धान चामल उत्पादन, आयात तथा निकासी

Read Time = 8 mins

✍️ डा. सुमनकुमार रेग्मी

विगत केही वर्षअघिदेखि लगातार चामल, धान र धानका बिउ आयात बढ्दै गएको छ । विगत ५ वर्षमा अर्थात् २०७४/०७५ देखि २०७८/०७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक २०७८/०७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ । धान थन्क्याउने समयमा २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको आँधीबेहरी, हावाहुरीसहितको अप्रत्यासित वर्षाले धानमा क्षति पुगेकाले २०७८/०७९ मा धान उत्पादन घट्न गएको हो ।

२०७८/०७९ मा २०७७/०७८ भन्दा ५ लाख मेट्रिकटन कम धान उत्पादन भएको छ । यद्यपि २०७८/०७९ मा मौसम अनुकूल हुँदा पनि आव २०७८/०७९ मा धान उत्पादन घटेको छ । २०७८/०७९ मा ५१ लाख ३० हजार मेट्रिकटनमात्र धान उत्पादन भएको देखिन्छ । तर, २०७७/०७८ मा ५६ लाख २१ हजार सात सय १० मेट्रिकटन धान उत्पादन भएको थियो । २०७७/०७८ भन्दा २०७८/०७९ मा ४ लाख ९१ हजार मेट्रिकटन कम धान उत्पादन भएको देखिन्छ । २०७७/०७८ को तुलनामा धानबाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टर वृद्धि भए पनि उत्पादकत्व ९.०९ प्रतिशतले कमी आई उत्पादकत्व ३.४७ मेट्रिकटन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ ।

२०७७/०७८ को तुलनामा २०७८/०७९ मा गण्डकी प्रदेशमा बाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । २०७७/०७८ को तुलनामा सुदूरपश्चिम प्रदेशमा ३१.४९ र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतले उत्पादन घटेको हो । चैते धानको उत्पादन भने २०७७/०७८ को तुलनामा ०.३३ प्रतिशतले वृद्धि भई ४.६८ मेट्रिकटन प्रतिहेक्टर पुगेको देखिन्छ । प्रत्येक वर्षको असार मध्यमा देशमा राष्ट्रिय धानदिवस मनाउन थालेको १८ वर्ष पुग्न आँटेको छ । मूलतः धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३.५ मेट्रिकटन प्रतिहेक्टर रहेको अनुमान छ । एफएओका अनुसार सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रहृयो ।

आर्थिक वर्ष २०७५/०७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान रहेको थियो । २०७५/०७६ मा मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको थियो । २०७५/०७६ मा कुल ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको छ । २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिकटन चामल उत्पादन भएको थियो । २०७४/०७५ भन्दा नौ प्रतिशतले धान उत्पादन बढेको थियो । २०७४/०७५ मा धानको उत्पादकत्व ३.५ प्रतिशत रहेकोमा २०७५/०७६ मा उत्पादकत्व ३.६९ प्रतिशत रहेको थियो । आधिकारिक स्रोतअनुसार नेपालमा आर्थिक वर्ष २०७४/०७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धानरोपाइँ भएको थियो । सो धानखेती रोपाइँ भएकोमा ५१ लाख ५१ हजार ९२५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३/०७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धानरोपाइँ भएकोमा ५२ लाख ३० हजार ३२७ मेट्रिकटन उत्पादन भएको थियो ।
आव २०७२/०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धानखेती भएकोमा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिकटन धान उत्पादन भएको थियो । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धानखेती गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर रहिआएको छ ।

आव २०७५/०७६ मा धानको उत्पादन बढ्यो । आर्थिक वर्ष २०६२/०६३ देखि २०७२/०७३ सम्मको ११ वर्षमा दुई वर्षमात्रै ५० लाख टन धान उत्पादन भएको थियो । तीन वर्षयता धानको उत्पादन बढेको छ । २०७५/०७६ मा २०७४/०७५ भन्दा ४ लाख १२ हजार मेट्रिकटन बढी धान उत्पादन भएको थियो । यो उत्पादन देशको मागभन्दा अझै झण्डै १० लाख मेट्रिकटन कम हो । धान खेत क्षेत्रफल कम हुँदैगएको भनियो । २०७५/०७६ मा बेलैमा वर्षा भएको तथा मलको वितरण पनि आवश्यकताअनुसार समयमै हुन सकेकाले उत्पादन बढेको आधिकारिक भनाइ रहृयो ।

२०७४/०७५ मा झण्डै २०-२४ अर्ब रुपैयाँको चामल आयात भएको थियो । २०७५/०७६ को चार महिनामा नै १२ अर्ब रुपैयाँ बढीको चामल आयात भएको थियो । करिब ४ लाख मेट्रिकटन बढी उत्पादनले आयात घट्ने देखिँदैन । धानखेतको संरक्षण तथा आधुनिक र दिगो खेती प्रणालीले मात्रै माग धान्ने गरी उत्पादन बढाउन सकिन्छ । वार्षिक ७ लाख मेट्रिकटन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकको छैन । सरकारले आर्थिक वर्ष २०७५/०७६ मा मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । प्लटिङले धानखेत मासिँदै गएको छ । कुनै वर्ष जिल्ला–जिल्लामा पर्याप्त वर्षा नहुँदा किसानले खेत बाँझै राख्नुपर्ने अवस्था पनि आएको छ ।

आव २०७८/०७९ चैतसम्ममा धानको बिउमात्र २४ करोड ८३ लाख ६९ हजार रुपैयाँबराबरको कुल १६ लाख ९९ हजार ७८९ केजी आयात भएको छ । तर, २०७८/०७९ को अघिल्लो सात महिनामा नेपालमा १३ अर्ब रुपैयाँको धान आयात भएको देखिन्छ । यही अवधिमा भारतबाट तीन करोड २१ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरका ११ लाख तीन केजी विभिन्न जातको धानको बिउ आयात भएको छ । २०७८ चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपैयाँबराबरको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पोलिस चामल आयात भएको छ ।

यसैगरी २०७८ चैतसम्म पोलिस नगरिएको ४ अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपैयाँ बराबरको ६ करोड ३ लाख ५८ हजार ४५३ केजी चामल आयात भएको छ । तर, २०७८/०७९ को पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ मूल्यबराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । यसै अवधिमा भारतबाट मात्र ४२ करोड ५२ लाख ५७ हजार ७११ केजी चामल बनाउन हुने उल्लेखित मूल्यको धान आयात भएको आधिकारिक स्रोतको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?