-ज्ञानेन्द्र विवश
पोखरा । कलाकार दुर्गा बराल राजधानी बाहिर (पोखरामा) बसेर छ दशकदेखि अविराम कलासाधना गर्दै आउनुभएको छ । उहाँको ख्याति पोखरामा मात्र सीमित छैन, उहाँ राष्ट्रिय व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ । चित्रकारीका अतिरिक्त व्यङ्ग्यचित्र (कार्टुन) विधामा उहाँ ‘वात्स्यायन’ नामबाट झन् बढी परिचित हुनुहुन्छ । उहाँको जन्म वि.सं. १९९९ सालमा पोखराको आर्वामा भएको हो ।
आफ्नो बाल्यकालबारे उहाँ भन्नुहुन्छ- “म दुई वर्ष पुग्दा मेरी आमाको स्वर्गवास भएको थियो । मेरो जन्मथलो आर्वा गाउँ अति मनमोहक थियो । त्यहीँकै वन, पाखा, झरना र खोलाका बगरमा मैले आफ्नो बाल्यकाल बिताएँ । म आठ वर्षको उमेरमा गाउँ छाडी पोखरा मामा कहाँ बस्न आएँ । स्कुलमा हुँदा पढाइमा भन्दा बढी चित्र बनाउनमा मेरो ध्यान केन्द्रित रहन्थ्यो । त्यो बेला म भानुभक्त, मोतिराम, गान्धी, नेहरु आदि विशिष्ट व्यक्तित्वहरूको चित्र बनाउँथें । महाभारत र श्रीमद्भागवत गीताका पुस्तकमा छापिएका रङ्गीन चित्रहरू पनि ‘कपी’ गर्थें । वि.सं. २०१८ सालमा एसएलसी उत्तीर्ण गरेपछि आई. एस.सी. पढ्न पृथ्वीनारायण क्याम्पसमा भर्ना भएँ ।”
चित्रकलाप्रतिको मेरो लगन र रुचिदेखेर प्रभावित घरेलु शिल्पकला केन्द्र पोखराका हाकिमले आफूलाई वि.सं. २०२१ सालमा काठमाडौंको तालिम केन्द्रमा जाने व्यवस्था गरिदिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार त्यसताका त्यहाँ डिजाइन सम्बन्धी तालिम दिइन्थ्यो । त्यहाँ एकजना जर्मन प्रशिक्षकसहित अमर चित्रकार र ज्ञानबहादुर चित्रकार पनि कार्यरत हुनुहुन्थ्यो ।
पुराना दिन सम्झिँदै कलाकार दुर्गा बराल भन्नुहुन्छ- “वि.सं. २०२२ सालमा मैले जनक शिक्षा सामग्री केन्द्रमा कलाकार पदमा अस्थायी जागिर पाएँ । त्यहाँ केशव दुवाडी र दिलबहादुर चित्रकार प्रमुख कलाकारका रूपमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँग काम गर्दा मैलै धेरै नयाँ कुरा सिक्ने मौका पाएँ । वि.सं. २०२३/०२४ सालतिर एकजना फ्रान्सेली विशेषज्ञ केही महिनाका लागि हामीलाई ‘इलस्ट्रेसन’ र ‘बुक डिजाइन’ सम्बन्धी तालिम दिन आउनुभएको थियो । त्यस तालिमले ‘इलस्ट्रेसन’ मा मेरो सीप र ज्ञानलाई तिखार्न मदत गर्यो । तदुपरान्त मैले ‘इलस्ट्रेसन’ का कामलाई पनि निरन्तरता दिन थालेँ ।”
उहाँका अनुसार वि.सं. २०२५ सालमा कलाको तालिम लिने सिलसिलामा उहाँ जापान जानुभयो । त्यहाँबाट फर्किएपछि स्वतन्त्र रूपमा काम गर्ने विचारले जागिर छोडेर पोखरा फर्किएँ । त्यहाँ साइन बोर्ड र चित्र बनाउँदै घर खर्च चलाउन थालेँ । बिस्तारै चित्रको माग बढ्दै जाँदा मैले काम गरेर भ्याउन नसक्ने अवस्था पनि आयो ।
आफ्नो लामो र अविराम कलायात्राका क्रममा कलाकार दुर्गा बरालले सिर्जनाका अनेकौं आयामलाई समेटि सक्नु भएको छ । प्रारम्भमा उहाँले पोखरामा वि.सं. २०३२ सालमा ‘इगल आई’ ग्यालरी खोल्नुभयो । त्यहाँ साइनबोर्ड लेख्नुका अतिरिक्त पर्यटकहरूले मन पराउने शैलीका पोखराका प्राकृतिक दृश्य अङ्कित जलरङ्गी चित्रहरू बनाउनुभयो। उहाँले चित्रकला सिकाउने काम पनि गर्नुभयो । उहाँ एकदम कुशल ‘ड्राट्सम्यान’ हुनुहुन्छ । त्यसैले कैयौं उम्दा ‘इलस्ट्रेसन’ र ‘कार्टुनहरू’ उहाँले बनाउनुभयो । पोखरामा ‘वाटरकलर’ विधालाई स्थापित गराउन उहाँको महत्त्वपूर्ण योगदान छ । उहाँलाई पछ्याउँदै पोखरामा ‘वाटरकलर’ मा काम गर्ने एउटा सिङ्गो पुस्ता नै तयार भएको छ । व्यावसायिक कलामा उहाँ जति दक्ष हुनुहुन्छ, त्यति नै सिर्जनशील चित्रकारका रूपमा पनि उहाँको ख्याति छ ।
कलाकार दुर्गा बरालका प्रारम्भिक केही चित्ररचनाहरू ‘सरियालिज्म’ (अति यथार्थवाद) बाट प्रभावित रहेका छन् । उहाँ भन्नुहुन्छ- “एब्सट्राक्ट आर्टमा देखिने रङ संयोजन मलाई मन पर्छ, तथापि यो शैली मेरो निजी अभिव्यक्तिको अनुकूल नभएकाले मैले त्यसलाई अपनाउन सकिनँ ।”
दुर्गा बरालका चित्रहरू आधुनिक शैलीका भए तापनि ती आकृतिमूलक नै हुन्छन् । उहाँमा निहित रेखाङ्कन र रङ्गाङ्कन क्षमताका कारण उहाँका चित्ररचनाहरू निकै प्रभावशाली हुन्छन् । उहाँ समसामयिक मुद्दालाई चित्रमा अभिव्यक्त गर्न मन पराउनुहुन्छ । उहाँका ‘चोक र तमसुक’ तथा ‘कान्दाहर’ चित्र-शृङ्खला यसका ज्वलन्त उदाहरण हुन् । यस अतिरिक्त उहाँले ‘सोरठी’ र ‘लाहुरे जीवन’ लगायतका सामाजिक जनजीवनलाई पनि आफ्नो चित्रकारिताको विषय बनाउनु भएको छ ।
वि.सं. २०४० सालमा नेपाल-भारत सांस्कृतिक केन्द्रमा उहाँको ‘चोक र तमसुक’ शीर्षकको कलाप्रदर्शनी भएको थियो । उहाँका अनुसार ‘चोक’ धार्मिक विसङ्गति प्रतिको विद्रोहको अभिव्यक्ति हो र ‘तमसुक’ सामाजिक विसङ्गतिको प्रतीक हो । कलाकार बराल प्रायः सबै माध्यम (पेन-एन्ड-इन्क, जलरङ, तेलरङ, एक्रिलिक आदि) मा उत्तिकै दक्षतापूर्वक काम गर्नुहुन्छ । शिल्पगत क्षमता, विषयवस्तु प्रतिको सम, माधुर्यपूर्ण रङविन्यास र कुशल संयोजनाका कारण उहाँका चित्ररचनाहरू उत्कृष्ट कोटीका रहेका छन् ।
आफ्नो धारणा राख्दै कलाकार कलाप्रति बराल भन्नुहुन्छ- “सिर्जनाका लागि कलाकारको भोगाइबाट नै ऊर्जा र प्रेरणा प्राप्त हुन्छ । दूरुह बौद्धिकताबाट कलाको अवसान हुन्छ । कलासिर्जनालाई बौद्धिकताद्वारा अर्थ्याउन सकिँदैन । कला भनेको कोरा बौद्धिक चिन्तन र तर्कभन्दा माथिको विषय हो ।”
व्यङ्ग्यचित्र विधामा आफ्नो संलग्नताबारे व्यङ्ग्यचित्रका प्रखर हस्ती ‘वात्स्यायन’ भन्नुहुन्छ- “मेरो पहिलो कार्टुन वि.सं. २०२१ सालमा नयाँ सन्देश साप्ताहिकमा छापियो । त्यसपछि नेपाल पुकार, राष्ट्रपुकार, समीक्षा, मातृभूमि, देशान्तर, सुरुचि आदि साप्ताहिक पत्रिकाका लागि पनि प्रशस्त व्यङ्ग्यचित्रहरू बनाएँ । गोरखापत्र र कान्तिपुर दैनिकका लागि पनि बनाएँ । २०७७ सालको लकडाउनपछि कान्तिपुर पत्रिकाका लागि कार्टुनचित्र बनाएको छैन।”
उहाँका व्यङ्ग्यचित्र गाईजात्रे हास्यव्यङ्ग्य पत्रिकाहरू, भाँडभैलो, कामना, मुस्कान आदिमा पनि प्रशस्त प्रकाशित भएका छन् । पोखराबाट निस्किने ‘प्राङ्गण’ नामक साहित्यिक पत्रिकामा पनि कुनै बेला उहाँका व्यङ्ग्यचित्रहरू धारावाहिक रूपमा प्रकाशित हुन्थे । त्यस्तै, युनिसेफ, नेपालद्वारा प्रकाशित ‘नवदृश्य’ पत्रिकामा पनि उहाँका व्यङ्ग्यचित्र छापिएका छन् । वि.सं. २०६२ सालमा पन्ध्र वर्ष अवधिमा बनाइएका उहाँका प्रतिनिधि व्यङ्ग्यचित्रहरूको सँगालो ‘वात्स्यायन एन्ड हिज बार्ब्स’ शीर्षकको पुस्तक प्रकाशित भएको थियो । व्यङ्ग्यचित्र विधामा ‘वात्स्यायन’ का नाउँबाट दुर्गा बरालको उपस्थितिले नेपाली व्यङ्ग्यकलालाई नै नयाँ गति दिएको छ ।
व्यङ्ग्यचित्र मार्फत उहाँ समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सटीक एवम् प्रभावकारी व्यङ्ग्य गर्नुहुन्छ । विषय, सन्दर्भ र शिल्पदक्षताका कारण उहाँका व्यङ्ग्यचित्रहरू अत्यन्त मर्मस्पर्शी रहेका छन् । सम्भवतः चित्रकला र व्यङ्ग्यकलाको दोहोरो भूमिकामा यति सशक्त र सफल नेपाली कलाकार अरू छैनन् । उहाँ पोखरामै बसेर आफ्नो सिर्जनशील यात्रामा सक्रिय हुनुहुन्छ । उहाँलाई ‘राजधानीवाद’ सँग कुनै सरोकार छैन । चुपचाप काममै लीन हुनु उहाँको दिनचर्या रहेको छ ।
वि.सं. २०२२ सालमा भएको प्रथम राष्ट्रिय कलाप्रदर्शनीमा उहाँले प्रथम पुरस्कार पाउनुभएको थियो । शिरोमणि पुरस्कार, पोखरेली नवरत्न पुरस्कार, नारायणबहादुर सिंह स्मृति पुरस्कार, कुमुदिनी कला र साहित्य पुरस्कार, हाँस्ने पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, बासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कार, दयाशङ्कर स्मृति पत्रकारिता पुरस्कार, वी पी पत्रकारिता पुरस्कार आदिबाट उहाँ सम्मानित भइसक्नुभएको छ। वि.सं. २०७३ सालमा उहाँलाई लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले ‘अरनिको ललितकला सम्मान’ प्रदान गरेको थियो । वि.सं. २०७४ सालमा उहाँलाई नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ प्रदान गरेको थियो ।
- श्रोतः आइएनएस-स्वतन्त्र समाचार
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच