काठमाडौं १ का मतदाताहरुको घाउ निको पार्न मैले जित्नैपर्छः किरण पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताउनु भयो । उहाँले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताउनु भयो ।

उहाँले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताउनु भयो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहनुभएका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको गुनासो गरेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ । पुरानो पुस्ताबाट यो सम्भव छैन भन्नेकुरा जनताले महशुस गर्नुभएको छ । जनताले परिवर्तन खोज्नुभएको छ । यहाँ आउनुभएका प्रतिष्पर्धीमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा मतदाताले मलाई हेरिरहनुभएको छ । चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ । अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ । निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ ।’

नेता पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?