पाकिस्तानमाथि भारतको सान

Read Time = 4 mins

दुबई । भारतले टी-२० एसिया कपमा पाकिस्तानमाथि ५ विकेटको जित हात पारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका रविन्द्र जडेजाले २९ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाउनुभयो । यस्तै हार्दिक पान्ड्याले १७ बलमा ४ चौका र १ छक्कासहित ३३, विराट कोहलीले ३४ बलमा ३ चौका र १ छक्कासहित ३५ तथा सूर्यकुमार यादवले १८ रन जोड्नुभयो ।

अन्तिम १२ बलमा २१ रन चाहिएको बेला १९ औं ओभरमा हरिस रौफलाई हार्दिक पाण्ड्याले तीन चौका प्रहार गर्दै १४ रन जोडेपछि भारतको जित सम्भव भएको हो । अन्तिम ६ बलमा जितका लागि ७ रन चाहिँदा चौथो बलमा हार्दिक पाण्ड्याले छक्का प्रहार गर्दै भारतलाई खेल जिताउनुभएको थियो ।

त्यसअघि भारतका ओपनर लोकेश राहुल दोस्रो बलमै बोल्ड हुँदा खेल रोमाञ्चक बनेको थियो । लगत्तै विराट कोहलीको क्याच ड्रप हुँदा भारतले राहत पायो । दोस्रो विकेटका लागि कोहली र रोहितले ४९ रनको साझेदारी गर्नुभएको थियो । रोहित १२ रनमा आउट हुनुभयो । रोहितले १८ बल खेल्दा १ छक्का प्रहार गर्नुभएको थियो ।

पाकिस्तानका सादब खानले ४ ओभरमा १९ रन खर्चिए पनि कुनै विकेट लिन सक्नुभएन । डेब्यू खेल खेल्नुभएका नसिम शाहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै मोहम्मद नवाजले ३.४ ओभरमा ३३ रन खर्चेर ३ विकेट हात पार्नुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले १९.५ ओभरमा १४७ रन बनाएको थियो । उसका मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित ४३, बाबर आजम र फखार जमानले समान १० रन जोड्नुभयो । तेस्रो विकेटका लागि इफ्तिखर अहमद र रिजवानबीच ४५ रनको साझेदारी भएको थियो । इफ्तिखरले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोड्नुभयो ।

भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिनुभयो । हार्दिक पाण्ड्याले ४ ओभरमा २५ रन खर्चेर ३ तथा अर्शदीप सिंहले ३.५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिनुभयो ।

जारी एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । भारतले अब बुधबार हङकङसँग खेल्नेछ । पाकिस्तानले शुक्रबार हङकङसँग खेल्नेछ । शीर्ष दुई-दुई टोलीले सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपरफोरका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?