पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि रघुगंगा र अन्नपूर्णलाई

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । सातौं म्याग्दी महोत्सवको अवसर पारेर म्याग्दीको बेनीमा आयोजना गरिएको खुला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले हात पारेका छन् । शुक्रबार बेनीको खुला मञ्चमा भएको फाइनलमा अन्नपूर्ण गाउँपालिकालाई लगातार तीन सेटले पराजित गर्दै रघुगंगा पुरुष भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।

महिला भलिबलतर्फको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । सोही स्थानमै भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो तीन सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९-२५, १३-२५ र १७-२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

महिला भलिबल प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२-२५, १७-२५ र १०-२५को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको जिल्ला भलिबल संघ म्याग्दी अध्यक्ष बानियाँले जानकारी दिनुभयो । पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई मेडल, ट्रफी, प्रमाणपत्रसहित ८८ हजार ८८८ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९को अवसरमा खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?