निटफेस्टमा छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक

Read Time = 2 mins

काठमाडौं ।‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः विविधिताको उत्सव’ भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनोट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ । आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको सूची तथा ती नाटकहरूको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइटमार्फत सार्वजनिक भएको हो । मञ्चन तालिका अनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुनेछन् ।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश रहेका मण्डला थिएटरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक-फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा नौ नाटकको भने दुई-दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।
नौ दिनसम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । उद्घाटन मंसिर ९ गते दिउँसो १ः३० बजे र समापन मंसिर १७ गते साँझ ७ः३० बजे हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?