उपत्यकाका सुकुम्बासी बस्ती हटाउँदै सरकार

Read Time = 2 mins

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराका सुकुम्बासी बस्ती हटाउने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै आगामी १० दिनभित्र सुकुम्बासी बस्ती हटाउन र तोकिएको समयमा नहटाए प्राधिकरणले भत्काउने चेतावनीसमेत दिएको छ । समितिले नदी किनारामा अनधिकृतरूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री हटाउन सूचित गरेको हो । सो क्षेत्रमा अनधिकृतरूपमा बनाइएका घर, टहरालगायतका संरचना हटाउन पटक-पटक निर्देशन दिए पनि अटेर गरिएको समितिको भनाइ छ ।

समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाभित्रका बागमती र यसका सहायक नदी किनारामा अनधिकृतरूपले बनाइएका घरटहरा तथा थुपारिएका निर्माण सामग्री र सवारीसाधनका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक-पटक सार्वजनिक सूचनामार्फत् सूचित गर्दा पनि उक्त सूचनाको बेवास्ता गरी हालसम्म पनि नदीको दायाँ-बायाँ किनारा खाली गरेको नपाइएको हुँदा मिति २०७९ मंसिर ४ गतेसम्म अनिवार्यरूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारीसाधन हटाउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ समितिले काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँगको सहयोग लिएर उल्लेखित संरचनाहरू भत्काउने र भत्काउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?