रमेश कर्प र कजारियाको चार अर्ब लगानीमा टाइल्स उद्योग

Read Time = 3 mins

काठमाडौं । भारतको नम्बर १ र विश्वको सातौँ ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कम्पनीले नेपालमा हालसम्मकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्नेछ, जसको वार्षिक उत्पादन क्षमता आठ लाख वर्गमिटर हुनेछ । रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ । भारतीय रुपैयाँ (भारु) दुई अर्ब ५० करोड अर्थात् चार अर्ब लगानीमा सेरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने कारखानाकोे उत्पादन क्षमता आठ लाख वर्गमिटर हुनेछ । उद्योग सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने बताइएको छ ।

भविष्यमा निर्यात र नेपाली बजारको माग पूरा गर्ने परिकल्पनाका साथ उद्योग सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले भन्नुभयो, ‘नेपाल हाम्रा लागि सधैँ महत्वपूर्ण बजार भएको छ । हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल सुरु गरी आगामी सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउनेछ ।’

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले भन्नुभयो, ‘यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सिर्जनामा महत्वपूर्ण टेवा पुर्‍याउनेछ । यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाइल्स र अन्य उत्पादनहरू देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ ।’

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले भन्नुभयो, ‘नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ । आयोजना सुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरू भित्रिनेछन् भन्ने कुरामा विश्वस्त छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?