गभर्नर अधिकारीमाथि नैतिक दबाब

हिमालय टाइम्स
Read Time = 6 mins

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिबेला नैतिक दबाबमा हुनुहुन्छ । राष्ट्र बैंक जस्तो गरिमामय र राष्ट्रको सबैभन्दा ठूलो वित्तीय निकायको प्रमुख भएर पनि एमाले पार्टीमा सक्रिय भएको विषय हाल सार्वजनिक भएका कारण उहाँ विवादमा पर्नुभएको छ । यही कारणले उहाँमथि ठूलो नैतिक दबाब सिर्जना भएको हो । सामान्यतया एकजना व्यक्तिले दुईतिरको पद धारण गर्न मिल्दैन । यस्ता पदमध्ये कतिपय नैतिक रूपमा पद धारण गर्ने व्यक्तिले नै बुझ्नुपर्ने हुन्छ भने केही त्यस्ता जिम्मेवार पद हुन्छन् जसमा कानुनी रूपमै दोहोरो पदभार ग्रहण गर्न मिल्दैन । यस्ता संवैधानिक तथा ठूला पदको जिम्मेवारीमा रहनुपर्ने मानिसले आफैँ एकतिरको पदत्याग गर्ने गर्दछन् ।

कतिपय पद ग्रहण गर्ने बेलामा आफूले पार्टीमा पाइरहेको जिम्मेवारी वा पदत्याग गर्नैपर्ने हुन्छ । प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, संवैधानिक अंगमा प्रमुख तथा सदस्यहरू, राजदूत जस्ता पदमा नियुक्ति लिन चाहनेहरूले पार्टीको जिम्मेवारीमा भए त्यस्तो पदत्याग गर्नुपर्छ । राष्ट्रपति हुनुपूर्व डा.रामवरण यादव नेपाली कांग्रेस पार्टीको उच्च नेतृत्वमा हुनुहुन्थ्यो । राष्ट्रपति बन्दा उहाँ पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हट्नुभयो । उहाँ हाल पनि स्वतन्त्र रूपमा रहनुभएको छ । त्यसैगरी, वर्तमान राष्ट्रपति विद्या भण्डारी एमालेको नेतृत्वबाट हाल राष्ट्रपतिमा पुग्नुभएको हो तर उहाँ हाल एमाले पार्टीमा रहनुभएको छैन । त्यस्तै, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ एमालेको नेता हुनुहुन्थ्यो । उहाँ सभामुख रहुन्जेल सबैको साझा सभामुख भएर रहनुभयो ।

हाल उहाँ एमालेमै सक्रिय रहनुभएको छ । पदबाट हटेपछि चाहिँ पुनः आफ्नो आस्थाको पार्टीमा सक्रिय हुन पाइन्छ तर जिम्मेवार पदमा रहेको बेला कुनै पार्टीको सदस्य भएर राजनीतिमा सक्रिय हुन पाइँदैन । हालका गभर्नर महाप्रसाद अधिकारी एम.अधिकारीका नामबाट एमाले पार्टीको राजनीतिक पदमा रहनुभएको कुरा हालै सार्वजनिक भएको छ । यसबाट उहाँमाथि नैतिक दबाब सिर्जना हुन पुगेको हो । नैतिक दबाबमात्र नभएर यो त कानुनी दबाब पनि हो भन्ने प्रश्न उठाइएको छ । यसो हो भने उहाँले दोहोरो टेकन लगाउनु हुँदैन र एउटा पदत्याग गर्नैपर्छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको विवादपछि निलम्बनमा पर्नुभएका अधिकारी सर्वोच्च अदालतको आदेशबाट बहाली हुनुभएको हो ।

यो त्यति लामो समय भएको छैन । त्यसको केही समयमात्र बित्न पाउँदा नपाउँदै पुनः उहाँ यसरी विवादमा आउनुभएको हो । उहाँ गभर्नर हुनु अघिसम्म पनि एमालेमा सक्रिय रहनुभएको थियो । तर, हाल एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम.अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो वा अन्य कुनै व्यक्ति हो भन्ने कुरा भने प्रमाणित गर्नुपर्ने विषय हो । केही विश्लेषक र जानकारहरू यो दुवै उहाँकै नाम हो भन्नुहुन्छ । पार्टीका केन्द्रीय तहका नेताहरूले पनि आफ्नो पार्टीमा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति रहन पाउने व्यवस्था छैन भन्नुभएको छ ।

त्यसो हो भने त झन् अधिकारीलाई गभर्नर पदबाट बहिर्गमन गराउन सरकारलाई सहज हुन्छ । यसका लागि पहिलो कुरा चाहिँ यी दुवै नाम उहाँकै हो वा होइन भनेर पुष्टि गर्नु आवश्यक छ । त्यो पुष्टि गर्नुपर्ने काम भने सरकारको हो । सरकारले यसको खोजी गरेर एम.अधिकारी गभर्नर महाप्रसाद अधिकारीकै अर्को नाम हो भने उहाँलाई पदबाट नैतिक वा कानुनी दबाबबाट हटाउनुपर्ने हुन्छ । होइन भने व्यक्तिको एक ठाउँमा रहेर आफ्नो जागिर पेशा वा व्यवसाय गर्ने अधिकार हुँदाहुँदै उसको अधिकार कुण्ठित हुनेगरी अनावश्यक विवादमा तान्नु उचित हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?