नेपाली कांग्रेसभित्र फेरि किचलो

हिमालय टाइम्स
Read Time = 6 mins

नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । पार्टीमा बेलाबेलामा देखिने गरेको यस प्रकारको किचलो यो पहिलो भने होइन । सामान्यतया व्यक्तित्वको टकरावका कारण यस प्रकारको किचलो देखिने गरेको छ । पार्टीको चौधौँ महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार नबन्न एकथरिको निकै ठूलो दबाब थियो तर उहाँ यसका बाबजुद पनि उम्मेदवार बन्नुभयो र विजयी हुनुभयो । त्यसबेला यसलाई चुनावी प्रतिस्पर्धा मानियो र उहाँको विजयपछि त्यति धेरै विरोध गरिएन । विरोध त पहिलोपटक शेरबहादुर देउवा र शेखर कोइराला दुवैको विजय नभएपछि दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले देउवालाई सहयोग गरेपछि उहाँको चाहिँ व्यापक विरोध भएको थियो ।

अधिवेशनको केही महिनापछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा अरू दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्नेमा व्यापक रूपमा बहस भएको थियो । अन्ततः पार्टी सभापति देउवा गठबन्धनकै पक्षमा उभिनुभयो । नेकपा माओवादी केन्द्र्र, नेकपा एमाले समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त जनमोर्चा नेपालबीच गठबन्धन भएर निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा आशातीत परिणाम आयो । नेपाली कांग्रेस र माओवादी केन्द्र यस परिणामबाट विशेष सन्तुष्ट हुन पुगे । यसपछि भने पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुम्दै गएको शाख फिर्ता गर्न सकेको रूपमा उहाँका विरोधीहरूले समेत उहाँको प्रशंसा गर्दै आएका छन् ।

नेपाली कांग्रेस जनआधारित पार्टीको हो । यसको प्रभाव तृणमूल तहसम्म राम्ररी पुगेको छ । यसरी जनआधारित (मासबेस) पार्टी भएका कारण यस पार्टीको अनुशासन भने अलिक कमजोर नै छ । कार्यकर्तामा पार्टी निर्देशन पालना नगर्ने प्रवृत्ति बढी नै छ । मतमतान्तर अरू पार्टीमा पनि नभएको होइन तर तिनको तुलनामा नेपाली कांग्रेसमा चाहिँ यसको व्यापकता नै छ । संस्थापना कालदेखि नै बीपी- डिल्लीरमण, बीपी-मातृका, बीपी-सूर्यप्रसाद, बीपी-श्रीभद्र शर्मा खनाल, बीपी-परशुरा चौधरी, कृष्णप्रसाद-गिरिजा, गिरिजा-गणेशमान, गिरिजा–शेरबहादुरबीच झांगिँदै र फैलिँदै आएको यो परम्परा पछिल्ला दिनहरूमा शेरबहादुर- रामचन्द्र, शेरबहादुर-शेखर भएर फैलिरहेको छ ।
विवाद र गुटउपगुट समाप्त पार्दै लानुपर्नेमा यसरी गुटहरूलाई मलजल दिने काम नेताहरूबाटै हुँदै आएको देखिन्छ । यसको अन्तिम परिणाम हालका दिनहरूमा देखिँदै आएको छ । केही दिन पहिलेदेखि शेखर कोइराला पक्षको बैठक नियमित रूपमा बस्दै आएको छ र यस पक्षले आफूलाई विभिन्न ठाउँमा ४० प्रतिशत स्थानको माग गरेको छ । देउवा पक्षले यसलाई वास्ता गरेको छैन । यसबाट गुटको राजनीति कोठाभित्र मात्र सीमित नभई बाहिर सडकसम्म छताछुल्ल भएर पोखिएको छ । यसबाट नेपाली कांग्रेस पार्टीलाई कुनै प्रकारले पनि फाइदा पुगिरहेको छैन । बरु आफ्नो नासो जोरीको हाँसो भनेझैँ भएको छ ।

आगामी संघीय संसदको निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणाका साथ तयारी गरिरहेका प्रभावशाली महामन्त्री गगन थापा र अर्का आशालाग्दा महामन्त्री विश्वप्रकाश शर्माहरू जस्ता युवाहरूले भुसको आगोका रूपमा रहेको र हाल दनदनी बल्दै गरेको आगोलाई नियन्त्रण गर्ने प्रयास गरेको जस्तो देखिएको छैन । कतिपय राष्ट्रिय सवालमा खरो उत्रिने र समस्याहरू समाधान गर्दै आउनुभएका उहाँहरू जस्ता युवा नेताहरू जनता तथा पार्टीका समेत भरोसाका रूपमा रहनुभएका कारण पार्टीमा उठ्ने गरेका यस्ता समस्याको समाधानमा उहाँहरू लाग्नैपर्छ । नत्र पार्टीभित्रका यस्ता समस्याले सडक तात्ने कार्य निरन्तर भइरहन सक्छन् ।

यसले गर्दा पार्टी बलियो बन्नुको सट्टा दिनप्रतिदिन झन्झन् कमजोर बन्दै जान्छ । पद भनेको कुनै व्यक्तिको सधैँको निजी सम्पत्ति होइन । भोलि त्यस ठाउँमा आफू पनि पुग्न सकिन्छ भन्ने दृष्टिकोण राखेर काम गर्दै जाने हो भने निश्चय त्यस ठाउँमा जो पनि पुग्न सक्छ । यो भावना राजनीति गर्ने सबैमा हुनु नितान्त आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?