सडक बालबालिकाहरूलाई आश्रय दिने हेटौंडाको मामाघर, अर्पणको सोचले जन्मिएको सामाजिक संस्था

हिमालय टाइम्स
Read Time = 11 mins

हेटौंडा । पछिल्लो समय हेटौंडा शहरको सडकमा कुनै अनाथ तथा असहाय बालबालिकाहरू भेटिए भने ‘मामाघर’ पुर्‍याइने गरेको छ । सडकमा भौँतारिँदै हिँड्ने, मागेर खाने बालबालिकाहरूलाई आजभोलि खासै देखिँदैन । कतै कोही भेटिए तिनलाई हेटौंडाको ‘मामाघर’ ले संरक्षण दिने गरेको छ ।

‘मामाघर’ एक व्यक्तिको सोचले खुलेको संस्था हो । मकवानपुरका अर्पण पराजुलीले यसको जग बसाल्नुभएको हो । कैलाश गाउँपालिका–४ मकवानपुरका अर्पणको पिएचडी गर्न विदेश जाने धोको थियो । पिएचडी गर्ने रहरले आइएलटिएस गरेर उहाँले विदेशी विश्वविद्यालयहरूमा भर्नाका लागि आवेदन पनि दिनुभयो । एक दिन अर्पण हेटौंडाको बसपार्क घुमिरहेका बेला उहाँको नजर सडक बालबालिकाहरूमाथि पर्‍यो । ती अबोध बालबालिकाहरू पेट भर्नकै लागि संघर्ष गरिरहेका थिए ।

मानिसहरू बालबालिकालाई पिट्थे, लखेट्थे । त्यहाँबाट धपाइदिन्थे । सडक बालबालिका अरूले खाएर फ्यालेका प्लेट चाटेर बस्थे । पोलिथिनको झोला लिएर होटलवालाले फालेको खानेकुरा टिप्थे । यस्तो दुखद दृश्य देखेपछि अर्पणलाई रातभर निद्रा लागेन । उहाँको मनमा अनेकौं प्रश्न खेले । बालअधिकार कहाँ छ ? सामाजिक न्याय कहाँ छ ? आफूलाई सभ्य समाजको नागरिक कसरी भन्न सकिन्छ ? भोलिपल्ट गएर उहाँहरूलाई मम खुवाउने सोच बनाउनुभयो ।

भोलिपल्ट बसपार्क पुगेर अर्पणले सडक बालबालिकाहरूलाई मम खान बोलाउनुभयो । तर, कोही पनि नजिक आएनन् । हातमा मम लिएर निकै प्रयास गरेपछि मात्र बल्ल ६/७ जना आए । भोलिपल्ट पुग्दा अलि बढी बालबालिकाहरू भेला भए । दिनहुँ दोब्बर संख्यामा उनीहरू थपिए । अर्पणलाई लाग्यो, अब यिनीहरूका लागि केही गर्नुपर्छ । एउटा बगैंचामा लगेर उहाँले ती बालबालिकाहरूलाई राख्नुभयो । अर्पणले सबैको परिचय माग्नुभयो । तर, परिचय भनेको के हो ? कसैले बुझेनन् ।

त्यहाँ सडक बालबालिकाका नेताचाहिँ प्रशान्त ढकाल रहेछन् । सुरुमा अर्पणले आफ्नै परिचय दिनुभयो । पराजुली भन्ने थाहा पाएपछि ढकालले ‘मामा’ भनेर सम्बोधन गरे ।

अर्पण दिनदिनै सडक बालबालिकाप्रति जिज्ञासु बन्दै जानुुभयो । सडक बालबालिकामाथि नै अध्ययन, अनुसन्धान गर्न कस्सिनुभएका उहाँ ५२ दिन हेटौंडाका सडकमा निस्किनुभयो । त्यतिमात्र होइन भैरहवा, बुटवल, नारायणगढ, ठमेल पुग्नुभयो । ठमेलका सडकमै सडक बालबालिकासँगै ८ रात बिताउनुभयो । पूरै अनुसन्धान गर्न तीन महिना लाग्यो । उहाँले स्नातकोत्तरको थेसिस यसै विषयमा लेख्नुभयो । हेटौंडा नगरपालिकामा उहाँले त्यो रिसर्च पेपर बुझाउनुभयो । झण्डै दुई सयजनाको उपस्थितिमा सडक बालबालिकामाथि लेखिएको कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यसबेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई हुनुहुन्थ्यो । नगर प्रमुख र सिडिओ अर्पणको कुरामा सहमत हुनुभयो । सुरुमा नगरपालिकाले एक लाख रुपैयाँ दिएर अर्पणको अभियानमा सहयोग पु¥यायो । ९ वर्ष घरभाडा तिरिदियो । सबैले सडक बालबालिका राख्ने घरको नाम ‘मामाघर’ नै राख्न सल्लाह दिए ।

१४ जना बच्चा राखेर ०६८ कात्तिक २७ मा सुरु भयो मामाघर । सडकमा भौँतारिने बालबालिकाहरू विस्तारै सामाजिकीकरण भए । स्थानीय भुटनदेवी माविले निःशुल्करूपमा कक्षा १२ सम्म पढाउने व्यवस्था मिलायो । मकवानपुर कलिउड कला केन्द्रले नृत्य सिकाइदियो । अन्य संस्थाले फुटबल, हक्की, क्रिकेट सिकाइदिए । विभिन्न व्यक्तिहरूको सहयोगले मामाघर चल्यो ।

एक व्यक्ति-एक इँटाले बनेको मामाघर
एक व्यक्तिको पहलमा सुरु भएको मामाघर अहिले भव्य र व्यवस्थित बनेको छ । हेटौंडाका समाजसेवी सिद्धिलाल श्रेष्ठले हेटौंडा ११ मा पर्ने आफ्नो २ कठ्ठा चौध धुर मामाघरको आफ्नै भवन बनाउन दान गर्नुभयो । करोडौं रुपैयाँ पर्ने जग्गा सिद्धिलालले दान गरेपछि अर्पणमा उत्साह छायो । एउटा चुनौती थियो, मामाघरको आफ्नै भवन बनाउनु । लक्ष्यमा पुग्ने अठोट भएपछि आफंै सोच जन्मिने रहेछ । अर्पणले एक व्यक्ति–एक इँटाको घोषणा गर्नुभयो ।

यो अभियान भव्यरूपमा सफल भयो । आमा समूह, सहकारी, लायन्स क्लब, जेसिज क्लबलगायत मनकारी जनताहरूको सहयोगले अहिले सुविधासम्पन्न भवन बनेको छ । जहाँ २१ वटा कोठा छन् । किचेन छ । १२ वटा ट्वाइलेट, बाथरुम छन् । आफ्नै लाइब्रेरी र स्टोर रुम छ । गेस्ट रुम र मिटिङ हल छ । २ करोड रुपैयाँबराबरको आफ्नै भवन ठडिएको छ ।

अहिलेसम्म मामाघरले एक सय ९८ जना सडक बालबालिकाहरूलाई आश्रय दिइसकेको छ । तीमध्ये एक सय ३८ जनालाई आफन्त खोजेर पुनस्र्थापना गरिसकिएको छ भने बाँकी मामाघरमै बस्छन् । मामाघरको खास स्पोन्सर छैनन् । कसैले जन्मदिन, वैवाहिक वार्षिकोत्सवजस्ता कार्यक्रमहरू यहीं मनाउ“छन् । कुनै दिन भोकै बस्नुनपरेको अर्पणले सुनाउनुभयो । नगरपालिकाले व्यवस्थापनका लागि वार्षिकरूपमा दुई लाख रुपैयाँ दिँदै आएको छ ।

अर्पणले सन् २०१९ मा पिएचडी भर्ना गर्नुभयो । घरबारविहीनमा नव व्यवस्थापन विषयमा उहाँको शोध सकिनै लाग्यो । मामाघरमा उहाँले हुर्काएका, पढाएका सडक बालबालिकाहरू अहिले खेलकुद, ड्राइभिङ, प्लम्बर, इलेक्ट्रिसियन, कपाल काट्ने पेशाका लागि विदेश पुगेका छन् । कतिले स्वदेशमा राम्रो काम गरिरहेका छन् ।

बालअधिकारका क्षेत्रमा समस्या उस्तै
अर्पणको बुझाइमा नेपालमा सेवाका नाममा ९९ प्रतिशतले व्यापार गरिरहेका छन् । हामी सहयोग गर्छौं भनेर उहाँलाई थुप्रै व्यक्ति र संस्थाहरू आए । तर, सहयोग भने कसैले गरेनन् । ‘हामी सेवाभावले काम गर्ने, अरू व्यापार गर्ने नियतले आउने रहेछन् ।’ उहाँले आफ्नो तीतो अनुभव सुनाउनुभयो, ‘सहयोग गर्नेहरूले विभिन्न शर्तहरू राखे । कोही धर्म परिवर्तन गर्नुपर्छ भन्ने, कोही आर्थिक लाभको हिसाबकिताब माग्नेहरू भेटिए ।’

अर्पणले दस वर्षसम्म मामाघरमा भोलेन्टियर गर्नुभयो । यो एक दशकसम्म उहाँले संस्थाको चियासमेत पिउनुभएन । अहिले पानी र कालो चियामात्र पिउनुहुन्छ । कोही पाहुना आउँदा सँगै बसेर खाना खानुहुन्छ । कतैबाट आर्थिक सहयोग हात परेमा तुरुन्त अफिसमा हस्तान्तरण गरिहाल्नुहुन्छ । आफू व्यवस्थापक, संस्थापक अध्यक्षमात्र भएको उहाँ बताउनुहुन्छ । सहयोग अरूको भए पनि आफू माध्यममात्र भएको बताउनुहुन्छ ।

अरूकै भलाइमा समर्पित जीवन
मकवानपुरको कैलाश गाउँपालिका हेटौंडाबाट १७ किलोमिटर टाढा छ । त्यस दुर्गम क्षेत्रमा अझै पनि गाडी नदेख्ने मानिसहरू छन् । यसो भन्दा अझै कतिलाई विश्वास नलाग्न सक्छ । माझी, दनुवार, तामाङ बस्तीमा क्षेत्री, बाहुनहरूको पनि बसोबास छ । त्यही गाउँमा अर्पण हुर्किनुभयो । निरक्षर बुबा, आमाले स्नातकोत्तरसम्म पढाएपछि उहाँलाई अझै पढ्नुपर्छ भन्ने लाग्यो ।

हेटौंडा क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारीमा रहनुभएका अर्पण निकै खुसी हुनुहुन्छ । उहाँले विभिन्न स्कुल, कलेज, सहकारीहरूमा मोटिभेसनल स्पिच दिनुका साथै रिपोर्ट राइटिङ, रिसर्च राइटिङ, प्रपोजल राइटिङ र इम्पावरमेन्टबारे प्रस्तुति दिनुहुन्छ ।
अर्पणको काम देखेर हेटौंडा नगरपालिकालगायत अन्य पालिकाहरूले सम्मान प्रदान गरेका छन् । एक व्यक्तिले चाहृयो भने समाज कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुराको उदाहरण बन्नुभएको छ ।

‘जीवनको कमाइ के हो ?’
‘जीवनको कमाइ सन्तुष्टि हो,’ उहाँले भन्नुभयो, ‘जीवनभरि लालपुर्जा, घर, गाडी, खोज्यो तर अन्त्य भने ऐलानी जग्गामा हुन्छ ।’ उहाँले अघि थप्नुभयो, ‘आफूले खाँदा पेट भरिन्छ । अरूलाई खुवाउँदा आत्मा भरिन्छ ।’ प्रस्तुति : गोपिकृष्ण चापागाईं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?