डा. नारायणप्रसाद निरौला
लग्न भनेको कुनै एक समय हो । जुनसुकै समयको पनि लग्न हुने गर्दछ । शाब्दिक रूपमा लाग्ने अर्थ प्रदान गर्ने ‘लग्’ धातुमा ‘क्त’ प्रत्यय लागेर (शब्दकल्पद्रुम) लग्न शब्दको निर्माण हुन्छ । ज्योतिष शास्त्रमा लग्नको विशेष अर्थ लाग्ने गर्दछ । जुनसुकै समयमा कुनै न कुनै लग्न भइरहेको हुन्छ । यो आकाशमण्डललाई ३६० अंशको परिवृत्तमा परिकल्पना गरिएको छ । जहाँ सूर्यले एक वर्षमा एक फन्को लगाउने गर्दछन् । यसरी लाग्ने एक चक्रलाई १२ भागमा राशिका रूपमा विभक्त गरिएको छ । जसलाई भचक्र भनिन्छ । सूर्यादि ग्रह आफ्नो गतिअनुसार पूर्वगतिले हिँड्छन् भने भचक्रसहित सम्पूर्ण ग्रह नक्षत्रचक्रलाई प्रवह नामको वायुले पश्चिमाभिमुखी (घडीको दिशातर्फ) बनाएर दिनमा एक फन्को घुमाइरहेको हुन्छ ।
यो घुम्ने क्रम निरन्तर चलिरहन्छ । भचक्र प्रत्येक दिन एक भगण घुम्ने गर्दछ । अर्थात् भचक्र एक दिनमा एक फन्को घुम्दा १२ राशिका लग्न हुने गर्दछन् । जसरी घडी घुम्दा १२ वटा बिन्दु एक अहोरात्रमा दुईपटक घण्टासुईले परिक्रमा गर्छ त्यसैगरी दिनमा राशि नक्षत्रसहितको भचक्रले एक दिनमा एक फन्को घुम्ने गर्दछ । यसरी घुम्दै गर्दा हामीलाई चाहिएको समयमा कुन राशिको प्रदेश हाम्रो उदय क्षितिजमा रहन्छ सोही राशिको लग्न हुने गर्दछ । यही लग्नलाई लगन भनेर पनि बुझ्ने गरिन्छ ।
राशि र नक्षत्रसहितको आकाशीय वृत्तलाई क्रान्तिवृत्त भनिन्छ । जसलाई सूर्य हिँड्ने वृत्त वा बाटो पनि भनिन्छ । सोही वृत्तको जुन प्रदेश हाम्रो पूर्वी क्षितिजमा लाग्छ त्यही लागेको राशिको बिन्दु नै लग्नको आरम्भ केन्द्र हो । त्यही बिन्दुस्थान भएको राशिको नै लग्न हुने गर्दछ । जसलाई प्रथमलग्न भनिन्छ । फलादेशमा प्रथमलग्नको विशेष महत्व रहने गर्दछ । यसबाट नै ग्रहको कोणीय अवस्थिति अनुरूपका अन्य कुण्डली पनि बन्ने गर्दछन् । लग्न एक मापक आधार पनि हो । जसका माध्यमबाट हामी जन्मेको स्थान र सो स्थानबाट आकाशमा रहेका ग्रहहको कोणीय मान तय गर्छौ र शुभाशुभ फलादेश पनि गर्दछौँ ।
‘यत्र लग्नमपमण्डलं कुजे तद्गृहाद्यमिह लग्नमुच्यते । प्राचि पश्चिमकुजेऽस्तलग्नकं मध्यलग्नमिति दक्षिणोत्तरे ।।’ (भास्कराचार्य, सिद्धान्तशिरोमणि, गोलाध्यायः, त्रिप्रश्नवासना, श्लो. २५) अर्थात् जहाँ क्षितिज र क्रान्तिवृत्त मिल्छन् त्यो बिन्दु उक्त स्थानको लग्न हुन्छ । पूर्वक्षितिजमा क्रान्तिवृत्तको (सूर्य हिँड्ने बाटोको) जुन भाग लाग्छ त्यो उदय वा प्रथमलग्न हुन्छ । उक्त अवस्थामा अस्त क्षितिजमा लागेको क्रान्तिवृत्तको भाग वा राशि अस्त वा सप्तमलग्न हुन्छ । लग्न र सप्तमलग्नको अन्तर १८० अंशको हुने गर्दछ । सोही अवस्थामा याम्योत्तर (दक्षिणउत्तर) वृत्तमा क्रान्तिवृत्तको जुन प्रदेश रहन्छ त्यो मध्यलग्न अर्थात् चतुर्थ र दशमलग्न हुन्छ । यही प्रथम लग्नको समयका आधारमा व्रतबन्धको मन्त्रदान, विवाहको कन्यादान र चिनाको लग्नकुण्डली निर्माण गरिन्छ ।
लग्नको निर्धारणमा सूर्यको प्रमुख स्थान रहन्छ । स्पष्ट सूर्यकै आधारमा लग्न निर्धारण गरिन्छ । जुन राशिमा सूर्य छन् त्यो महिनाभरि बिहानको सूर्योदय कालमा त्यही राशिको लग्न हुन्छ । जस्तो कि वैशाख महिनामा सूर्योदयकालमा सधैँ मेष लग्न नै हुने गर्दछ । जति-जति दिन बित्दै वा अंश सकिँदै जान्छन् त्यति त्यति लग्न परिवर्तन हुने समय पनि घट्दै जाने गर्दछ । यसैगरी जेठ महिनाको सूर्योदयकालमा वृष लग्न, असार महिनाको सूर्योदयकालमा मिथुन लग्न एवं क्रमले चैत्र महिनाको सूर्योदयकालमा मीन लग्न हुन्छ । यस्तो हुनुको कारण भचक्र (राशि एवं नक्षत्र कक्षासहितको चक्र) लाई नित्य प्रवह वायुबेगले पश्चि दिशातर्फ घुमाउने भएर हो ।
जन्म समयका आधारमा लग्न निर्धारण गरी ग्रहको अवस्थितिअनुसार व्यक्तिको शुभाशुभ फलादेश हुने गर्दछ । राशि, होरा, नवमांश, द्रेष्काण, द्वादशांश, त्रिंशांशका साथै षोडशवर्ग कुण्डली साधन पनि यही लग्न कालकै आधारमा तयार गरिन्छ ।
हरेक कार्य शुभ लग्नमा गर्नुपर्दछ भन्ने शास्त्रीय मान्यता रहेको छ । कार्यअनुसार शुभाशुभ लग्नको विवेचना गरी उक्त लग्न समयमा ग्रहको अवस्थितिलाई हेरेर शुभ समय (लग्न) को निर्धारण गरिन्छ । यसरी लग्न बिन्दु कुन राशिको कति अंशमा परको छ सोही स्थान लग्नको आरम्भ बिन्दुबाट १२ वटा राशिको निर्धारण गरी एक चक्रका रूपमा लग्नकुण्डलीको निर्माण गरिन्छ । जुन कुण्डलीले आकाशको सम्पूर्ण कोणीय अवस्थितिलाई दर्शाइरहेको हुन्छ । यसरी प्राप्त हुने चक्रीय रूप नै वर्तमानको १२ कोठायुक्त कुण्डली हो । यसरी १२ वटा राशि निर्धारण गर्नुका पछाडि सूर्यका १२ रश्मि रहेको र सूर्यले वर्षदिनमा ३६० डिग्रीको एक चक्र पार गर्ने कारण अन्तर्निहित रहेका छन् ।
पौरस्त्य मान्यताअनुसार पृथ्वी स्थिर छ र आकाशमा रहेका ग्रह र ग्रहमण्डल चलायमान छन् । यसरी चल्ने क्रममा सम्पूर्ण ग्रह नक्षत्रचक्रलाई प्रवह नामको वायुले नित्य पश्चिमाभिमुखी बनाएर दिनमा एक फन्को घुमाइरहेको हुन्छ भने ग्रह स्वयंको गति रहेकाले आफ्नो गतिअनुसार पूर्वाभिमुख भएर नित्य हिँडिरेहका हुन्छन् । आधुनिक मतमा भने सूर्य स्थिर र पृथ्वी गतिमान छन् । दुव ै मतले एउटै उत्तर दिन्छन् । आकाशमा रहने राशि एवं नक्षत्रसहितको परिकल्पित चक्र छ जसलाई क्रान्तिवृत्त भनिन्छ । जहाँ सूर्य नित्य परिभ्रमण गरिरहेको हामीले देख्न सक्दछौँ । आधुनिक मतमा पृथ्वी हिँड्ने बाटोलाई लिन सकिन्छ ।
यसरी राशियुक्त १२ वटा कोठाको निर्धारण गरिसकेपछि कुन राशिको क्षेत्रअन्तर्गत कुन ग्रह हिँडिरहेका छन् भन्ने कुराको ज्ञान सर्वप्रथम गणितबाट गरिन्छ । यसपछि आकाशमा तत् स्थानमा ग्रह छन् वा छैनन् भन्ने कुराको निक्र्योल गरिन्छ । यसरी ग्रह कुन राशिको कति अंश, कला विकलामा छन् सो पत्ता लगाएर सम्बन्धित राशिको स्थानमा उल्लेख गरिन्छ । यसरी ग्रह उल्लेख गर्नुको पछाडि पनि हाम्रो जन्मस्थान वा शुभकार्य सम्पादन गरिने स्थानबाट आकाशमा रहेका ग्रहहरूको कोणीय अन्तर नै उल्लेख रहेको हुन्छ । अर्थात् भनौँ हाम्रो जन्मसमयमा हाम्रो जन्मस्थान वा कर्मस्थानबाट कति कोणीय अन्तरमा ग्रह छन् सोको अवस्थिति अंकन नै लग्नकुण्डलीमा गरिएको हुन्छ ।
यही लग्न एवं स्पष्ट ग्रहका आधारमा हाम्रा जन्मपत्रिका (चिना) तयार हुने गर्दछन् । जन्म समयका आधारमा लग्न निर्धारण गरी ग्रहको अवस्थितिअनुसार व्यक्तिको शुभाशुभ फलादेश हुने गर्दछ । राशि, होरा, नवमांश, द्रेष्काण, द्वादशांश, त्रिंशांशका साथै षोडशवर्ग कुण्डली साधन पनि यही लग्न कालकै आधारमा तयार गरिन्छ । यसमा पनि प्रथमलग्न वा उदयलग्न नै चिनाको केन्द्रबिन्दुमा रहन्छ । उक्त लग्नकुण्डलीमा भएका ग्रहहरूको अवस्थिति विश्लेषण गरी शुभाशुभ फलको आदेश गरिन्छ । यसका साथै कुन ग्रहको समय कति कालसम्म कस्तो अवस्थामा रहन्छ भन्ने कुराको चित्रण पनि चिनामा उल्लेख हुन्छ । यसैका आधारमा हाम्रा यावत् कुराको विश्लेषण गरिन्छ ।
यसैगरी हाम्रा षोडशसंस्कारका अधिक्तम कार्य शुभ लग्नमा गर्नुपर्ने विधान शास्त्रमा बताइएको छ । किनकि शुभ सयमा गरिएको कार्य शुभ फलदायी रहन्छन् । व्रतबन्ध, विवाह आदिको शुभ लग्न निर्धारण गर्नुको कारण पनि जीवनमा सफलता प्राप्तिका निम्ति नै हो । शुभ समयमा गरिएको उपनयन एवं विवाह संस्कारले उक्त व्यक्तिमा सकारात्मक ऊर्जाको प्रवाह हुने गर्दछ । हरेक कार्य गर्ने उचित समय हुन्छ । सही समयमा गरिएको कार्यले जीवन सफल रहन्छ भने खराब समयमा गरिएको कार्यको फल पनि खराब नै रहने गर्दछ । यसैले उत्तम समय शुभ कार्यका निम्ति अपेक्षित हुन्छ ।
यसरी उचित समयको निर्धारण गरेर नै पात्रोमा पनि मुहूत्र्त दिने गरिन्छ । यसरी दिने समयमा शुभ लग्न अपेक्षित रहन्छ । जन्मपत्रिको (चिना) भने जुन समयमा जन्म भएको छ सोही लग्न एवं अवस्थिति नै उक्त पत्रिकामा निर्धारित हुन्छ । उक्त समयमा जुन लग्न र उक्त लग्नस्थानबाट जे जस्तो ग्रहको अवस्थिति छ सोही नै उल्लेख गरिएको हुन्छ । यसरी काम्य कर्म गर्दा शुभ लग्नमा गर्दा शुभ फल मिल्ने भएकाले पनि लगन जुराएर संस्कारका कार्य सम्पादन गर्नुपर्दछ । शास्त्रले उचित नभनेका समयमा (लग्नमा) गरिएका कार्य निरर्थक रहने भएकाले उपयुक्त लग्नमा नै हाम्रा संस्कारका कार्य सम्पादन गर्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच