संसद्मा संरचनात्मक परिवर्तनमा जोड, अर्थमन्त्रीमाथि विपक्षी दलको आक्रोश

Read Time = 15 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ । बुधबारदेखि सुरु भएको छलफलमा सांसदहरूले आर्थिक वर्षको बजेटबारे सरकारलाई सुझाव दिएका छन् । सत्तापक्षका सांसदहरूले बजेटमा राख्नुपर्ने विषयमा सरकारलाई सुझाव दिएका छन् भने प्रमुख प्रतिपक्ष दलका सांसदहरूले सिद्धान्त र प्राथमिकतामाथि नै प्रश्न उठाएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि भएको छलफलमा सहभागी हुँदै पूर्व–प्रधानमन्त्री एवं पूर्व-अर्थमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको आर्थिक उन्नतिको बाधक हालको संरचना रहेको र यसको परिवर्तनबिना आर्थिक विकासको सुधार असम्भव रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि सुझाव दिँदै डा. भट्टराईले विद्यमान संरचना भत्काउन क्रान्तिकारी छलाङ मार्न सरकारलाई सुझावसमेत दिनुभयो ।

विधान मुलुकको संरचनात्मक जटिलता सुधारका लागि राजनीतिक तथा प्रशासनिक व्यवस्था नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली र पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । जनता समाजवादी पार्टीको संघीय अध्यक्षसमेत रहनुभएका डा. भट्टराईले नेपाल ५० वर्षदेखि पिँधको पिँधमा नै रहेको तर मुलुकको आर्थिक सम्वृद्धिका लागि हालसम्म पनि उत्कृष्ट आर्थिक नीति नै आउन नसकेको जिकिर गर्नुभयो ।

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउन पर्छ : डा. भट्टराई

पूर्व-प्रधानमन्त्री डा. भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताउनुभएको छ । संसद्मा बुधबारदेखि सुरु आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुँदै डा. भट्टराईले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिनुभएको हो । भौगोलिक हिसाबले पनि चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै डा. भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध भने सच्याउनुपर्ने बताउनुभयो । यसबारे भारतको चासो÷जानकारी लिएर अर्थनीति बनाउनुपर्ने धारणा राख्दै डा. भट्टराईले नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री अर्थ नीति ध्वस्त पार्न उद्यत : अधिकारी
विनियोजन विधेयकको नीति तथा कार्यक्रम माथिको छलफलमा सुझाव दिन संसद्को रोष्टममा उभिनुभएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मामाथि आक्रोश पोख्नुभएको छ । अर्थमन्त्रीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरू नै ध्वस्त पार्न लागि परेको आरोप लगाउँदै सांसद अधिकारीले भन्नुभयो, ‘तपाईं आफैँ अर्थतन्त्रको नीति, संरचना संवैधानिक निकायहरूको सम्बन्धहरू भत्काउन उद्यत् हुनुहुन्छ भने कसरी आर्थिक सुशासन हुनसक्छ ? गलत नियतवश गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन ? यस्तो गैरजिम्मेवार व्यक्तिबाट मुलुकले कस्तो आर्थिक सुधारको अपेक्षा गर्ने ?’

अहिलेको सरकारले नै सबै विकास निर्माण गरेको जसरी प्रस्तुत भएको र उक्त व्यवहार सुधार्न अर्थमन्त्री शर्मालाई सुझाव दिँदै अधिकारीले भन्नुभयो, ‘के गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईंले बनाउनुभएको हो ? मेलम्ची तपाईंले ल्याउनुभएको हो ?’ अधिकारीले सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि तिखो टिप्पणी गर्दै हात पाउ केही पनि नभएको बर्माले सृष्टि गरेको कुरूप प्राणी जस्तै भएको आरोप लगाउनुभयो ।

न सिद्धान्त छ, न कुनै प्राथमिकता : सांसद भट्टराई
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा कुनै सिद्धान्त र प्राथमिकता नभएको टिप्पणी गर्नुभएको छ । अर्थमन्त्रीले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकतामा कुनै ज्यानप्राण नभएको भन्दै पूर्व–पर्यटनमन्त्री समेत रहनुभएका सांसद भट्टराईले भन्नुभयो, ‘अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको यो कस्तो सिद्धान्त हो ? कसका लागि सिद्धान्त हो ? सम्माननीय प्रधानमन्त्रीको सिद्धान्त हो कि माननीय अर्थमन्त्रीको सिद्धान्त हो ? यदि दुवै जनाको एउटै सिद्धान्त हो भने यसमा गम्भीर प्रश्न उब्जिन्छ । यसले कुनै अग्रगति लिँदैन । यसमा कुनै ज्यानप्राण पनि छैन । त्यसकारण यसमा हाम्रो गम्भीर टिप्पणी छ ।’

अर्थमन्त्री शर्मा माक्र्सवाद छोडेर फुकुयामाको वादमा हिँडेको आरोप लगाउँदै भट्टराईले यसमा समाजवादोन्मुख राज्यको कुरा गरिएको तर सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने सार्वजनिक सेवाहरूलाई कुनै प्राथमिकतामा नराखिएको टिप्पणी गर्नुभयो । कुनै पनि मुलुक शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक सेवाको सबलीकरण नगरी समाजवादमा नपुग्ने सांसद भट्टराईको भनाइ छ ।

बजेट मन्त्रीले लग्छन्, सांसदको क्षेत्रमा कनिका छरिन्छ : सिंह

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बजेटका सिद्धान्त र प्राथमिकताको लागि संसद्मा भएको छलफल कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभयो । संसद्मा दिएको सुझावले बजेटका सिद्धान्त र प्राथमिकतामा कुनै परिवर्तन नहुने सांसद सिंहले कृषिमा अनुदान भनेर दिएको बजेट पनि बिचौलियाले खाने गरेको बताउनुभयो ।

बजेटमै ठूला पदधारीको घरमा सिसिटिभी जोड्नुपर्ने सुझाव दिँदै सिंहले उनीहरूले सांसदलाई भेट नदिने गरेको तर बिचौलियाले चाहेको समयमा भेट्न पाइरहेको आरोप लगाउनुभयो । सांसदको क्षेत्रमा बजेट कनिका छर्ने गरे पनि मन्त्रीहरूले मात्रै धेरै पाउने गरेको सिंहको आरोप छ ।

निम्नवर्गलाई केन्द्रित गरेर बजेट ल्याउनुपर्छ : सांसद संग्रौला
सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आमनागरिकलाई सकारात्मक प्रभाव पार्ने, निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने किसिमको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै डा.संग्रौलाले बजेटले प्रत्येक नागरिकलाई आफ्नो देशप्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादनमूलक क्षेत्रमा लगानीको मात्रा बढाउन र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राख्दै सांसद संग्रौलाले सहयोग र अनुदानलाई लक्षित क्षेत्रमा कार्यान्वयन गर्दै भरसक ऋण लिने प्रवृत्तिलाई कम गर्दै जानुपर्ने बताउनुभयो ।
पूर्वाधार विकासलाई जोड दिँदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत, खानेपानी, सिञ्चाइ, सडक, सामाजिक सुरक्षा र न्यायको सामजस्यता कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र मजबुत बनाउने सक्ने बजेटको आवश्यकता रहेको सांसद संग्रौलाको भनाइ छ । आम्दानीको स्रोतहरूलाई व्यवस्थापन गर्दै अनुत्पादक खर्चलाई कटौती गर्न सुझाव दिँदै संग्रौलाले भ्रष्टाचार, कमिशन, चुहावटलाई रोक्न प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिनुभयो ।

गठबन्धन सफल भयो : पुन

सत्तारूढ पाँच दलीय गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारसंग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल दाबी गर्नुभयो ।

केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको र गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले भन्नुभयो, ‘कतिपय ठाउँहरूमा नहालेको पनि देखियो । तर, धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझै पनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ ।

अहिले स्थानीय निर्वाचनमा मूलतः सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन । अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरूका आ-आफ्ना स्ट्रेन्थहरू छन् । आ-आफ्ना संगठनहरू छन् । आ–आफ्ना एजेण्डाहरू छन् । मूल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मूलतः सफल भएको छ ।’

पाँच दलीय गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्म कायम रहन्छ : भुसाल
पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान सत्तारूढ गठबन्धन आगामी संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने दाबी गर्नुभएको छ । बुधबार संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक भुसालले नेपाली कांग्रेसले गठबन्धनलाई कायम राख्ने सोच बनाउने बताउनुभयो ।

महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने सन्देश दिएको जिकिर गर्दै भुसालले भन्नुभयो, ‘काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो ।

तटस्थ व्यक्तिलाई भोट जाने क्रम बढेको छ, यसबाट भोलिको दिनमा पार्टीले उम्मेदवारी दिँदै गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ । यो परिणामलाई हेरेर निष्कर्ष निकाल्नुपर्ने त छैन, किनभने अझै धेरै परिणाम आउन बाँकी छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?