गहुँको विश्व राजनीति रुस-युक्रेन लडाइँले गरुंगो

Read Time = 11 mins

✍️ लोकनारायण सुवेदी

यति बेला रुस-युक्रेन युद्धका कारण विश्व बजारमा गहुँको आपूर्तिमा ठूलो व्यवधान खडा भएको छ । त्यसले गर्दा गहुँको मूल्य पनि आकाशिएको छ । हुन त रुस र युक्रेन दुवै देश विश्वमा धेरै गहुँ उत्पादक देशहरू हुन् । विश्वमा चीनपछि भारत पनि ठूलो गहुँ उत्पादक देशमा पर्दछ । रुस-युक्रेन युद्ध सुरु भएपछि भारतीय गहुँ निर्यातकहरूका लागि एउटा राम्रो निर्यातको अवसर आयो । तिनले विश्व बजारमा गहुँ निर्यात गर्न थाले । अनि भारतभित्र गहुँको मूल्य अझ बढ्न थाल्यो । यद्यपि भारतमा मूल्यवृद्धि भने पहिलादेखि नै चर्किँदै गएको थियो । त्यसमा पनि गहुँ जस्तो आवश्यक खाद्य पदार्थको मूल्य वृद्धिले गर्दा उत्पादक किसानलाई पनि त्यसको लाभ प्राप्त भएको त थियो ।
तर, आमउपभोक्ताका लागि भने त्यो बढ्दो मँहगी अझ चर्किनु ठूलो चिन्ताको विषय बन्न पुग्यो । यस स्थितिमा भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्धको घोषणा गर्‍यो । त्यसभन्दा पहिला भारतबाट बाहिर निर्वाधरूपमा गहुँको निर्यात हुँदै गरेको थियो । अनि जहाँ जहाँ खाद्य संकट उत्पन्न हुन्थ्यो त्यहाँ भारतले पनि गहुँ पठाउने गरेको थियो । खाद्य तथा कृषि संगठनले ६ मे २०२२ का दिन आफ्नो एउटा वयानमा के भनेको थियो भने विश्व बजारमा भारतको गहुँ निर्यात त्यत्तिका ठूलो मात्रामा भइरहेको छैन । तैपनि त्यसले गहुँको बढ्दो मूल्य वृद्धि नियन्त्रणमा केही भूमिका खेलेको छ । भारतले ४० लाख टन गहुँ निर्यात गर्ने कारोबारमा स्वीकृति दिइसकेको थियो ।

गएको अप्रिलमा ११ लाख टन गहुँ निर्यात पनि गरिसकेको थियो तर अहिले भारतले आफ्नो आन्तरिक आपूर्तिलाई सहज तुल्याउन गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतमा गहुँको सरकारी भण्डारण यतिबेला बितेको पाँच वर्षयता सबैभन्दा कम स्तरमा रहेको त्यहाँका विज्ञहरू बताउँदछन् । भारतमा ‘प्रधानमन्त्री अन्न कल्याण योजना’ अन्तरगत सरकारले ८० करोड मानिसलाई प्रतिसाता पाँच किलो गहुँ÷चामल निःशुल्क दिइने गर्छ । तर, भारतमा यस वर्ष गहुँको उत्पादन १११० लाख टनमात्र हुन गयो । यो पूर्वानुमानभन्दा पाँच प्रतिशत कम भएको बताइएको छ ।

त्यसले गर्दा निर्यातमाथि प्रतिबन्ध नलगाउँदा सरकारका लागि देशमा गहुँको माग पूर्ति गर्न कठिनाई उत्पन्न हुने नै भयो । तर, भारतको यस प्रतिबन्धले गर्दा कयौं खाद्य संकटसँग जुधिरहेका देशहरूलाई चिन्ताग्रस्त तुल्याएको छ । जी-७ को जर्मनीमा भएको बैठकमा अमेरिकी कृषि सचिवले के भनेका थिए भने भारतले गहुँको आपूर्तिमा प्रतिबन्ध लगाइराखेको छ जबकि विश्व बजारमा गहुँको माग बढिरहेको छ । आवश्यक परेका देशहरूलाई सामान पुर्‍याउन भारतले सहयोग गर्नु पर्दछ, प्रतिबन्ध लगाउने होइन । भारतको निर्णयलाई गलत समयमा लिइएको गलत निर्णय भन्ने संज्ञा दिइएको छ । विश्वका एक दर्जन देशहरूले भारतसँग गहुँ किन्ने अनुरोध गरेका छन् ।

गहुँ निर्यातमा भारतको प्रतिबन्ध हुँदाहुँदै पनि भारतले पूर्णप्रतिबन्ध लगाएर गहुँ निर्यात रोक्ने नीति छैन भन्दैछ । यो निर्यात खुकुलो पार्ने कुरा विशेषतः छिमेकी देशहरूको स्थितिलाई ध्यानमा राखेर गरिएको पनि बताइँदैछ । ज्ञात होस्, कि भारतमा एक समय यस्तो थियो यो खाद्यान्न गहुँका लागि अमेरिकामाथि निकै समयका लागि पूर्ण निर्भर थियो । त्यतिबेला भारतलाई अमेरिकामा गहुँको भिख माग्ने देश भनेर संज्ञा दिइएको थियो । हुन पनि बितेको १९६० को मध्यतिरका वर्षमा भारतले अमेरिकासँग गहुँ मगाउनु परेको थियो । किनकि त्यतिबेला भारतभित्र गहुँको उत्पादन मागको तुलनामा धेरै नै कम थियो र त्यहाँ खाद्य संकट उत्पन्न भइरहेको थियो ।

त्यसै बेला भारतमाथि पाकिस्तानले हमला गरिदिएको थियो । त्यतिबेला भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री थिए । अमेरिकाले भारतलाई गहुँ दिन मानिरहेको थिएन । भारतमा निकै ठूलो संकट पैदा भएको थियो । शास्त्रीजीले त्यति बेलै ‘जय जवान, जय किसान’ भन्ने नारा पनि दिएका हुन् र भारतवासीको नाममा एक अपिल पनि गरेका हुन् कि हप्तामा एक दिन उपवास राखौं । यसमा पूरा भारत शास्त्रीको आहृवानसँग सहमत थियो । युद्धमा पनि भारतको विजय भएको थियो । त्यतिबेला भारतको सेनाले पाकिस्तानको लाहोरसम्म कब्जा जमाइसकेको थियो । भनिन्छ, त्यतिबेला भारतको मनशाय पाकिस्तानको भूमि कब्जा गर्नु थिएन ।

बढ्दो अन्तर्राष्ट्रिय दबाबले गर्दा पाकिस्तानसँग रुसको ताशकन्दमा भारतको वार्ता भयो, त्यतिबेलै लालबहादुर शास्त्रीको त्यहीँ सन्दिग्ध देहावसान भयो । अनि इन्दिरा गान्धी भारतको प्रधानमन्त्री बनिन् र उनले अमेरिकाको भ्रमण गरिन् । अनि खाद्य संकटलाई टार्नका लागि अमेरिकासँग गहुँको माग गरिन् । अमेरिकाले पूरै एक वर्षका लागि गहुँ दिनको साटो प्रतिमहिना पब्लिक लोन ४८० अन्तर्गत गहुँ आपूर्ति गर्न सुरु गरेको थियो । यसलाई पिएल ४८० सहयोग भन्ने गरिन्थ्यो । भारतका सन्दर्भमा त्यतिबेला अमेरिकी सरकार र सञ्चारमाध्यमले जस्तो बयानबाजी चलाएका थिए त्यो अत्यन्तै अशोभनीय र अमर्यादित मानिन्थ्यो ।

भारतका लागि के भनिन्थ्यो भने भारतका मानिस संसारको तौरतरिकाबाट बेखबर छन्, केही जान्दैनन्, उनीहरूलाई खेतीपाती गर्न पनि आउँदैन । भारतीयहरूलाई खेतीपाती सिक्न अमेरिका पठाउन सकिन्छ । त्यति मात्रै होइन, अमेरिकाको कृषि विभागले त त्यतिबेला आफ्नो एउटा प्रतिवेदनमा केसम्म भनेको थियो भने ‘हिन्दुस्तान भिखारी र निराश्रितहरूको देश’ हो । यद्यपि भारतका लागि तत्कालीन अमेरिकी राजदूतले भने त्यो कुराको निन्दा र खण्डन गरेका थिए । हुन पनि भारत अन्न र अन्य कृषीजन्य पदार्थ निर्यातमा विश्व बजारमा अहिले पनि त्यस्तो ठूलो खेलाडी होइन तर विस्तारै यस दिशामा भारतको पहुँच बढ्न थालेको भने देखिँदै आएको छ ।

यतिबेला कृषीजन्य पदार्थहरूको विश्व बजारमा भारत २.१ प्रतिशतको सहभागी रहेको छ । सन् २०१८ मा मात्र भारतले पहिलो पटक कृषि निर्यात नीति (एइपी) को घोषणा गरेको थियो । यसको उद्देश्य कृषीजन्य पदार्थहरूको निर्यात क्षमतामा तीव्र वृद्धि गर्ने नीति र संस्थागत व्यवस्था गर्नु थियो । जसबाट किसानको आयमा वृद्धि होस्, राज्य सरकारलाई प्रभावकारी ढंगले यस नीतिमा संलग्न हुन आहृवान पनि गरिएको थियो ।

यसमा क्लष्टर विकास योजनाहरू पनि बनाइए, जसमा विभिन्न कृषीजन्य पदार्थका लागि शहर/राज्यलाई छानिएको थियो । जस्तो कि वनारसलाई ताजा सब्जी बजारका लागि, नागपुरलाई सुन्तोलाका लागि, लखनउलाई आँपका लागि, गुजरातलाई केराका लागि, महाराष्ट्रलाई प्याजका लागि आदि इत्यादि । यो क्लष्टर विकासको नीति निकै राम्रो सावित पनि भयो । कृषि निर्यात वृद्धि पनि भयो । यसमा कुनै सन्देह रहेन । यतिबेला भारतका कृषि पदार्थमा सबैभन्दा बढी निर्यात बासमती चामलको हुने गरेको तथ्यांक छ । यद्यपि भारतीय बासमती चामलको पनि भारतमा निकै ठूलो माग रहेको बताइन्छ ।

अहिले एकाएक गहुँको माग वृद्धि हुनु रुस-युक्रेन युद्धका कारणले हो । अहिले भारतको प्रशोधित खाद्य पदार्थको माग तीव्र गतिले बढिरहेको छ । मकै, बदाम, मेवा, मसलाहरू, फलफूलको जुस आदिको निर्यात पनि भारतबाट निरन्तर बढिरहेको छ । यस्ता कृषि र कृषीजन्य पदार्थहरूको भारतबाट माग हुने देशहरूमा साउदी अरब, इरान, इराक, यमन, युएई, नेपाल, बंगलादेश, हङ्कङ, भियतनाम, मलेशिया, इजिप्ट, इन्डोनेशियालगायत कतिपय अफ्रिकी देश छन् । भारतका किसान अब विश्वको अन्नदाता बन्ने बाटोमा अग्रसर छन् तर त्यहाँको कृषि र उद्योगमा उत्पन्न भएको र कायम रहेको असमानताले गर्दा यसमा तलमाथि पर्ने कुरा सँगसँगै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?