समाजको उन्नति, प्रगति र समृद्धिबाहेक मेरो अन्य कुनै लक्ष्य छैन : सन्तोष चालिसे

हिमालय टाइम्स
Read Time = 23 mins

गोकर्णश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेले आफ्नो जीवन नै राजनीतिमा समर्पित गर्नुभएको छ । सानै उमेरदेखि राजनीतिमा होमिनुभएका उहाँले लामो अनुभव सँगाल्नु भएको छ । अनेक अप्ठ्यारा र समस्यालाई सजिलैसँग समाधान गर्न सक्ने उहाँको खुबीका कारण यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ ।

तत्कालीन जोरपाटी-९ का वडा अध्यक्ष रहनुभएका चालिसे पछि गाविस उपाध्यक्ष हुँदै नगरपालिकाको मेयरसम्म रहेर कुशल कार्य सम्पादन गरिसक्नु भएको छ । उहाँको कार्यशैलीले यसक्षेत्रका जनजनमा लोकप्रिय हुनुहुन्छ । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा रहेर कुशल राजनीतिज्ञको रूपमा स्थपित चालिसेलाई आगामी मंसिर चारमा हुने संघीय निर्वाचनमा यस क्षेत्रको उम्मेदवारका रूपमा पार्टीले सिफारिश गरेको छ । उहाँलेले टिकट पउनुभए जित्ने लगभग पक्का भएको स्थानीयको भनाइ छ । राजनीतिमा मात्र नभएर खेलकुद, साहित्यमा पनि लागव राख्नु हुने सन्तोष चालिसेसँग हिमालय टाइम्सका लागि पुरुषोत्तम घिमिरेले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

निकै व्यस्त हुनुहुन्छ आज भोलि ?
अ त्यति धेरै व्यस्त त होइन तर आफूलाई सामाजिक कार्यमा संलग्न गराइरहेको छु । तपाईंलाई थाहै छ, म राजनीतिमा पूर्णरूपमा लागेको मान्छे हुँ । मैले जहिल्यै राजनीतिलाई समाजसेवाको रूपमा लिएको छु । त्यसैले मेरो बिहानदेखि बेलुकासम्म आफ्नै क्षेत्रका विभिन्न व्यक्तिसँग बित्ने गर्छ । यसलाई व्यस्तता भन्नुभन्दा पनि मैले मेरो कर्म गरिरहेको छु भन्ने ठान्छु ।

यहाँ यो क्षेत्रमा लामो राजीतिक अनुभव सँगाल्नु भएको व्यक्तित्व हुनुहुन्छ, वडा अध्यक्षदेखि मेयरसम्म रहेर यहाँले गरेका कार्यले यस क्षेत्रमा मात्र नभएर देशका अन्य क्षेत्रमा पनि उदाहरणका रूपमा लिने गरिन्छ, यस्ता कुराले कस्तो अनुभूति हुन्छ ?
यहाँले भने जस्तै म सानैदेखि राजनीतिमा होमिएको व्यक्ति हुँ । म वडा अध्यक्षदेखि मेयरसम्म रहेर गरेका कार्य घाम जस्तै छर्लङ्ग छन् । मैले यसो गरे उसो गरे भन्नुभन्दा मेरो क्षेत्रका स्थानीयलाई गएर सोध्नुहोस् । म आफैँ मेरो बयान कसरी गरुँ । फेरि म कर्म गर्दै जाऊ, सधैँ असल कर्म गरे भन्ने अभिप्राय राखेर हिँडने मान्छे हुँ । त्यसै अनुसार आफ्ना कर्ममा लागिरहेको छु । हिजो यही मान्यताका साथ आफ्ना कर्म अघि बढाइरहेको थिए, आज त्यही गरिरहेको छु, भोलि त्यही नै गर्ने छु । सधैँ असल कर्ममा मात्र आफूलाई संलग्न गराउँ भन्ने कामना गर्दछु । सधैँ सेवामा आफूलाई समर्पित गरौँ भन्ने मेरो ध्येय रहेको हुन्छ । अब तपाईंले भनेजस्तो हाम्रा कार्य अन्य क्षेत्रमा उदाहरणका रूपमा लिइन्छ भन्ने कुरा छ जुन हामी सबैका लागि गौरवको विषय होइन र ?

  • म आफ्नो ठाउँबाट देशको समृद्धिको खाका कोरेर अघि बढेको मान्छे हुँ ।
  • मैले जहिल्यै राजनीतिलाई समाजसेवाको रूपमा लिएको छु ।
  • मैले वडा अध्यक्षदेखि मेयरसम्म रहेर गरेका कार्य दिनको घाम जस्तै छर्लङ्ग छन् ।
  • सधैँ असल कर्ममा मात्र आफूलाई संलग्न गराउँ भन्ने कामना गर्दछु ।
  • पार्टीले नयाँ जिम्मेवारी दिएमा म त्यसमा आफूलाई पूर्णरूपमा खरो उर्ताने बाँचा गर्दछु ।
  • पार्टीले राम्रो उम्मेदवार छनोट गर्न सकेमा हाम्रो क्षेत्रमा कांग्रेसको जित सुनिश्चत छ ।
  • हाम्रो पहिचान भनेको आफ्नो भाषा, साहित्य कला र संस्कृति हो । त्यसको संरक्षण, सम्बद्र्धन तथा उत्थान गर्नु म आफ्नो कर्तव्य ठान्छु ।
  • मैले कहिल्यै आफू कांग्रेसको मात्र मेयर हँु भनेर अघि बढिन । सबैलाई समेटेर अघि बढने कोसिस गरिरहे । सबैलाई समभावले हेरे ।
  • राज्यले गर्न नसकेको काम गोकर्णश्वरले ग¥यो भन्दा मेरो मात्रै होइन हरेक गोकर्णश्वरवासीले गौरव गर्ने गर्नुहुन्छ ।
  • विभिन्न समिति उपसमिति बनाएर नगरपालिकालाई व्यवस्थित बनाउन अहोरात्र खटिएर कार्य सम्पादन भए ।
  • नेपालमा नै समयस्यका रूपमा देखिएको फोहोर व्यवस्थानलाई कुशल रूपमा व्यवस्थापन गर्ने कार्य गरेर देशकै उदाहरणीय बन्न सफल भयौ ।
  • कसरी हुन्छ नेपालीको सुख र समद्धि भन्ने नै मेरो मिशन र भिजन हो । त्यही मिशन र भिजनको रोडम्यापमा अघि बढेको छु ।

यहाँलाई यसपालीको संघीय निर्वाचनमा क्षेत्र नं-३ बाट पार्टीले सिफारिश गरेको छ, कसरी लिनुभएको छ ?
मेरो यो क्षेत्रमा रहेको लामो अनुभव, त्याग, तपस्या र मैले पुर्‍याएको योगदानको कदर गर्दै पार्टीले यस्तो निर्णय गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ । सधैँ जनमानसमा रहने र उहाँहरूका सुख, दुःखमा आफूलाई संलग्न गराउने मेरो दिनचार्य हो । पार्टीले नयाँ जिम्मेवारी दिएमा म त्यसमा आफूलाई पूर्णरूपमा खरो उर्ताने वाचा गर्दछु ।

यहाँलाई यस क्षेत्रका जनताले अमूल्य मत दिएर विजयको माला पहिर्‍याउँलान् त ?
तपाईंको यो प्रश्न अलिक छिटो भयो कि भन्ने लाग्छ । पार्टीले उम्मेदवारका रूपमा सिफारिश गरेको हो, मेरो उम्मेदवारी पक्का भइसकेको होइन । फेरि तपाईंको प्रश्नमा म के भन्न सक्छु भने मैले विगत लामो समयदेखि पुर्‍याएको योगदान यस क्षेत्रमा सबैले देखिरहनुभएकै छ । तपाईं आउनुभयो भने हामी निक्कै भाग्यशाली महसुस गर्ने छौँ भनेर उहाँहरूले मेरो दैनिक भेटमा भन्ने गर्नुहुन्छ । यदि मलाई पार्टीले त्यो जिम्मेवारी दियो भने अवस्य इमानदारीपूर्वक आफूलाई उभ्याउनेछु । जनचाहना अनुसार हिजो पनि काम गरेकै हो । आज पदमा न रहँदा पनि आफ्नो कर्तव्य पूरा गरेको छु, भोलिका दिनमा आफ्नो पथमा अडिग रहेर आम जनसमुदायसँगै आफूलाई अघि बढाउनेछु । अब तपाईंले विजयको कुरा गर्नुभयो । म यो क्षेत्रमा यति लामो अनुभव भएको व्यक्ति रहेकाले त्यो निश्चित प्रायः हो भन्ने मलाई लाग्छ । पार्टीले राम्रो उम्मेदवार छनोट गर्न सकेमा हाम्रो क्षेत्रमा कांग्रेसको जित सुनिश्चत छ ।

यहाँको लगाव राजनीति सँगसँगै खेलकुद र साहित्यतर्फ देखिन्छ नि ?

म समाजका हरेक क्षेत्रलाई उतिकै माया गर्छु । सक्दो र आफूले जानेको योगदान पुर्‍याउने कोसिसमा हुन्छु । तपाईंले भनेजस्तै म राजनीति सँगसँगै खेलकुद र साहित्यतर्फ लगाव राख्ने गर्छु । मैले रचना गरेका केही गीत छन् । फेरि हाम्रो पहिचान भनेको आफ्नो भाषा, साहित्य कला र संस्कृति हो । त्यसको संरक्षण, सम्बद्र्धन र उत्थान गर्नु म आफ्नो कर्तव्य ठान्छु । मैले मेरो कर्तव्य पूरा गरेको मात्रै हो । यसका लागि गोकर्णश्वर नगरपालिकामा राष्ट्रियस्तरको कविता वाचन प्रतियोगिता, खेलकुदका विभिन्न कार्यक्रम, यस्तै नगरपालिकामा खेलकुद शाखा खोलेर खेलाडीलाई प्रोत्सान नगरस्तरीय ब्याटम्यटन प्रतियोगिता जस्ता कार्यले हामीलाई जीवन्त बनाइराख्दछ भन्ने लागेर यस्ता कार्यलाई प्रोत्साहन गर्ने गरेको हुँ ।

गोकर्णश्वर नगरपालिकामा यहाँको कार्यकालको मूल्यांकन कसरी गर्नु हुन्छ ?
पा“च वर्ष गोकर्णश्वर नगरपालिकाका प्रमुख भएर मैले गरेका कार्य सम्पादनले नगरपालिकालाई समृद्ध बनाउन पाइला अघि बढाए । नगरपालिकाको प्रथम मेयरका रूपमा मैले जनताको इच्छा, आकांक्षानुसार सबैलाई समेटेर अघि बढने कोसिस गरे । नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर निर्वाचन जिते पनि मैले कहिल्यै आफू कांग्रेसमात्र मेयर हुँ भनेर अघि बढिन । सबैलाई समेटेर अघि बढ्ने कोसिस गरिरहे । सबैलाई समभावले हेरे । नगरपालिकामा समस्या लिएर आउननेका समस्यामा आफूले सक्दो सहयोग गरे । शिक्षा, खेलकुद, स्वास्थ्य, पिउने पानी, ढल, बाटो जस्ता आधारभूत आवश्यकता मेरो कार्यकालयमा केही हदसम्म पूरा गरे भन्ने लाग्छ । ज्येष्ठ नागरिक एकल महिला, बालबालिका तथा युवालाई स्वरोजगारका कार्यक्रम ल्याए । यस्तै गोकर्णको मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गरी आन्तरिक तथा बाहिरी पर्यटकको आकर्षणको केन्द्र्र बिन्दु बनाए । गोकर्णको मन्दिर जीर्णद्वार कार्य सम्पादन भयो । उत्तर गयाको नामले चिनिने यस मन्दिरमा भारतदेखि भक्तजनहरू आउने गदर्छन् । भक्तजनलाई सजिलोसँग पूजा दर्शन गर्न प्रबन्ध मिलाउने काम भयो ।

गोकर्णश्वरभित्र रहेका मन्दिरको संरक्षण गर्न नगरपालिकाले धार्मिक समिति बनाएको छ । विभिन्न समिति उपसमिति बनाएर नगरपालिकालाई व्यवस्थित बनाउन अहोरात्र खटिएर कार्य सम्पादन भए । यस्तै बागमती कोरिडोरलाई व्यावस्थित बनाउने योजना अघिसारे । वडा नम्बर एकदेखि चारसम्मलाई कृषि क्षेत्र घोषणा गरेर मल बिउबिजन वितरण गर्नुका सार्थ वैज्ञानिक तरिकाले उत्पादन गर्न कृषकलाई प्रोत्सान गर्ने कार्यजस्ता काम भए । कृषकले उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्रीवितरण गर्न प्रबन्ध मिलाउने काम भए । यस्ता थुप्रै अनगिन्ती कार्य सम्पादन भएका छन् जुन यो बसाइमा सबै विस्तार गर्न अलिक गाह्रो होला कि !

नेपालमा नै समयस्यका रूपमा देखिएको फोहोर व्यवस्थानलाई कुशल रूपमा व्यवस्थापन गर्ने कार्य गरेर देशकै उदाहरणीय मेयर बन्न सफल हुनुभयो, कस्तो अनुभव गर्नुहुन्छ फर्केर हेर्दा ?
हामीले कसरी यसको वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सकिन्छ भनेर उपाय खोजी गर्‍यौ, काम अघि बढायौं । यो देशकै लागि उदाहरणीय कार्य भएकोमा गौरवान्वित अनुभव हुन्छ । यसले देशमै राम्रै चर्चा परिचर्चा पायो । मिडियामै काठमाडौं महानगरका वर्तमान प्रमुख बालेन्द्र साहले यसका लागि मलाई पटकपटक धन्यवाद दिनुभएको छ । राज्यले गर्न नसकेको काम गोकर्णश्वरले गर्‍योभन्दा मेरो मात्रै होइन हरेक गोकर्णश्वरवासीले गौरव गर्ने गर्नुहुन्छ । जापानबाट फोहोर जलाउने मेसिन ल्याएर हामीले फोहोरको समस्या हल गरेका हौ । गोकर्णश्वर नगरपालिकाभित्रको फोहोर हरेक दिन त्यही मेसिनबाट जलाइन्छ । यो मेसिनले फाल्ने धुवाँले वायु प्रदूषण गर्दैन भनेर वातावरणविद्हरूले बताएका छन् । काठमाडौं महानगरका मेयर साह, यस्तै भक्तपुरका मेयर रेणु दाहाल र ललितपुरका चिरीबाबु महर्जनलगायत अन्य मेयरले आएर हाम्रो काम हेरेर तारिफ गर्नुभएको छ । उहाँहरू फोहोर व्यवस्थापनमा हाम्रो कार्य सम्पादन अवलोकन गर्न यहाँ धेरैपटक आइसक्नु भएको छ ।

राजनीति आग्रह पूर्र्वाग्रहका कारण मेसिन राख्न केही विलम्ब भयो होइन ?
हो, पवित्र उद्देश्य लिएर गरेका कार्यमा कहिले काँही नबुझेर केही अवरोध सिर्जना हुने रहेछ । हामीले त्यो महसुस गर्‍यौ । सुरुमा यस मेसिनको विरोध भयो । मलाई लाग्छ जसले विरोध गर्नुभयो उहाँहरूलाई हामीले बुझाउन नसक्नुको परिणाम हो । राजनीति आग्रह पूर्र्वाग्रहका कारण मेसिन राख्न केही विलम्ब भएको हो । तर अहिले सबैले हाम्रा कामको तारिफ गर्नुभएको छ । अहिले हामीकहाँ फोहोरको समस्या छैन ।

शिक्षाका क्षेत्रमा यहाँले उल्लेखनीय कार्य गर्नुभयो भन्ने छ नि ?
मलाई लाग्छ हामीले हाम्रो क्षेत्रका हरेक विषयवस्तुलाई उत्तिकै प्राथमिकता दिएर आफ्ना कार्य अघि बढायौ । अब तपाईंले शिक्षाको कुरा उप्काउनुभयो यसमा के छ भने शिक्षको क्षेत्रमा हामी एक कदम अघि छौ । कुनै पनि नगरपालिकाले हालसम्म पाठ्यपुस्त निकालेको छैन तर गोकर्णश्वरले निकाल्यो । निकालेको मात्र होइन पाठ्यपुस्तक विद्यालयहरूमा लगाइसक्यो । नगरपालिकाले शिक्षा शाखा खोलेर हरेक विद्यालयका गतिविधि निगरानी गर्न गरेको छ । अहिले सामुदायिक विद्यालयको स्तरमा सुधार आएको छ ।

वर्षौंदेखि बन्न नसकेको जोरपाटी-सुन्दरीजल बाटो यहाँकै कार्यकालमा सम्पन्न भयो होइन ?
हो, धेरै वर्षदेखि बन्न नसकेको जोरपाटी-सुन्दरीजल बाटो मेरो कार्यकालमा पूरा भयो । विभिन्न राजनीति अवरोधलाई पार गर्दै ढल तथा बाटो कालोपत्रे गरेर जनतालाई धुवा“, धुलो र हिलोबाट मुक्त गर्न सफल भयौ । सडक विभागले २२ मिटर बाटो कायम गर्न भनेको थियोे । अन्य राजनीति दलहरूले पनि बाटो चौडा पार्ने भए २२ मिटर नै गर्नुपर्छ भनेर अवरोध गरेका थिए । जोरपाटीदेखि सुन्दरीजलसम्मका उपभोक्ताको भेला गराएर सर्वसम्मत १४ मिटर कायम गर्न निर्णय गर्‍यौ । सबैलाई सहमतिमा ल्याएर कसैको घर नभत्काउने टहरा पर्खाल भए भत्काउने निर्णय गरेर बाटो बनाउने काम भयो । गोेकर्णश्वर नगरपालिकामा नौवटा वडा छन् । हामीले सबै वडालाई वार्षिक ६ करोड बजेट विनियोजन गरेका थियौ । विपक्षीले जितेको वडा होस या कांग्रेसले हामीले कसैलाई पक्षपात गरेनौ । वडा विकास भयो भने नगर विकास त्यसै हुन्छ भन्ने सोचका साथ वडालाई बजेट विनियोजन गरेर अघि बढ्यौ ।

स्थानीयको नजरमा सन्तोष चालिसे
सबैलाई राजा भनेर सम्बोधन गर्न सन्तोष चालिसेले यस क्षेत्रमा धेरै उदाहरणीय कार्य गनुएभको छ । उहाँका कार्य अझ विस्तृत र विस्तारका लागि यसपाली संघीय सांसद भएकोे हेर्न इच्छा छ- श्रीकृष्ण राजभण्डारी ।

गोकर्णश्वर नगरवासीका चाहना कांग्रेसको नेतृत्व पंक्तिले सुनोस । कांग्रेसको इज्जत साख बचाउने काम गरोस् । उहाँ जस्ता विकासप्रेमी र राजनीति बुझेकालाई पार्टी नेतृत्वले टिकट दिनु पर्दछ- नवीन केसी ।

उहाँले टिकट पाउनु पार्टीका लागि राम्रो हो । क्षेत्र नं-३ मा उहाँले टिकट पाए, यस क्षेत्रको मुहार फेरिन्छ- दीपक नापित ।

राज्यस्तरबाट गर्न नसकेको काम एउटा नगरपालिकाको मेयरले गर्नुभयो, यसमा हामीले खुशी मनाउनै पर्छ । उहाँका विगतका कार्य सर्वत्र तारिफ योग्य छन् । पार्टी आफ्नो ठाउँमा छ, व्यक्ति असल भएकाले सबैले उहाँलाई साथ दिन्छन्- रामहरि भण्डारी ।

सन्तोष चालिसेले यस क्षेत्रको शिक्षामा उल्लेखनीय सुधार गर्नुभएको छ- ओखे्रनी माविका शिक्षक, राजेन्द्र सिंमखडा ।

सन्तोष चालिसेको पहलमा शिक्षामा लागनी गरेर नगरपालिकाले राम्रो काम गरेको छ- शिक्षाविद् प्रा.डा. ऋषिराम पोखरेल ।

सन्तोष मेयर नभएको भए हाम्रो क्षेत्रको बाटो यति चाडो कालोपत्र हुने थिएन । दिनरात नभनी मेयर खटिएकाले बाटो चाडो बनेको हो । जोरपाटी-साँखुको बाटो अहिलेसम्म बनेको छैन- वडा अध्यक्ष, नन्दलाल श्रेष्ठ ।

यहाँ यति धेरै काम गर्दा पनि चर्चामा आउन चाहनुभएन नि ?
चर्चाभन्दा पनि हामीले आफ्नो काम जिम्मेवारी पूर्वक गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ र त्यहीअनुसार म आफ्नो कार्य गरिरहेको हुन्छु । म खासै प्रचारप्रसारमा आउन नचाहने खालको मान्छे नै हुँ । निरन्तर काममै आफूलाई संलग्न गराउन रुचाउँछु । काम गरेपछि प्रचार गर्नै पर्दैन सबैले देखिहाल्छन् नि होइन र ?

यहाँको आगामी कार्ययोजना ?
आमजनताका सुख, दुःखमा साथ दिनु नै मेरो कार्य योजना हो । फेरि राजनीतिज्ञ भएपछि निश्चित मिशन र भिजन जरुरी हुन्छ भन्ने मलाई लाग्छ । मेरा पनि केही मिशन र भिजनहरू छन् । हरेक राजनीतिज्ञले देश बनाउन आफ्नो ठाउँबाट पहल गर्ने हो भने हाम्रो समृद्धिको यात्रा सहज हुन्छ । म आफ्नो ठाउँबाट देशको समृद्धिको खाका कोरेर अघि बढेको मान्छे हुँ । मलाई मेरो समाजको उन्नति, प्रगति र समृद्धिबाहेक अन्य कुनै लक्ष्य छैन । कसरी हुन्छ नेपालीको सुख, समद्धि भन्ने नै मेरो मिशन र भिजन हो । त्यही मिशन र भिजनको रोडम्यापमा अघि बढेको छु । मेरो यो यात्रा निरन्तर अघि बढने छ । मलाई यस यात्रमा मेरा तमाम यस क्षेत्रका आम समुदायको साथ सहयोग छ । उहाँहरूको मप्रतिको भरोसालाई कति पनि निराश नबनाउने म तपाईंसँगको यो कुराकानीमार्फत पनि वाचा गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?