देशैभर सात हजार ७३३ जनामा डेंगु पुष्टि, सात जनाको मृत्यु

विज्ञ भन्छन्- ‘नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले यो वर्ष नेपालमा सात हजार ७३३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ । यो अवधिमा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार ७३३ जना संक्रमित भएको जानकारी दिनुभयो । स्वास्थ्य पत्रकार मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा उहाँले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा. मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्नसक्ने बताउनुभयो । डा. मरासिनीले नेपालमा डेंगुको अवस्था, लामखुट्टे बस्ने र विकास हुने स्थान, डेंगु रोग रोकथाम, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय निर्देशिका, हालसम्म भएका प्रमुख उपलब्धि, उपचार तथा व्यवस्थापन लगायतका विषयमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ‘डेंगु नियन्त्रण : खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताउनुभयो । यो तथ्यांक यो वर्षको जनवरीदेखि अगष्ट ६ सम्मको हो । गत वर्ष करिब ५४ हजार ७८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सचिव पोखरेलले डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले डेंगु संक्रमितको उपचार निःशुल्क भइरहेको पनि जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंहले डेंगु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो । ‘डेंगु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ’, उहाँले भन्नुभयो ।

सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले डेंगु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष सरोज पोखरेलले स्वास्थ्य क्षेत्रको हकमा संघीयता प्रभावकारी नभएको बताउँदै डेंगु नियन्त्रणमा व्यक्ति स्वयंले सुरुवात गर्न आवश्यक रहेको औँल्याउनुभयो । विसं २०६१ मा पहिलोपटक डेंगुका बिरामी देखापरेपछि प्रत्येक वर्ष क्रमशः यस्ता संक्रमित बढ्दै गएको उहाँको भनाइ छ । नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?