समाजमा अस्वस्थ प्रतिस्पर्धा : प्रचण्ड, ‘जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको बताउनुभएको छ । शुक्रबार शहीद कृष्ण सेन इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले चाहना त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । हामीले कुरा पनि गरेका छौँ । तर, हाम्रो दिनदिनैको काम कारबाही चाहिँ हाम्रो भनाइसँग तालमेल भइराख्या छैन । कहीँ न कहीँ हाम्रो सिष्टमभित्र अहिले पनि थुप्रै खोट छन् । जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढंगले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी विचलनतिर गइराखेको छ र त्यो खतरा प्रतिदिन बढ्दो छ ।’

यस्तै, उहाँले क्षणिक व्यक्तिगत स्वार्थको लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै भन्नुभयो, ‘विचारको आधारमा होइन, कुनै निष्ठाको आधारमा होइन, कुनै एउटा महान् उद्देश्य राखेर त्यसको निम्ति समर्पण, त्यागको आधारमा होइन । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ हामी सबैलाई । त्यसकारण आज हामीले इच्छुकबारे र अरू तमाम शहीदलाई स्मरण गर्दै गर्दा हामीले यो विषयलाई त्यही गम्भीरतासाथ लिन जरुरी छ । र, हामी एउटा नयाँ अनुसन्धान, नयाँ आविष्कार र नयाँ क्रान्ति, नयाँ अभियानको खोजीमा केन्द्रित हुन जरुरी छ । त्यसरी मात्रै हामीले वर्गलाई, राष्ट्रलाई, समाजलाई हामी केही दिन सक्छौँ । केही नयाँ वातावरण निर्माण गर्न सक्छौँ ।’ अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।

यस्तै, उहाँले उनले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गरेको भूमिका उच्च र अतुलनीय रहेको बताउनुभयो । सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको अध्यक्ष प्रचण्डको भनाइ थियो । सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रूपमा रहेको भन्दै अध्यक्ष प्रचण्डले पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएको जिकिर गर्नुभयो । राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भिकताका साथ उभिएको स्मरण गर्दै उहाँले सेनले चलाएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो ।

पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट संगठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व-अध्यक्ष गोविन्द आचार्य पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई अध्यक्ष प्रचण्डले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कृष्ण सेनको २०५९ जेठ १३ गते प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा रहेका बेला हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिनुभएका इच्छुक जनादेश साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । जेठ १३ गतेलाई सेन स्मृति दिवसका रूपमा मनाउने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?