स्पेनका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपालमा खेल्दै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लाग्नुभएको छ । कासेरेन्यो फुटबल क्लबका तर्फबाट पुस ११ र १४ गते काठमाडौं-११ र गण्डकी-११ टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उहाँहरू नेपाल आउन लाग्नुभएको हो ।

क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोली मड्रिडबाट नेपाल आउन लागेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले बिदाइ गर्नुभएको थियो । ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी-११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ ।

यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं-११ को कप्तानी सम्हाल्नुहुनेछ । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।

स्पेनिस लिग संरचनामा दोस्रो डिभिजनको क्लब कासेरेन्योमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि हुने आयोजक लुम्बिनी गार्डेन फाउण्डेसनले यसअघि नै जानकारी गराइसकेको छ ।

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जित्नुभएको थियो । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोनाजस्ता ठूला क्लबहरूबाट खेलिसक्नुभएका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जित्नुभएको थियो । १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गर्नुभएको थियो ।

६ फिट दुई इन्च अग्ला सेन्टर फरवार्ड सालिनास १९८० र १९९० को दशकमा स्पेनिस फुटबलका स्टार खेलाडी हुनुहुन्थ्यो । विपक्षीको पोष्टमा निकै प्रभावकारी रहने खुबीका लागि उहाँ प्रसिद्ध हुनुहुन्थ्यो । व्यावसायिक फुटबलमा सात फरक क्लबबाट खेल्ने क्रममा कुल पाँच सय ५७ खेलमा २४६ गोल गर्नुभएको थियो ।

रियल मड्रिडका उत्पादन डे ला रेड भने २००८ मा स्पेनले युरोपियन च्याम्पियनसिप जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । ३७ वर्षे मिडफिल्डरले गेटाफे र रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो ।

रियल मड्रिडबाट २००६/०७ को सिजनमा स्पेनिस ला लिगा तथा २००८ मा स्पेनिस सुपर कपको उपाधि जित्नुभएका उहाँ २००७/०८ को सिजनमा गेटाफे कोपा डेल रेको उपविजेता बन्दा टोलीको सदस्य हुनुहुन्थ्यो । उमेर समूहमा उहाँले स्पेनको राष्ट्रिय टिमबाट २००४ मा १९ वर्षमुनिको युरोपियन च्याम्पियनसिप पनि जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?