महँगीको सकसमा नागरिक

हिमालय टाइम्स
Read Time = 6 mins

केही दिनयता आश्चर्य चकित ढंगले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । आश्चर्य ढंगले भन्नुको कारण के हो भने हप्तैपिच्छे जस्तो तेलको मूल्यवृद्धि हुँदा यसभित्र कुनै रहस्य लुकेको छ कि भन्ने आशंका नेपाली नागरिकलाई हुन थालेको छ । वर्तमानमा जसरी तेलको मूल्य बढिरहेको छ यो इतिहासमै कहिल्यै वृद्धि भएको थिएन । जसले गर्दा सरकार कुनै माफिया या कमिसनखोरको चंगुलमा पर्न गएको हो कि जस्तो आभास भएको छ । यस पटकको वृद्धिमा आशंका र अपत्यारिलो भाव जनतामा पैदा भएकाले सरकारप्रति नकारात्मक दृष्टिकोण सिर्जना हुन पुगेको छ । सरकार भन्छ, यो अन्तर्राष्ट्रिय कारणले हो, इन्धनमा अझै घाटै छ । प्रतिपक्षीहरू भन्छन्, सरकारले मनोमालिन्य ढंगले इन्धनमा मूल्यवृद्धि गरेको हो, तुरुन्त मूल्य घटाउनुपर्छ ।

तर, एउटा ध्रुवसत्य कुरा के हो भने हालको प्रतिपक्ष सरकारमा भएको भए पनि यसैगरी मूल्यवृद्धि गथ्र्यो र हाल सरकारमा भएका दलहरू प्रतिपक्षमा भएका भए पनि यसरी नै विरोध गर्नेगर्थे । यो त नियमित प्रक्रिया रहेछ भन्ने देखिएको छ । यथार्थ वा वास्तविकता के हो भन्ने कसैले ठहर गर्ने रहेनछन् र सरकारमा रहेको पार्टीहरूले वृद्धि गर्नुपर्ने बाध्यता देखाउँदै यसका पक्षमा तर्क गर्ने र प्रतिपक्षमा रहेकाले वास्तविकता जे भए पनि सरकारका कार्यको विरोधमात्र गरिरहने परम्पराले हामीलाई डोहो¥याइरहेको छ । कारण जे होस् मूल्यवृद्धि पहिलेभन्दा धेरै बढी छ ।

केही समय पहिले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कटौती गरेर इन्धनको मूल्यमा केही रुपैयाँ घटाएको थियो तर घटाएको एक–दुई दिनपछि पुनः मूल्यवृद्धि गरेको थियो । केही दिनमात्र बित्दानबित्दै पुनः इन्धनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । मुलुकमा सरकार छ त्यो पनि पाँच दलको गठबन्धनबाट बनेको तर जनताका लागि राहत हुनेगरी कुनै कार्यक्रम दिन सकेको छैन । प्रतिपक्षका लागि मात्र होइन जनताका लागि पनि विरोधको यो एउटा विषय हुनसक्छ । हाम्रै पार्टीको सरकारले बढाएको हो त्यसैले हामीले सहेर बसिरहनुपर्छ भनेर जनताले चित्त बुझाउँदैनन् ।

यही मौकामा कुनै पार्टीले विरोधको कार्यक्रम दियो भने निश्चित हो नागरिकहरू त्यसको पक्षमा सडकमा ओर्लिन्छन् नै । इन्धनमा मूल्य बढ्नु भनेको बै थोकमा मूल्य बढ्नु हो । इन्धनमा मूल्य बढेकै दिन आठ-दश घण्टा मात्रसमेत पर्खिन नसकी सार्वजनिक यातायातको भाडा बढाइएको छ । यसै महँगीको मारमा पर्दै आएका नागरिकले अब बढेको महँगीको सामना कसरी गर्ने हुन् परिणाम देखिन बाँकी छ । मूल्यवृद्धिलाई लिएर व्यवसायीहरू आन्दोलित भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सडकदेखि सदनसम्म विरोधका कार्यक्रम ल्याउने भएको छ । यस्ता कार्यक्रममा महँगीको मारमा परेका सरकार पक्षकै नागरिक मतदाता वा कार्यकर्ता तहकै मानिसको समर्थन रहने कुरा यथार्थ नै हो ।

महँगीको चपेटामा नराम्ररी फसेका जनताले अब आउँनै लागेको प्रादेशिक तथा संसदीय निर्वाचनमा हालका सत्तारुढ दलहरूलाई कसरी समर्थन गर्लान् ? अथवा अर्को शब्दभन्दा यस्तै कारणले नेपाली कांग्रेसलगायत वर्तमान सत्तारुढ दलहरूको लोकप्रियता खस्केर जाने र भोट घट्ने हुन नसक्ला र ? महँगी वृद्धिलाई अन्तर्राष्ट्रिय कारण भनिदिएर सरकार पन्सिने गरेको छ । कहिले रूस-युक्रेन युद्ध देखाइन्छ भने केही हाम्रै आन्तरिक कारण होलान् । कारण जे जस्ता हुन् सरकारले तिनको नियन्त्रण गरी नियामक बनाएर जनतालाई सहज हुने अवस्थाको सिर्जना गर्न सक्दै न र ? जनतालाई बोकाउने भारबाट केही आफूले लिएर सरकारले जनताकै सहजताका लागि हामीलाई राहत हुने ढंगले काम गर्दै छ भन्ने किसिमको वातावरण सिर्जना गरिदिएर काम गर्न सक्दैन र ? यसतर्फ सरकारले सोच्नै पर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?