पनेरुका चार कृति एकसाथ लोकार्पण

Read Time = 5 mins

काठमाडौं । फिचर चलचित्रको लम्बाइमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’का निर्माता मणि नेपाली पनेरुद्वारा लिखित चार कृति लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक कार्यक्रममा उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झण्डा’, गीति संग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको हो ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनेरुको चारवटै कृतिको एकसाथ लोकापर्ण गर्नुभयो । पुस्तक लोकापर्णपछि मन्त्री कार्कीले सात समुद्र पारी बसेर पनि मणि नेपाली पनेरुले नेपाली कला, साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । कला, साहित्यले नै संसारभर नेपाललाई चिनाउने उहाँँको भनाइ थियो ।

नेपाल विश्व सहयोग संघ र सौरपानी मिडियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानित गरियो । साहित्यकार तथा प्राध्यापक डा.रामप्रसाद ज्ञवाली, समाजसेवी कैलाशकुमार पनेरु, कलाकार मोहन निरौला, चलचित्र पत्रकार जीवन पराजुली, निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, नेपाल शिक्षक संघका राजेन्द्रराज पौडेल, गायक पूर्ण नेपाली, मोडल श्रेया कार्की, कलाकार अभिनास न्यौपानेलगायतलाई मन्त्री कार्कीले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को सार्वजनिक ट्रेलरमा जातीय विभेदको दर्दनाक पाटोलाई देखाइएको छ । चलचित्रका अभिनेता अभिनास न्यौपाने र अभिनेत्री श्रेया कार्कीबीचको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । सौरपानी मिडिया प्रालिको व्यानरमा निर्माण भएको चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएको हो । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर चलचित्र निर्माण भएको हो ।
चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको अभिनय छ । चलचित्रको ट्रेलर इन्टरनेटमा भने केही समयपछि रिलिज गरिने निर्देशक पाण्डेले बताउनुभयो । क्यानडाका लागि नेपाली सांस्कृतिक दूतसमेत रहेका पूर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुनलगायत गायक गायिकाहरूको स्वर छ ।

‘मानिस ठूलो दिलले हुन्छ’ को कथा तथा शब्द रचना निर्माता पनेरु स्वयंको हो । चलचित्रमा कृष्ण पुनको ब्याकग्राउण्ड स्कोर, वसन्त गोर्खाली प्रोडक्सन म्यानेजर, जीवन पराजुली मिडिया को–अर्डिनेटर, साहिल खानको ट्रेलर, देवेन्द्र पाण्डेको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । चलचित्रको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?