माओवादी केन्द्रमा महासचिव चयनमा सकस, आजको केन्द्रीय समिति बैठकमा पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीका नाम पेश गर्ने तयारी

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी र स्थायी समिति छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । मंगलबार बसेको पूर्वस्थायी कमिटी र प्रदेश इञ्चार्जहरूको बैठकले पदाधिकारी र स्थायी कमिटी सदस्यको नामावली तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको नेता दिनानाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारीको नामावली तयार गरेर अध्यक्ष प्रचण्डले बुधबारको केन्द्रीय समितिमा पेश गर्नुहुनेछ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरूको नाम प्रस्ताव गर्ने उहाँले बताउनुभयो ।

पोलिट्ब्युरो र स्थायी समितिमा लगभग सहमति भइसकेको उहाँको भनाइ छ । बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने माओवादीको तयारी छ । मंगलबार केन्द्रीय कमिटी बैठक सारेर पूर्व-स्थायी समिति र प्रदेश इञ्चार्जहरूको बैठक बसेको थियो । ‘मंगलबार लामो समय छलफल भयो । छलफल मूलतः पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयनबारे केन्द्रित थियो,’ शर्माले हिमालय टाइम्ससँग भन्नुभयो, ‘लामो गृहकार्यपछि स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंग्याउने विषय थाती राख्न नहुने र यसैपटक टुंग्याउनुपर्ने सहमति भयो । पूर्णता दिएर जानुपर्छ भन्ने कुरा भयो । मोटामोटी नामावली स्थायी र पोलिट्ब्युरोका नाम दिएका छौँ । पदाधिकारीहरू पनि सहमितबाटै टुंगो लगाउन अध्यक्षले गृहकार्य गरेर आज (बुधबार) बैठकमा पेश गर्ने भन्ने सहमतिसहित बैठक सकियो ।’

पदाधिकारी पनि सहमतिमै चयन हुने उहाँले विश्वास व्यक्त गर्नभयो । ‘अध्यक्ष कमरेडले पदाधिकारीसहितको नामावली बनाएर आउनुहुन्छ । त्यो सबैसँग छलफल र सहमति गरेर आउँछ,’ उहाँले भन्नुभयो, ‘सर्वस्वीकार्य हुनेगरी सबैसँग सल्लाह गरेर ल्याउने कुरो छ । पदाधिकारी पनि सहमतिमै टुंगिन्छ ।’ गत पुसमा भएको आठाँै महाधिवेशनले पदाधिकारीको संख्या र चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो । गत फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न सकेको थिएन ।

माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाउनुभएको छ । यस्तै, महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको प्रमुख दाबेदारी छ । पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेतसमेत महासचिव आकांक्षी हुनुहुन्छ । अध्यक्ष प्रचण्डलाई विशेषगरी महासचिव छान्न सकस परेको छ । अरू विषय मिलाउन सक्ने भए पनि महासचिवमा नेताहरूले दाबी नछोडेपछि प्रचण्ड दबाबमा पर्नुभएको हो ।

अर्थमन्त्रीबारे प्रष्ट्याउन माओवादीमा दबाब
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने वा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । सिसिटिभी फुटेज माग्दा ‘डिलिट भएको’ अर्थ मन्त्रालयले जवाफ फर्काएपछि आलोचना थप बढेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग मात्रै गरेको छैन संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग राखेको छ । सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले समेत अर्थमन्त्री हटाउन दबाब दिन थालेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताउनुभएको थियो । सदनदेखि सडकसम्म उठेका यस्ता गम्भीर विषयमा माओवादी भने मौनजस्तै छ । तर, पार्टीभित्र भने यसबारे आवाज उठ्न थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?