जति-जति निर्वाचन नजिक-नजिक आइरहेको छ त्यति-त्यति नै निर्वाचनमा सहभागी दलहरू आ-आफ्नो चुनाव प्रचारप्रसारमा तीव्र गतिमा लागिरहेका छन् । दलहरू एकअर्काप्रति आक्रामक भइरहेका छन् । निर्वाचनमा सबैको जित्ने लक्ष्य हुन्छ । त्यहीबमोजिमको आशा तिनले राखेका हुन्छन् । योजना र तयारी पनि त्यही अनुसारकै हुन्छ, हुनुपर्छ । केही साना दलहरू भने समानुपातिकको दुई-चार स्थानको अपेक्षामा हुन्छन् । केही स्वतन्त्र उम्मेदवारले भने जित्नका लागिभन्दा केही चर्चा बटुल्नमात्र उम्मेदवारी दिएका छन् । त्यसबाहेक केहीको चाहना भने आपूm जित्नका लागिभन्दा आधिकारिक उम्मेदवारलाई हराउन तिनको केही मत काट्न सकिन्छ कि भनेर पनि खडा भएका छन् । यस्ता केही उम्मेदवारलाई कसैले खडा गराएको हुन्छ ।
आफ्नै पार्टीभित्रबाट यस्ता अन्तरघाती कदम चालिएको हुन्छ । केही यस्ता उदाहरण यस निर्वाचनका क्रममा पाइएका छन् । अहिले सत्तारुढ दलहरूको चुनावी गठबन्धन छ । एकातिर मत दिन मतदातामध्ये सबैले भाँती पुर्याउन नसक्ने अवस्था छ । उनीहरूले दिन चाहेर दिने तरिका नजानेर मत बदर हुने सम्भावना छ । यसरी मत बदर हुनाले जित्नुपर्ने उम्मेदवारले हार्ने र हार्ने अवस्थामा रहेकाले जित्ने स्थिति आउन सक्छ । अर्कातिर अर्को पार्टीले अँगालो हालेको गठबन्धनभित्रको सहकर्मीलाई मत हस्तान्तरणको स्थिति छ भने आफ्नै पार्टीभित्रबाट भने सहकर्मी साथी भोलि जितेर आएर आफूले पाउने मन्त्री, प्रधानमन्त्रीको पद हडप्ला भनेर उसलाई हराउन खोजिएको समेत देखिन आएको छ । यसका लागि केही बागी र केहीलाई स्वतन्त्र उठाएर अन्तरघातको स्थिति खडा गरिएको छ ।
यतिमात्र होइन नेकपा एमालेबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफूलाई प्रधानमन्त्रीको उम्मेवारका रूपमा उद्घोष गरिरहनुभएको छ र गठबन्धनलाई तपाईंको प्रधानमन्त्री को हो भनेर सोधिरहनु भएको छ । हुन त एमालेसँग पनि अरू दलहरूको गठबन्धन छ तर अरू दलले प्रधानमन्त्रीका लागि दाबी गरेका छैनन् । दाबी गरिएको भए पनि त्यो पार्टी वा गठबन्धनको निर्णयबाट घोषणा गरिएको छैन आफूखुशी केही व्यक्तिबाट यस्तो घोषणा भएको छ । केपी ओली भने उहाँको गठबन्धनको सर्वसम्मत उम्मेदवारका रूपमा रहनुभएको देखिन्छ तर भोलि उहाँहरूले बहुमत पुर्याउन त सक्नुपर्छ नत्र यो घोषणा घोषणाका लागि मात्र हुनेछ । सत्तरुढ गठबन्धनतर्फ भने त्यस्तो देखिएको छैन र प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार को हो भनेर देखाइएको छैन ।
आफू-आफूले भने प्रधानमन्त्रीको उम्मेदवार हुँ भनेर धेरैले घोषणा गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ताले भने अबको प्रधानमन्त्री वर्तमान प्रधानमन्त्री शेरबहादुर दउवा नै हो भनेर घोषणा गर्नुभएको छ । उता सँगैको सहकर्मी नेकपा माओवादी केन्द्रले भने आफ्नो अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रूपमा चित्रण गरिरहेको छ । जित र हार त निर्वाचनले देखाउँछ नै त्यसपछि गरिनुपर्ने लेखाजोखा हालैदेखि हुनु र त्यसका लागि पार्टीगत रूपमा होइन आफूले व्यक्तिगत रूपमा घोषणा गरिनुले त्यो परिणाममुखी देखिएला कि प्रत्युत्पादक त्यसबारे विमर्श हुन सकेको छैन । प्रधानमन्त्रीको उम्मेदवारको दाबी कसैको ठूलो ठूलो स्वरमा बाहिर आएको छ भने कोही सानो स्वरका बोलिरहेका छन् ।
अझ कतिले त आफैँले होइन अरूलाई मुखपात्र बनाएर बोल्न लगाएका छन् । यसरी भनेरमात्र एमालेका नेता ओलीले सोधेको प्रश्नको उत्तर पाउन सकिएला कि नसकिएला गठबन्धनले यसको जवाफ दिन सक्नु उचित हुन्छ । कि आवश्यक नभएर पो हो कि भन्ने तर्क गर्न सकिएला तर २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसको सर्वनाक पराजय भएपछि २०५६ सालको निर्वाचनमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पर्साबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि सहज रूपमा नेपाली कांग्रेसको बहुमत आएको थियो । राजनीति गर्नेहरूका लागि यो एउटा पाठ हुनसक्छ । त्यसैले छरिएको आवाजलाई एकै ठाउँमा समेटेर त्यो घोषणा गरेको भए गठबन्धनलाई लाभ हुनसक्थ्यो र ओलीको लल्कारको जवाफ तयार हुनसक्थ्यो । गठबन्धनले अझै त्यो निर्णय गर्न सक्छ र गर्दा उचित हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच