पदीय आचरणकै बद्नामी

हिमालय टाइम्स
Read Time = 6 mins

लुम्बिनी प्रदेश राज्यमन्त्री विमलाकुमारी खत्री वलीले पदीय मर्यादाविपरीत कार्य गरेकोमा उहाँ प्रहरी अनुसन्धानमा हुनुहुन्छ । यो निश्चय मर्यादित हुँदै होइन । त्यस्ता कार्यले ठूला पदमा बस्ने मानिसलाई बद्नाम गराउँछ । त्यस्ता कार्य सामान्यस्तरका मानिसका लागि आलोच्य र अशोभनीय हुन्छन् भने माथिल्ला पदका रहेका मानिसका लागि मर्यादाविपरीत ठहरिन्छ । उहाँको यस कार्यलाई पञ्चखत नमानिएला तर निश्चिय सही हो भनेर प्रशंसा गर्ने मानिस कोही भेटिने छैनन् । सबैले यसलाई गलतै भन्छन् । उहाँको पार्टीले भने कुनै कुतर्क अघि सारेर उहाँको बचाउ गर्न सक्छ ।

हत्या, बलात्कार, चोरी, डाँका जत्तिकै ठूलो अपराध यसलाई नमानिएला तर कुटपिट, लुटपाट जस्ता अपराध पनि अपराधै हुन् । यस्ता अपराध जोबाट भए पनि त्यस्ता अपराधीलाई सजाय हुन्छ । त्यसमा पनि मन्त्री स्वयंबाट यस्ता अपराध हुनु भनेको समाज, पार्टी, व्यक्ति तथा उहाँ स्वयंकै लागि कलंकको दाग हो । विमला वली लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ तर अरूले अपराध गरेको भए पिडकलाई सजाय र पीडितलाई न्यान दिलाउनुपर्ने व्यक्तिबाटै निन्दनीय कार्य हुनुले हाम्रा राजनेताहरूको असहिष्णुपनलाई देखाएको छ । यो प्रतिनिधि घटना हो । यस्ता घटना बेला-बेलामा हुनेगरेका थिए । पञ्चायतका मन्त्री बिरामी भएर अस्पतालमा रहेका बेला आफ्नै उपचारमा संलग्न नर्सप्रति अभद्र व्यवहार गरेका थिए । उक्त घटनाले त्यसबेला व्यापकता पाएको थियो ।

पछि प्रजातान्त्रिक अवधिमा पनि अनेकौं घटना भए, यस्ता धेरै घटना यौनसँग जोडिएर आए । सुरासुन्दरी काण्डले चर्चा पायो । महिलाका कारण मन्त्री तथा सांसद तहमा पुगिसकेका व्यक्तिहरू कुनै महिलाको निवासमा सँगै पुगेकाले कुटाकुट गरेको घटना त्यसबेला चर्चामा आए । पछिल्लो चरणमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले यस्तै कारणको अभियोगले पद नै गुमाउनु पर्‍यो । उहाँ केही समय प्रहरी हिरासतमै बस्नुभयो । माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक उक्त पार्टीका तर्फबाट पार्टीले तोकेका मानिसहरू सांसद भए । त्यसपछि दुई पटक प्रतिनिधिसभाको निर्वाचन भयो र निर्वाचित सभासदहरू आए तर तीमध्ये केही सांसद वा सभासदले अनेक खालका अवाञ्छित गतिविधिहरू देखाए, दृष्टान्त अनेकौं छन् ।

केही महिला सांसदहरूले मादक पदार्थ सेवन गरी सडकमा तमासा देखाएका दृश्य त्यसबेला हेर्नेका आँखासमेत बिझाउने खालका थिए । राज्यमन्त्री विमला वलीको वैधव्य जीवन निश्चय सुखद् छैन । उहाँको श्रीमान्को दुर्घटनामा निधन भएको रहेछ । त्यो निश्चय सबैका लागि उहाँप्रति सहानुभूति प्रकट गर्नुपर्ने खालको छ । उहाँप्रति सहानुभूति प्रकट गरी पार्टीले यहाँसम्म पुर्‍याएको भए पनि उहाँले आफूले पाएको यो पदको मर्यादा राख्न सक्नु भएको देखिएन । उहाँको पृष्ठभूमि पनि विवादास्पद रहेको पाइएको छ । श्रीमान् को विरासद्बाट आउनुभएको भए पनि त्यसलाई उहाँले निष्कलंक राख्न सक्नुभएको पाइएन ।

मीना भण्डारी बस्नेत र उहाँकी छोरीलाई घरैमा गएर कुटपिट गरेको जाहेरी राज्यमन्त्री विमलाउपर पर्नाले उहाँको राजनीतिक जीवन निश्चय घुरमैलो बन्न पुगेको छ । त्यतिमात्र होइन उहाँले मीनाका श्रीमान् एकराज भण्डारीलाई आफ्नो श्रीमान् दाबी गर्नुभएकाले उहाँको सामाजिक मर्यादामा आघात पुग्न गएको छ । यसबाट केही प्रश्न सिर्जना भएका छन् । पहिले पुरुष मन्त्रीहरूमात्र यस्ता विवादमा पर्दै आउनु भएकोमा अब महिला राजनीतिज्ञहरूको समेत संलग्नता देखिन थाल्यो ।

यो जात, धर्म, वर्ण, आस्था र लिंगको प्रश्न होइन भने पदको अहंकार हो त ? या मानवीय आवेशको नियन्त्रण हुन नसकेको दृष्टिले यसलाई हेर्ने ? मानसिक रूपमा त उहाँ स्वस्थ नै हुनुहोला तर मद्यपान गर्नु भएको वा यस्तै अन्य कारण त थिएनन्, यसतर्फ अध्ययनको जरुरी छँदैछ । यसका साथै अरूले यही कार्य गरेको भए जे-जस्तो सजाय हुन्थ्यो त्यो उहाँउपर हुनैपर्छ, त्यसै होस् । कानुन कसैका लागि कडा र कसैका लागि निम्छरो नबनोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?