युगान्डासँग नेपालको लगातार दोस्रो हार

Read Time = 4 mins

काठमाडौं । नेपालले युगान्डासँग लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिपुर मैदानमा सोमबार भएको दोस्रो खेलमा युगान्डाले नेपालमाथि एक विकेटको जित हात पारेको हो । योसँगै पाँचवटा टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा युगान्डाले २-० को अग्रता लिएको छ ।

जितका लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले १९.५ ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । युगान्डाको जितमा रिता मुसामालीले ३४ बलमा तीन चौकासहित सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै फ्रेन्कलिन नाजुम्बा २८ बलमा एक चौकासहित महत्वपूर्ण १९ रन थप्नुभएको थियो ।

पहिलो ओभरको चौथो बलमै कविता कुँवरले ओपनर केभिन एविनोलाई चार रनमा इन्दु बर्माबाट क्याच गराउँदै नेपाललाई सुखद सुरुवात दिलाउनुभएको थियो । पाँचौँ ओभरको पाँचौँ बलमा सीता रानामगरले जेनेत म्बावाजीलाई १६ रनमा कट एन्ड बोल्ड गर्नुभएको थियो । १६ बल खेल्नुभएकी उहाँले तीन चौका प्रहार गर्नुभएको थियो ।

नेपालकी सबनम राईले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै कविता कुँवरले ३.५ ओभरमा १८ रन खर्चेर दुई विकेट लिनुभयो । सीता रानामगर र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनाएको थियो । नेपालकी ओपनर बिन्दु रावलले ३६ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाउनुभयो । सरिता मगरले २७ बलमा दुई चौकासहित २२ रनमा आउट हुनुभयो ।

नेपालले अन्तिम ओभरमा जेनेत म्वाबाजीलाई १५ रन प्रहार गर्दै एक सय रन कटाएको थियो । डली भट्टले पहिलो बलमा छक्का र रुविना क्षेत्री बेलबासले चौथो बलमा चौका प्रहार गर्नुभएको थियो । ओपनर इन्दु बर्मा पाँच, अप्सरी बेगम तीन, विन्दु रावल २६ रनमा आउट हुनुभयो । तेस्रो विकेटका लागि विन्दु र सरिता मगरले २१ रनको साझेदारी गरेपछि नेपाल उक्त स्कोरमा पुगेको हो ।

डली भट्ट सात बलमा एक छक्कासहित नौ रनमा अविजित रहनुभयो । यस्तै रुविना क्षेत्रीले १५ बलमा दुई चौकासहित १७ रन जोड्नुभएको थियो । युगान्डाकी जेनेत म्वाबाजीले चार ओभरमा २६ रन खर्चेर दुई तथा एभलिन एनपो, कोन्सी एविको र रिता मुसामालीले एक÷एक विकेट लिनुभयो ।

पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखिएको थियो । उहाँहरूको स्थानमा सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई मौका दिइएको थियो । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?