मिटरव्याजीविरुद्ध उजुरी दिन कार्यदलको आहृवान

फाइल तस्वीर

Read Time = 3 mins

काठमाडौं । सरकारले मिटरव्याजीविरुद्ध स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आहृवान गरेको छ । मिटरव्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरव्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले एक सूचना जारी गर्दैै आगामी भदौ ५ गतेभित्रमा प्रमाणसहित उजुरी दर्ता गर्न आहृवान गरेको हो ।

मुलुकभर नै मिटरव्याजीको जालो फैलिएको हुनसक्ने अवस्था मध्यनजर गरी मिटरव्याजपीडितबाट त्यस्ता मिटरव्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्ना जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालद्वारा जारी सूचनामा उल्लेख छ । मिटरव्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारोमा रहेका व्यक्तिमाथि गरेको शोषण शृंखलाले सयौँ परिवारको बिचल्ली भएको समाचार सार्वजनिक भइरहेका र त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कार्यदल गठन भएको एक घण्टाभित्रैमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भई काठमाडौं माइतीघर मण्डलामा धर्ना दिँदै आएका मिटरव्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समितिसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले वार्तासमेत गरिसकेको जनाएको छ ।

गृह मन्त्रालयले शुक्रबार मन्त्रालयका सहसचिव डा. भुसालको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेको कर्यदल गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?