चुनाव, मोदी र खेतको चट्टान

Read Time = 13 mins

✍️ मणि शर्मा
चुनावका नतिजाहरू आइरहेका छन् । चुनावअगाडि विभिन्न नेताहरूले देखाएको दम्भ, जम्मा गराएका भीडअनुसारको प्रतिफल कुनै दलले पाएनन् । बरु उम्मेदवारहरूसँग भएको अकूत पैसाले टिकट खरिददेखि चुनावमा गरेको खर्च र गठबन्धनका कारण यो निर्वाचनमा सबैभन्दा बढी फाइदा कांग्रेस र माओवादीले लिए । तैपनि कतिपय ठाउँमा गठबन्धन पराजित हुनुपर्‍यो । ठूला नेता भन्नेहरू आफ्नै वडा र पालिकाहरूमा सोत्तर भए । भरतपुरमा पूरै राज्यशक्ति नै रेणु दाहाललाई जीताउन लागि पर्‍यो । मानौं रेणु हारे यो व्यवस्था नै हार्छ ।
यो व्यवस्थाको विरोधी अधिकांश नेपालीहरू अरू बेला राजतन्त्र र धर्मसापेक्ष राष्ट्र हुनुपर्छ, संघीयता खारेज हुनुपर्छ भन्ने गर्थे तर चुनावमा यो व्यवस्थाकै पक्षपाती उम्मेदवारबाट पैसा र कोसेलीपात पाएपछि यही व्यवस्थाको पक्षमा मतदान गरेको देख्दा यसलाई मतदान होइन कि मत विक्रय भन्नुपर्छ । राम्रो क्रेता पाए मत विक्रेताले सजिलैसँग आफ्नो मत बिक्री गर्ने रहेछन् । यो दृश्य हेर्दा लाग्छ भोलिका दिनमा नेपाललाई सिक्किम बनाउन जनमत संग्रह भएमा अधिकांश नेपाली मत विक्रेताले आफ्नो मत उच्च दाममा बेच्नेछन् । जे होस् यो चुनावबाट करोडौं खर्च गरेर जीतेकाहरूले भ्रष्टाचारमा ‘चार चाँद’ लगाउनेछन् । भक्तपुरको जस्तो पालिका अन्यत्र बत्ती बालेर खोज्नुपर्छ अपवादबाहेक ।

संसदमा सांसदहरूले देशमा आर्थिक संकट छ भनिरहेका छन् । यो चुनावमा मत क्रेता र विक्रेताबीच जिल्लाहरूमा कम्तीमा तीसदेखि पचास करोडको मत किनबेच भएको हुनुपर्छ । सरदरमा तीस करोड राख्दा पनि ७७ जिल्लामा कति अर्ब हुन्छ ? यस अतिरिक्त चुनाव प्रचार, पम्पलेट, घोषणापत्र, गाडी, पेट्रोल, खाना, नास्ता, दारुपानी आदि अलग्गै । कसले भन्छ देशमा आर्थिक संकट छ ? कालो धन निस्कन के चुनावै कुर्नुपर्छ ? चुनावअगाडिको आमसभाहरूको भीड हेर्दा कति खर्च भएको होला ? कहाँबाट आउँछ राजनीतिक दलहरूलाई यतिका पैसा ? भीडले मात्र भोट दिँदैन भन्ने प्रमाण त एमाले नै देखियो । जुम्लामा त्यत्रो विशाल आमसभा गर्दा पनि पत्तासाफ हुनुपर्‍यो ।

गौतम बुद्ध एउटा सभामा प्रवचन दिन गएका थिए । करिब डेढ सय श्रोता थिए । बुद्ध एकैछिन बसे । चारैतिर हेरे र केही नबोली फर्के । दोस्रो दिन फेरि आए । एकैछिन बसे हिजोको भन्दा आधा श्रोता थिए । चारैतिर हेरेतर प्रवचन नदिइकन फर्के । तेश्रो दिन आए, यताउता हेरे । करिब साठीजना जति थिए । एकैछिन बसेर फेरि फर्केर गए । चौथो दिन आए । हेरे हिजोको भन्दा आधा श्रोता थिए । एकछिन बसेर केही नबोली फर्के ।

पाँचौं दिन आउँदा जम्मा चौधजना श्रोता थिए । बुद्धले प्रवचन दिए र चौधैजना उनको शिष्यत्व ग्रहण गरेर उनको पछि लागे । कसैले बुद्धलाई सोधे, हजुरले चार दिनसम्म किन प्रवचन नदिएको ? बुद्धले भने, मलाई भीड चाहिएको होइन, काम गर्ने शिष्य चाहिएको हो । यहाँ त्यो नै टिक्न सक्छ जसमा धैर्य छ । जसमा धैर्य थिएन उनीहरू गए, जसमा थियो उनीहरू बसे ।

भीड रामरमिता हेर्न आएको हुन्छ, ऊ कसैको हुँदैन । भीडले न त एमसिसी खारेज गर्न सक्यो न त महाकालीदेखि अरुण चौथोको रक्षा गर्न । हिजो एमसिसीको विरोधमा उर्लेकाहरूले चुनावमा एमसिसी पक्षधरहरूलाई नै भोट दिएर जिताए । अहिले आइतबारको बिदापछि विद्यालयहरूमा शिक्षक शिक्षिकालाई पश्चिमा संस्कृतिको प्रतिनिधित्व गर्ने सुटटाई ड्रेसकोड लागू गरी विद्यालयहरूलाई पश्चिमीकरण गर्ने पाइला चालेको छ सरकारले तर विरोध कतै छैन । यहाँ मानिसलाई न त देश चाहिएको छ र न सनातन धर्म वा न त मौलिक संस्कृति नै । चाहिएको छ केवल पैसा, आफूलाई, आफ्नो विवेकलाई बेचेर पैसा चाहिएको छ ।

कञ्चनपुरको श्रीपुर बेलौरीबाट विद्वान धर्मिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व अभिषेक जोशी र उनको टिमको जमानत जफत हुनुले यो साबित गर्छ कि यो वैश्य युगमा पैसा नै सबै थोक हो, यहाँ कसैलाई आफ्नो धर्म, सभ्यता र संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने विवेक छैन । यसमा स्थानीय नेतृत्वको कमजोरी, संगठन बलियो नहुनु र आफ्नै पार्टीका नेता र उम्मेदवारहरूले पार्टीभन्दा व्यक्तिको जितलाई सर्वोपरी ठानी गणतन्त्रवादीको प्रचारमा हिँड्नु । बुद्धको काकाको छोरा भाइ देवव्रत बुद्धको संगतले ज्ञान पाएपछि आफू नै बुद्धको आसनमा बस्न मगधका राजकुमारपछि सम्राट अजातशत्रुसँग मिलेर तीन-तीन पटकसम्म बुद्धको हत्या गर्ने प्रयास गरेका थिए । तर, मगध सम्राट बनेपछि अन्ततः अजातशत्रु बुद्धको शरणागत भएका थिए ।

लुम्बिनीमा देउवाको हर्कतको चर्चा धेरै नै भयो तर मोदीको आगमनको पछाडिको सन्देशको कतै भएन । मोदी लुम्बिनी विमानस्थलमा नझरेर हेलिकप्टरबाट लुम्बिनी आएर उक्त विमानस्थलको विश्वसनीयतामाथि प्रश्नचिहृन खडा गरेर चीन तथा नेपाललाई विरोध जनाएका हुन् । उनले यो विमानस्थलको विश्वसनीता गुमाउन भूमिका खेलेर गए । लुम्बिनी आउने अन्तर्राष्ट्रिय विमानहरूलाई आफ्नो हवाइमार्ग नदिएर चीनलाई देखाइदिनुका साथ अमेरिकालाई खुशी पार्ने काम मोदीले गरेका छन् । भनिन्छ उनी आएको सेनाको हेलिकोप्टरमा शक्तिशाली क्यामेरा जडान थियो जसले लुम्बिनी विमानस्थलको फोटो खिचेर लगेको छ ।

दलाई लामाको गुम्बा लुम्बिनीमा खोलेर चीनविरोधी गतिविधि गर्ने केन्द्र बनाउन लागेर एकातिर चीनलाई कमजोर पार्ने अर्कोतिर अमेरिकालाई खुशी पार्ने काम गरे उनले । यो सरकारले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई गणतन्त्र ल्याएर छोडिसकेको छ । उनले स्पष्ट भाषामा रामको जन्मभूमि नेपाल नभएर भारत हो भन्ने ठोकुवा गरेर गए । रामजन्मभूमि नेपाल हो भनेर फेरि नेपालका विद्वानहरूले प्रमाण जुटाएर लड्नुपर्ने बेला भइसक्यो । मोदीको भ्रमणपछि अमेरिकी मन्त्रीका तिब्बतसम्बन्धी सल्लाहकार उज्रा जियाको नेपाल आगमन संयोगमात्र नहुनसक्छ ।

मोदी आएर दलाई लामाको अखाडा लुम्बिनीमा खोल्नु र उज्रा यहाँ आउनुअगाडि भारतमा दलाई लामालाई भेटेर आउनु अनि नेपालमा आएर तिब्बती शरणार्थीलाई भेट्नुलाई संयोग भन्न सकिँदैन । ग्लोबल टेन्डर र सरकारी निर्णयविना अरुण चौथो विद्युत् उत्पादन परियोजनको ५१ प्रतिशत शेयर भारतको सतलज कम्पनीलाई विद्युत् प्राधिकरणले बुझायो । भारतलाई पश्चिम सेती बुझाउने काम भएको छ । ओलीले आफू जाँदाजाँदै अरुण बुझाए तर कसैले कसैको विरोध गरेनन् । चुनाव सकिएपछि पुनः नागरिकता विधेयक संशोधन गरिँदै छ ।

पहाडी नस्लकाले मधेसीहरूलाई पक्षपात गर्नेगरेको छ भन्ने गरिएको छ । २ नं प्रदेशमा मधेसीहरूको सरकार छ, त्यहाँ सबैभन्दा बढी पीडित मधेसीहरू नै छन् । काठमाडौंमा बालेन शाहको बढ्दो लोकप्रियताले पहाडीले मधेसीलाई हेपेको भन्ने भनाइलार्ई झुठो सावित गरिदिएको छ । एकताका बाबुराम भट्टराईले भारतपरस्त विचार व्यक्त गरेका थिए । उनकी पत्नी हिसिला यमी र देव गुरुङले नेपालको झण्डा बदलिनुपर्छ भनेका थिए । यी सबैको आशय के हो भन्ने स्पष्ट छ । यहाँका राजनीतिक पार्टीहरू सबै रूपमा फरक भए तापनि सारमा एकै हुन् ।

के हामी नेपाली हाम्रो भाग्य आफैं लेख्न नसक्ने भइसक्यौं ? बुद्धले आफ्ना शिष्यहरूलाई सुनाएको एउटा कथा : एउटा किसान थियो । एउटा ठूलो खेतमा खेती गर्दथ्यो । त्यो खेतको मध्यभागमा एउटा ढुंगाको हिस्सा बाहिर निस्केको थियो जसमा ठोक्किएर ऊ धेरैचोटि लडिसकेको थियो र खेत जोत्दा हलोको फाली पनि भाँच्चिएको थियो । एकदिन बिहानै ऊ खेत जोत्न जान्छ तर सधैं झैँ आज पनि त्यही दोहरिन्छ ।

उसको हलो ढुंगामा लागेर भाँच्चिन्छ । किसान रिसले चूर हुन्छ र अठोट गर्छ आज यो ढुंगालाई तलैदेखि जसरी भए पनि उखलेर फाल्छु ।
ऊ तुरुन्तै गाउँमा जान्छ र चार पाँचजना मान्छे बटुलेर ल्याउँछ र उनीहरूलाई त्यो चट्टान भएको ठाउँमा लगेर भन्छ, ‘साथीहरू यो चट्टान नै हो जसले मलाई सारै दुःख दिएको छ, मेरो खेतीका औजारहरू यसले भाँचिदिएको छ, आज हामी सबै मिलेर यसलाई उखेलेर बाहिर मिल्काउनुपर्छ ।’ उसले बेल्चा लिएर त्यो ढुंगाको किनारमा चारैतिर खन्न थाल्यो । दुई चार चोटि खन्दा त्यो चट्टान पूरै जमिनबाट बाहिर निस्केर आयो । यो देखेर उनीसँग आएका मान्छेहरू हाँस्न थाले । उनीहरूले भने, ‘तिमी त खेतमा ठूलो चट्टान छ भन्थ्यौ, यो त सानो ढुंगा पो रहेछ ।’

उसलाई पछुतो भयो । यो बुद्धि उसलाई पहिल्यै आएको भए उसलाई यति ठूलो नोक्सानी पनि हुने थिएन, चोट पनि लागिरहने थिएन न त आज गाउँलेहरूको अगाडि टठ्ठाको पात्र नै हुनुपथ्र्यो । हो, वर्तमान व्यवस्था यस्तै हो । हामी सोच्छौं यो व्यवस्था र यसका रक्षकलाई विजभिन्न देशहरूले चारैतिरबाट टेका लगाएर थामेका छन् । हामीले चाहेर यसलाई पल्टाउन सक्दैनौं तर यो व्यवस्था खेतमा गाडिएको किसानको त्यही ढुंगो जस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?