फेरि बल्झिँदै कोरोना

हिमालय टाइम्स
Read Time = 5 mins

कोरोना विगत साढे दुई वर्षदेखि संसारव्यापी बनेर फैलिएको महामारी हो । यो मानव सभ्यतामा हालसम्मकै सबैभन्दा भयावह महामारी मध्येकै एक हो भन्दा अत्युक्ति नहोला । संसारका सबै भागमा समान किसिमले फैलिएको यस संक्रमणबाट धेरै मानिसको ज्यान गयो । कोभिड १९ भनेर पनि चिनिने कोरोनाको पहिलो प्रहारबाट धेरैले ज्यान गुमाएपछि विस्तारै खोप आविष्कार भयो । मुलुकले विभिन्न नाममा आविष्कार गरेका यस्ता खोप विस्तारै विश्वव्यापी रूपमा उपलब्ध भएपछि मानिसहरूको मृत्युदर घटेर गयो । केही अपवादलाई छोडेर खोप लगाइसकेपछि मानिसको मृत्यु भएको छैन । विश्वलाई निकै आतंकित बनाएको कोरोनाको संक्रमण हाल केही महिनादेखि चर्चामा थिएन । चर्चामा नहुनु यसको प्रभाव नहुनु हो ।

मानिसले केही आरामको सास फेर्न पाएका बेला हालका दिनमा पुनः कोरोनाको संक्रमण बढ्न थालेको समाचारले व्यापकता पाउन थालेको छ । विगत साढे दुई वर्षयता पहिले सुरुका दिनमा पाइएको भन्दा अनेक स्वरूप परिवर्तन गरी-गरी विभिन्न भेरियन्टमा फैलिने गरेको कोरोना हालका दिनमा पनि स्वरूप परिवर्तन गरेर देखा परिरहेको विज्ञहरूले बताएका छन् । यसबाट कुनै प्राणीका प्रजाति विकसित बन्दै गएको जसरी नै यस भाइरसको प्रजाति विकसित बनेको भन्ने कुरा पुष्टि हुन आउँछ । यो जसरी देखा परेको भए पनि यसले संक्रमित बनाउने भनेको मानिसलाई नै हो । त्यसैले सावधानी हामीले नै अपनाउनुपर्ने हुन्छ । हालका दिनमा काठमाडौंको पानीमा हैजाका जीवाणु फेला परेको हुँदा हैजाबाट जोगिनुपर्ने भएको छ ।

अर्कातिर कोरोनाको नयाँ भेरियन्ट पनि यही बेला बढ्दो अवस्थामा छ । गर्मी महिना भएकाले अरू रैथाने रोग त यसबेला लाग्ने नै भए । साथै सर्वव्यापी महामारी कोरोनाको संक्रमण पहिलेकै जसरी फैलियो भने व्यापक रूपमा त्रास बढ्नेछ । यसकारण सचेतता जरुरी देखिन आएको छ । कोरोनाको संक्रमण सकियो भन्ने आममनोविज्ञानले हाल मानिसहरूले मास्क, सेनिटाइजर र दूरी कायम गर्न छोडिसकेको अवस्था छ । हालको बढ्दो संक्रमणबाट यस्ता वस्तुहरू प्रयोग गर्न छोड्नु हुँदैन भन्ने देखिन आएको छ । भन्न त हालको ‘बिए ५ यू’ नामको कोरोनाको कान्छो भेरियन्ट त्यति प्रभावकारी छैन भनिएको छ ।

यस अर्थमा यसको त्यति डर मान्नुपर्ने अवस्था छैन तर शत्रु भनेपछि सानै भए पनि त्यो आपूmलाई हानि पु¥याउने खालकै हुन्छ भनेर बुझ्नुपर्छ । बुझ्नु भनेको सतर्क हुनु हो, सचेत रहनु हो । गत सोमबारको आँकडालाई लिने हो भने उक्त दिन थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक प्रतिशतमा झरेको यसको संक्रमण ६ प्रतिशतमा पुगेको बताइएको छ । सुरुमा अफ्रिकामा देखा परेको यो नयाँ भेरियन्ट विस्तारै संसारव्यापी बन्दै गएको हो र यसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ ।

यसबाट कसैको मृत्यु नभए पनि मानिसलाई सिकिस्त भने पारेको छ । संक्रमण फैलिरहेको भए पनि केही मानिस निको भइसकेका छन्, केही सामान्य संक्रमित भएर उपचाररत छन् भने केही होम आइसोलेसन त केही संस्थागत आइसोलेसनमा छन् । यीमध्ये चारजना गम्भीर अवस्थामा रहेका कारण आइसीयूमा रहेर उपचार गराइरहेका छन् । सबै तथ्यांकलाई हेर्दा कोरोना दोहो¥याएर खोप लगाइसकेपछि समाप्त भइसकेको जस्तो ठानिएको अवस्थामा अझै यो सक्रिय छ भनेर देखिन आएको छ । जुन कुरा तथ्यमा आधारित छ । कोरोना अझै सक्रिय छ, यो निर्मूल भइसकेको छैन भन्ने ठानेर यसविरुद्ध हामी सचेत रहन जरुरी छ । यसका लागि सरसफाइ गर्ने, बेलाबेलामा हात धोइरहने, मास्क र सेनिटाइजरको प्रयोगलगायत सावधानीका उपायको अवलम्बन गर्नु अत्यन्त आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?