विपद् सतर्कता अपनाउनमा जुट्दै स्थानीय तह 

हिमालय टाइम्स
Read Time = 6 mins

-विजय रावत

जुम्ला । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद पूर्व–तयारीमा जुट्न स्थानीय तहलाई प्रशासन कार्यालयले अग्रहसमेत गरेको छ । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्दार र पुनःस्थापनका लागि स्थानीय तह विपद पूर्व–तयारीमा लागि पर्ने याम आएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिनुभयो ।

जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद व्यवस्थापनका लागि न्यूनतम १५ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेको स्थानीय तहका प्रमुख बताउँछन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन् ।

पूर्व–सूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्दार तथा पुनःस्थापनका लागि अन्तरपालिका बीच हातेमालो हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा समन्वय नहुँदा जोखिम न्यूनीकरण तथा राहत उद्दारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुद देखिएन । मनसुन भित्रिन थालेको छ । योजना सहितको पूर्व–तयारीमा सबै स्थानीयत एकजुट हुनु आवश्यक देखिएको छ ।’

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद पूर्वतयारीसँगै विपद प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । खलंगामा रहेको जुगाड खोला सरसफाइदेखि बाढीपहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्दारमा नगरपालिका तयार रहेको प्रमुख कठायतले बताउनुभयो ।

विपद्बाट हुने जनधनको क्षति कम गर्न स्रोत साधनसहित पूर्वतयारी प्रतिकार्य योजना आवश्यक छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो, ‘हिमाले विपद् व्यवस्थापनमा पाँच लाख विनियोजन गरेको छ । राहत उद्दार र पुनःस्थापनाको नीतिगत व्यवस्थापन हुन जरुरी छ । हिमामा पालिकास्तरी उद्दार टोली पनि बनाउँदै छौँ । विपद् व्यवस्थापनको आवश्यकताअनुसार बजेट बढ्ने अध्यक्ष शाहीले बताउनुभयो । विपद्बाट नागरिकलाई जोगाउन स्थानीय तहको प्रमुख दायित्व रहेको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् ।

५९ लाखको राहत

जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । बाढी पहिरो, आगलागी जस्ता विपद्बाट प्रभावित तथा कोभिड प्रभावितहरूलाई प्रशासनले चालु आवमा करिब ५९ लाख ३० हजार बढी राहत वितरण गरेको प्रशासनले जनाएको छ ।

जिल्लामा चालु आवको हालसम्म बाढी पहिरो र आगलागीमा परी ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका ११ जनाको घर परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट १९ लाख राहत वितरण गरिएको प्रशासनले जनाएको छ । आगामी दिनमा स्थानीय तहको विपद्र प्रतिकार्य योजना बनाउनु अति आश्यक रहेको छ ।

प्रभावकारी समन्वय र उद्दार सामग्रीको व्यवस्थापन, सचेतना अभिवृद्धि, स्थानीय तहमा एम्बुलेन्स र दमकलको व्यवस्थापन, जनशक्ति परिचालन, विपद कोष स्थापना गरी कार्यान्वयन गर्ने स्थानीय तहको काम भएको प्रजिअ प्रसाईंले बताउनुभयो । भकारी परियोजनाका विपद् सल्लाहकार टीकाराम खड्काले जिल्लाका आठ पालिकामध्ये तिला र तातोपानीको मात्रै आपतकालीन विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७८ बनेको बताउनुभयो ।

अन्य ६ पालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि बन्न बाँकी छ । नदी नियन्त्रण रोक्नुपर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, वृक्षारोपण गर्नुपर्ने र विपदमा पूर्व–तयारीको ठोस योजना बनाई सतर्क हुनु पर्ने यहाँका सरोकारवालहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?