सडकमा अटेरगरी राखिएका निर्माण सामग्री हटाउन निस्किए पाल्पा रामपुरका नगर प्रमुख

Read Time = 7 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै सडकमा निस्किनुुभएको छ । नगर सरकारले पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफै अव्यवस्थित सामग्रीहरु हटाउन थाल्नुभएको हो ।

केही दिन अघि नगर सरकारले डोजर, ट्रक र ट्याक्टर लगाएर सडक पेटी तथा सटरको पेटिमा राखिएका सामाग्री हटाएको थियो । अझै पनि केही ठाउँहरुमा ति सामग्री राखिएको जानकारी पाएपछि नगर प्रमुखसहितको टोली हटाउन बजारमा निस्किएको हो ।

जभावी रुपमा राखिएका निर्माण सामग्रीका कारण बजार अस्तव्यस्त हुनुको साथै दुर्घटना समेत निम्त्याउन थालेपछि नगर सरकारले यस्तो कदम चालेको हो । उसले ३५ दिने सूचना नै जारी गरी सडकमा राखिएका निर्माण सामग्री हटाउन आग्रह गर्दै आएको थियो । तर अहिलेसम्म पनि नहटाइएपछि नगर सरकारका प्रमुख आफै उठाउन कस्सिनुुभएको हो । सडक मिचेर लामो समयसम्म राखिएका निर्माण सामग्रीले सडक कुरुप बन्नुको साथै जोखिम बन्दै गएकाले निर्माण सामग्री जफत गरिएको नगर सरकारले जनाएको छ । सडक मिचेर राखिएका ढुङ्गा, गिट्टी, बालुवा, ईट्टा र माटो उठाइएको छ । अहिले बेझाँड बजार चोक, तल्लो चोक, हुलाकटोल, बाङ्गापसल रोड लगाएत विभिन्न स्थानबाट सामग्री उठाइए सकिएको छ ।

नगर प्रमुख सहितको टोलीले मापदण्ड विपरित व्यापारीक प्रयोजनका लागि सामान राखेका पसलहरुबाट विभिन्न सामग्रीहरु जफत गर्नुको साथै नो पार्किङ्गमा राखिएका मोटरसाईकलको हेलमेट समेत नियन्त्रणमा लिएको छ । नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको हो । सडक तथा सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कस्मेटिक सामान, फार्निसिङ्गका सामग्री जफत गरिएको नगर सरकारले जनाएको छ । सोही अवसरमा नगर प्रमुख थापाले बजार क्षेत्रको साँगुरो सडकमा सडक पेटीसम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले ति सामान हटाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

नगरपालिकाले घर तथा भवन निर्माण सुरु भएका स्थानमा अनुमति लिएर मात्र निश्चित समयको लागि सामान राख्ने व्यवस्था गरेको नगर प्रमुख थापाले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हामीले निर्माणका क्रममा सामग्री सडक छेउमा राख्नै नपाईने भनेको होईन । तर वैकल्पिक उपाय अपनाउन र नभए सडकमा सवारी आगमनमा अवरोध नहुने गरी अनुमति लिएर निश्चित समय व्यवस्थित रुपमा राख्न भनेका छौं । सूचना जारी गरे पनि सडकको स्वरुप नै बिग्रिने गरी राखिएका सामान हटाएका हौं ।’ थापाले बजार क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनिकरण र सडकलाई थप व्यवस्थित बनाउनका लागि अभियान थालिएको बताउनुुभयो । नगरपालिकाले बजारका साघुरा सडक, गल्ली ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिड्नुपर्ने अवस्थामा दुर्घटनाको जोखिम समेत भएकाले तत्काल सामग्री आफ्नो सटर भित्र मात्र राख्न निर्देशन गरिएको थापाले बताउनुुभयो । नगरपालिकाको आग्रहलाई वेवास्ता गर्नेहरुको सामान जपत गरिएको समेत उहाँले बताउनुुभयो । यस अघि नगरपालिकाले सूचना जारी गर्नुका साथै माइकिङ सहित यथाशिघ्र हटाउन अनुरोध गरेको थियो । तर कसैले पनि नहटाएपछि नगर सरकारले एक्सन लिनु परेको जनाएको छ । यहाँ पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्री गर्दा बजार अस्तव्यस्त देखिने र दर्जनौ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको छ । यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न सबैलाई आग्रह गर्नुभएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई वेवास्ता गर्नेलाई नियम अनुसार कारवाही गरिने बताउनुुभयो । नगर प्रमुख सहित इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहित पत्रकारहरुको टोली अव्यवस्थित रुपमा रहेका सामग्री हटाउन बजार निस्किएको थियो ।

नगर सरकारले अव्यवस्थित पार्किङ गरेका सवारी साधनलाई समेत कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । बसपार्कमा पार्किङ नगरी नगरको मुख्य बजार बेझाँड बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक नियम अनुसार तत्काल कारवाही गर्न प्रहरीलाई नगर सरकारले निर्देशन दिइसकेको छ । अव्यवस्थित पार्किङले बजार क्षेत्रका सडक साँघुरो हुने र सडक दुर्घटना समेत हुन सक्ने भएकाले पार्किङलाई व्यवस्थित गर्न खोजिएको नगर प्रमुख थापाले बताउनुुभयो । उहाँले नगरपालिकाले तोकेको स्थानमा बाहेक अन्यत्र स्थानमा यात्रु ओराल्ने समय बाहेक अन्य समयमा सवारी साधन पार्किङ गरे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिने बताउनुुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?