विश्वकपमा आज : मोरोक्कोको सामना गर्दै क्रोएसिया

Read Time = 4 mins

दोहा । सन् २०१८ को विश्वकपमा उपविजेता बन्दै सनसनी मच्चाएको क्रोएसियाले आफ्नो पहिलो खेलमा आज (बुधबार) मोरोक्कोको सामना गर्दैछ । समूह ‘एफ’को यो खेल पौने चार बजे सुरु हुनेछ । यसै खेलको नतिजाले यी दुई टोली कति टाढासम्म जान सक्छन् भन्ने पनि तय गर्नेछ । क्रोएसियाले विश्वकपमा खेलेका पाँच खेलमध्ये तीनमा हार बेहोरेको छ । क्रोएसियाको टोलीमा यसपटक २०१८ को विश्वकप उपविजेता बनेको बेलाका अधिकांश खेलाडीहरू छैनन् । तर, नेसन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेर आएको भएकाले क्रोएसियाको आत्मविश्वास बलियो हुनेछ ।

‘हामी प्रत्येक पटक एक खेललाई एकपटक योजना बनाउँनेछौँ,’ क्रोएसियाका प्रशिक्षक जाल्टन डालिक भन्नुहुन्छ, ‘मोरोक्कोविरुद्धको खेलमा अहिले हाम्रो नजर छ । हामी आफ्नो शतप्रतिशत दिनेछौँ । यसपटक पनि हामी रसियामा गरेको जस्तो जादुयी प्रदर्शन दोहोर्‍याउन चाहन्छौँ ।’

विश्वकप छनोटमा सानदार प्रदर्शन गर्दै कतार आइपुगेको मोरोक्को पनि जितका लागि विश्वकपको सुरुवात गर्न चाहन्छ । छनोटका ६ वटै खेल जित्दै मोरोक्कोले विश्वकप छनोटमा सानदार प्रदर्शन गरेको थियो । जसमा उसले २० गोल गर्दा एक गोलमात्रै बेहोरेको थियो ।
चेल्सीबाट खेल्ने मिडफिल्डर हाकिम जिउचले मोरोक्कोलाई अघि बढाउनुहुनेछ । उहाँले मोरोक्कोका सबै समर्थकले गर्व गर्ने प्रदर्शन गर्ने बताउनुभयो । आफूहरूको राम्रो तयारी रहेको बताउँदै उहाँले क्रोएसियाको सामना गर्न तयार रहेको बताउनुभयो ।

यस्तै, साँझ पौने ७ बजे जर्मनी र जापान एक आपसमा भिड्नेछन् । चारपटकको विश्व च्याम्पियन जर्मनीका अघि जापानलाई तुलनात्मकरूपमा कमजोर मानिएको छ । विश्वकपमा जर्मनी र जापानबीच यो नै पहिलो खेल हुन लागेको हो ।

पछिल्ला आठ खेलमा जर्मनीले दुई खेलमा मात्रै जित हात पारेको छ । नेसन्स लिगमा पनि जर्मनी तेस्रो स्थानमा रहेको थियो । विश्वकपअघि भएको वार्मअप खेलमा भने जर्मनीले ओमानलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।

२०१८ को रसिया विश्वकपमा टाकासी इन्युको टोली जापानले बेल्जियमलाई अन्तिम आठमा पुग्न २-० गोलअन्तरले पराजित गर्दै सनसनी मच्चाएको थियो । यसपल्ट पनि जापानले कम्तीमा क्वाटरफाइनलसम्मको सपना देखेको छ । त्यसका लागि सुरुमा जापानले जर्मनीको बाधा पछ्याउनुपर्ने हुन्छ ।

बुधबार राती पौने १० बजे स्पेन र कोस्टारिका भिड्नेछन् । यस खेलका लागि धेरैले प्रतीक्षा पनि गरिरहेका छन् । सन् २०१० को विश्वकपको उपाधि उचालेपछि स्पेनले त्यसपछि भने गतिलो प्रदर्शन देखाउन सकेको छैन । यसपटक कोस्टारियाविरुद्ध जित हात पार्दै अघि बढ्ने सुरमा स्पेन छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?