अर्याल तथा समाजसेवी कल्पना थापालगायतले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिताको खाँचो औँल्याउनुभयो । क्लबका सचिव मनोज राजभण्डारीले क्लबले युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

क्लबका अध्यक्ष रामकुमार बस्नेतले युवा वर्गलाई जीवनोपयोगी सीप र कौशलको विकास गरी उनीहरुको जीविकोपार्जन हुन सकेमा मात्र देश विकासमा सहयोग पुग्ने बताउनुभयो । यसैबीच पुरुषतर्फ पाँच किलोमिटर दौडमा दीपसन ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?