बेसहारा, अनाथ र मानसिक बिरामीहरूको सहारा बनेको अभियान नेपाल आफैँ सहारा खोज्दै

हिमालय टाइम्स
Read Time = 9 mins

-रामचन्द्र रायमाझी

पाल्पा । दातृ निकायहरूको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे/अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको सहारा बन्दै आएको अभियान नेपाल यतिबेला आफैं बेसहाराजस्तै भएको छ । बेवारिसे, अनाथ र मानसिक सन्तुलन गुमाएकाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएपछि संस्थालाई व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।

विगतमा सहयोग र समन्वय गर्ने गरी साझेदारी गरेका केही संस्थाहरूबाट नै सहयोग नभएपछि व्यवस्थापनमा समस्या हुँदै गएको हो । कयौँ बेवारिसे, अनाथ बालबालिका र व्यक्तिहरूको उद्धार गरिसकेको अभियान नेपालमा अहिले कहीँ–कतैबाट पनि सहयोग नभएपछि बेसहाराजस्तै बनेको हो ।

सडकमा बेवारिसे अवस्थामा रहेकाहरूको उद्धार गर्ने गरी दुई दशकअघि स्थानीय केही प्रभुत्व व्यक्तिहरूले अभियान नेपाल नामक संस्था स्थापना गरेर २०६१ देखि विधिवत्रूपमा काम गर्दै आएका थिए । अभियान नेपालले अनाथ बालबालिका र मानसिक बिरामीहरूको छुट्टाछुट्टै व्यवस्थापन गर्दै आएको छ ।

उसले अनाथ, बेवारिसे बालबालिकाहरूका लागि सिलोम आवासीय बालगृह र मानसिक बिरामीका लागि नवजीवन पुनस्र्थापना केन्द्रमा राखेर व्यवस्थापन गर्दै आएको छ । सुरुमा सिलोम आवासीय बालगृहमा रहेका बालबालिकाहरूका लागि मिसन अस्पतालका तत्कालीन निर्देशक डा. डिग्वे हिलले सहयोग गरे पनि पुनस्र्थापना केन्द्रका लागि भने केही दातृ संस्थाहरूले सहयोग गर्ने गरी अभियान नेपाल अगाडि बढेको थियो । तत्कालीन समयमा बेवारिसे, अनाथ र मानसिक बिरामीहरूको संख्या न्यून भए पनि अहिले भने धेरै नै रहेका छन् ।

मानव सेवामा सक्रिय रहेको अभियान नेपालसँग तानसेन नगर सरकार, तत्कालीन जिल्ला विकास समिति (जिल्ला समन्वय समिति) र युनाइटेड मिसन अस्पतालले साझेदारी गर्ने गरी नवजीवन पुनस्र्थापना केन्द्र सञ्चालन गरिएको थियो । सुरुका दिनमा यिनीहरूबाट केही सहयोग भए पनि अहिले तानसेन नगर सरकार र जिल्ला समन्वय समितिले भने चासो देखाएका छैनन् । जसका कारण संस्थाले व्यवस्थापन गर्न सहारा खोजेको छ ।

अहिले युनाइटेड मिसन अस्पतालले सहयोग गर्दै आए पनि अनाथ बालबालिका र मानसिक बिरामीहरूको संख्या धेरै भएकाले समस्या उत्पन्न भएको नेपालका अध्यक्ष पुननारायण श्रेष्ठले बताउनुभयो । अभियान नेपालले बेवारिसे, अनाथ बाबालिकाहरूको पठन-पाठनसँगै लालनपालन र मानसिक बिरामीहरूको स्वास्थ्य उपचार गर्दै आएको छ ।

अहिले १९ जना अनाथ, बेवारिसे बालबालिका र १० जना मानसिक बिरामीहरूको व्यवस्थापन गर्दै आएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता व्यक्तिहरूको संख्या बढ्दै गएको छ, आर्थिक अभावका कारण उनीहरूको पालनपोषण, शिक्षा र स्वास्थ्यको व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।’ नेपालले यहाँ रहेका बालबालिकाहरूलाई शिक्षासमेत प्रदान गर्दै आएको छ । धुर्वघाटमा आफ्नै भवन निर्माण गरी नेपालले बालबालिकाहरूको संरक्षण गर्दै आएको हो ।

तानसेन बौघा गुम्बाकी पवित्रा राना विगत १४ वर्षदेखि यसै संस्थाको संरक्षणमा रहँदै आउनुभएको छ । उहाँ हाल दमकडा माविमा आइटी इन्जिनियरिङ विषयमा अध्ययन गर्दै आउनुभएको छ । भविष्यमा उहाँले आफूजस्तै बेसहारा बालबालिकाको उद्धारमा लाग्ने उद्देश्य राखेको बताउनुभयो । उहाँजस्ता यहाँ १९ जना बालबालिकाहरू रहेका छन् । उनीहरू सेन कपितानियो र भूषलडाँडा माविमा अध्ययन गर्दै आएका छन् ।

विभिन्न कारणले अनाथ जीवन गुजारिरहेका बराङ्दीकी प्रेरणा भण्डारी, नवलपुरकी मति सारु र रिब्दीकोटकी सलिना मल्लले आफूहरूले नयाँ जीवन पाएको भन्दै भविष्यमा राम्रोसँग अध्ययन गरी सामाजिक सेवामा लाग्ने बताए । सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाहरूको उद्धार गरी उनीहरूको शिक्षादीक्षा र पालनपोषणमा सहयोग भएपछि अनुशासनसँगै पढाइमा अब्बल बन्दै गएको संस्थाकी कर्मचारी अम्बिका सारु बताउनुहन्छ ।

बालबालिकाको पालनपोषण र रेखदेख गर्दै आउनुभएकी इन्दिरा बुचा आफ्नै भाइबहिनीहरूका रूपमा सेवा गर्न पाएकोमा उत्साहित हुनुहुन्छ । अभियान नेपालले मानसिक बिरामीहरूका लागि भने तानसेन–६ सन्ढापमा रहेको आफ्नै भवनमा राखेर व्यवस्थापन मिलाएको छ । उसले मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे अवस्थामा रहेका र आर्थिक अभावमा उपचार नपाएका असहाय, असशक्तहरूको व्यवस्थापन गर्दै आएको छ । यहाँ अहिले १० जना बिरामीहरूको उपचार र संरक्षण हुँदै आएको छ ।

तर, आर्थिक अभावका कारण उनीहरूको व्यवस्थापनमा भने अहिले समस्या भएको छ । संस्था बेसहारा बने पनि बेसहाराको उद्धारमा भने विचलित भएको छैन । उसले संस्थामा रहेकाहरूको संरक्षण, औषधि उपचार र दैनिक व्यवस्थापनमा सहयोगी हातहरू खुम्चिन लागेपछि व्यावसायिकरूपमा पशुपालन र तरकारी खेती सञ्चालन गरेको छ । सहयोगी हातहरू नभएपछि व्यावसायिक कृषिमार्फत् आम्दानीको स्रोत खोजी गरिएको संस्थाका उपाध्यक्ष डिलबहादुर ढुंगनाले बताउनुभयो ।

तानसेनका सडकमा विगत लामो समयदेखि मानसिक सन्तुलन गुमाएर हिँड्ने साइला दाइदेखि वीरगञ्जका हजारी महतोजस्ता ३३ जनाको संस्थाले उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये अधिकांशलाई संस्थाले घरपरिवारसँग पुनर्मिलन गराइदिएको छ भने केहीलाई प्रहरीको सहयोगमा मानव सेवाश्रममा पठाएको छ । बेवारिसे भएकाहरूको उद्धार गरी घर पठाउन पाउँदा आफूहरूलाई अत्यन्त खुसी लाग्ने गरेको सोलुखुम्बु घर भई विगत पाँच वर्षदेखि संस्थामा कार्यरत इन्चार्ज फुलु राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ अनाथ बालबालिका र मानसिक बिरामीका व्यक्ति बढ्दै जाँदा आर्थिक अभावमा व्यवस्थापनमा समस्या हुँदै गएको छ ।’ स्थानीय सरकार सहाराविहीनहरूको सहारा बन्नुपर्ने हो ।

तर, विडम्बना न मानवसेवामा लागेका संस्थालाई कुनै सहयोग गरेका छन् न त सहाराविहीनहरूको सहारा नै बन्न सकेका छन् । उनीहरूको कुशल अभिभावकको दायित्व निर्वाह गर्नुपर्ने स्थानीय सरकार उनीहरूप्रति मौन देखिने गरेको पत्रकार प्रकाश नेपालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘सरकार पहुँचावाला व्यक्तिका लागि मात्रै हो जस्तो छ । सहाराविहीन दुखी गरिबका लागि सरकार छैन । यो विडम्बना हो ।’ मौलिक अधिकारको रक्षा गर्ने कुरामा स्थानीय सरकार संवेदनशील बन्नुपर्ने नेपाल बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?