जनैपूर्णिमापछिका तरंगहरू

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 14 mins

साउन २७ गते जनैपूर्णिमा थियो । २६ गते नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक श्याम खनालले फेसबुकमा आफ्नो तस्वीर पोस्ट गरे । उनले कपाल खौरिएक थिए र क्याप्सनमा लेखिएको थियो-जनैपूर्णिमाको तयारी । शास्त्रसम्मत विधिले पूर्णिमा मनाउने तयारीमा रहेको देखाउँदै समाजलाई सचेत गराउने प्रयास उनले गरे तर यति गर्दागर्दै उनले के बिर्से भने ऋषितर्पणीको अघिल्लो दिन कपाल खौरने, दाह्री, नङ आदि काट्ने र चोखो एक छाक खाएर बस्नुपर्दछ भन्ने कुराको ज्ञान नभएकाहरूको एउटा ठूलो पुस्ता तयार भइसकेको छ । उनको क्याप्सनमा विस्तृतरूपमा लेखिदिएको भए हुने थियो जस्तो लागेको छ ।

एउटा पुस्ता छ- जसलाई सबै कुरा थाहा छ तर शास्त्रसम्मत जीवनशैली बिताउन किमार्थ तयार छैन । हाम्रा संस्कारहरूको पालनालाई झन्झटका रूपमा लिन्छ । जो संस्कारमा प्रतिबद्ध छ उसलाई रूढीवादी, अन्धविश्वासी, परम्परावादी, विकासविरोधी, पश्चगामी आदिको संज्ञा दिन पनि पछि नपर्ने एउटा ठूलै जमात हाम्रा वरपर भेटिन्छन् । अर्को पुस्ता पनि छ, जो शास्त्रले बताएका मार्गहरूका बारेमा अनभिज्ञ भएका कारण तदनुरूपका प्रक्रियाहरू अवलम्बन गर्न पछि पर्दै आएको छ । यस्तो समुदाय भने ज्यादै सानो संख्यामा छ । यस्ताहरूका लागि श्याम जस्ता विज्ञहरूले विस्तृतमा बताउने गरे हाम्रा परम्पराहरू जीवितै रहिरहन्थे भन्ने आशा गर्न सकिन्छ ।

नेपालमा राखी बाँध्ने तीन थरीका मानिसहरू छन् । एक थरी नेपालकै आदिवासी सरहका मधेसका मित्रहरू छन् । अर्कोथरी छिमेकबाट उपहारस्वरूप नेपालीले पाएका राखी बाँधी रक्षाबन्धन मनाउनेहरू छन् भने यिनैको प्रचलनलाई नक्कल गर्दै आफूलाई सभ्य नागरिकका रूपमा प्रस्तुत गर्नेहरू अर्कैखाले छन् ।

संस्कृत सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गरेर केही वर्ष प्राध्यापन गरी विदेश पलायन भएका अर्का मित्र मोदनाथ खनालको त्यस्तै मर्मस्पर्शी टिप्पणी फेसबुक वालमा पढ्ने अवसर मिल्यो । उनले लेखेका थिए- ‘रक्षाबन्धनलाई राखी भन्दै शुभकामना नआइदिए हुन्थ्यो, अनि दीपावलीलाई दिवाली भनेर शुभकामना लिन नपरे हुन्थ्यो’ । हाम्रा संस्कृतिहरूमाथि आक्रण हुने क्रम बढिरहेको र त्यसको रक्षार्थ हामी सजग हुनुपर्दछ भन्ने भावको यो सन्देशलाई सबैले मनन गर्दा राम्रै हुने देखिन्छ । आफ्नैमा रमाऔँ, आफ्नैको संरक्षण गरौँ भन्ने मित्र मोदनाथको आशय देखियो ।

यो पढ्दा साह्रै नै मन छोयो तर विद्वान् मित्रले पोस्ट गर्दा एउटा कुरा भने बिर्से जस्तो लाग्यो । नेपालमा राखी बाँध्ने तीन थरीका मानिसहरूको बसोबास रहेको छ । एकथरी पुस्तौनी रूपमा नेपालमै बसेका नेपालकै आदिवासी शरहका मधेसका मित्रहरू छन् । अर्कोथरी छिमेकबाट उपहारस्वरूप नेपालीले पाएका राखी बाँधी रक्षाबन्धन मनाउनेहरू छन् भने यिनैको प्रचलनलाई नक्कल गर्दै आफूलाई सभ्य नागरिकका रूपमा प्रस्तुत गर्नेहरू अर्कैखाले छन् । जो सक्कली नेपालीहरू मधेसमा बसेका छन् र तिनले शुभकामना दिएका छन् भने त्यसलाई चाहिँ हामीले स्वीकार गर्न सक्नुपर्दछ जस्तो लाग्दछ र ती मित्रहरूलाई शुभकामना दिनु पनि पर्दछ ।

यही प्रसंगमा वाल्मीकि क्याम्पसका एक प्राध्यापकले कुरा उठाए । उनका अनुसार १२ कक्षा पार गरिसक्दा नसक्दै हामी छोराछोरी अमेरिका, बेलायत, अष्ट्रेलिया आदि मुलुक पठाउन हतारिन्छौँँ । ती सन्ततिले पठाएको डलर खल्तीमा हाल्न पाउँदा रमाउँछौँ । जति धेरै डलर आयो हामी त्यति नै बढी खुशी हुुन्छौँ । के अमेरिकाबाट डलरमात्रै आउँछ त ? त्यो डलरसँगै त्यहाँको संस्कृति पनि हामीकहाँ प्रवेश गर्दछ भन्ने ख्याल गर्नु पर्दैन ? त्यसैले जन्मदिनमा केक काट्ने कुरालाई म त सामान्य रूपमा लिन्छु । त्यसैले जनैपूर्णिमामा दिदीबहिनीहरू राखी बोकेर आए, मैले त लगाएँ भन्दै थिए ।

दिदीबहिनी आइसकेपछि यदि नलगाऊँ भने दक्षिणा दिन लोभ गरेजस्तो हुने, लगाऊँ भने आफ्नो संस्कृति होइन । दोधारमै रहे पनि राखी बाँधियो भनी सगर्व भन्दै थिए तर उनले यो हाम्रो संस्कृति होइन भन्दै पञ्छाउन सकेको भए राम्रै हुन्थ्यो कि ? जहाँसम्म दक्षिणाको लोभको कुरा छ, औँसी, पूर्णिमा आदिमा चेलीबेटीहरूलाई टीका लगाई दक्षिणा दिने त हाम्रो संस्कार नै हो । विनाराखी पनि दक्षिणा दिन सकिन्थ्यो भन्नेतर्फ मित्रले हेक्का नराखेकोमा भने अचम्म लागिरहृयो ।

गरे कुनै पनि कुरा असम्भव छैन । एकताका हाम्रो राष्ट्रिय पोशाक दौरा सुरुवाल नेपालबाट लगभग हराइसकेको अवस्थामा पुगेको थियो । राजा, प्रधानमन्त्री, मन्त्री जस्ता केहीले औपचारिक कार्यक्रमहरूमा मात्र लगाउने गर्दथे । समयको क्रमसँगै युवाहरूले सबै औपचारिक कार्यक्रमहरूमा लगाउन थालेपछि यसको क्रेज बढ्दै गएको छ । विवाहको जन्तीमा त अचेल प्रायः सबै युवाहरूदेखि लिएर पाकाहरूले समेत दौरा सुरुवाल लगाएकै देखिन्छ । विशेष कार्यक्रममा यो पोशाक देखिनु सामान्य जस्तै बनिसकेको छ ।

आजसम्म कुनै पनि मानिसले आफ्ना पिता गरिब छन् भनेर अर्काको धनी पितालाई आफ्नो पिता भनेर चिनाएको कतै देखिएको छैन । आफ्नी आमाको अनुहार जतिसुकै कुरूप भए पनि सबैले सबैभन्दा प्यारी र राम्री आफ्नै आमालाई देख्दछ । गरिब र कुरूप आमाको हात समातेर हिँड्दा बच्चाले जति गर्व गर्दछ, उसले पराई सुन्दरीको काखमा बस्दा त्यति न्यानो अनुभव गर्दैन । हाम्रो संस्कार, संस्कृति, धर्म, परम्परा र रीतिरिवाजहरू त यति धनी छन् कि यति अरू कसैको छैन भने हामी अरूको संस्कृति अवलम्बन गर्नमा नै किन गर्व गर्दछौँ भन्ने अहम् प्रश्न उठिरहन्छ ।

श्याम खनालहरू जागेका छन् । यस्तै अन्य थुप्रै नेपाली सक्रिय छन् तर ओझेलमा रहेका छन् । धेरै यस्ता मानिस छन् जो चर्चामा आउनु पर्दथ्यो तर आउन चाहेका छैनन् । चर्चामा ल्याउनुपर्ने मिडियाहरूदेखि लिएर संघसंस्थाहरूले हो तर परम्परा जोगाउन तल्लीनहरूलाई प्रकाशमा ल्याउन कसैले जरुरी ठान्दैनन् । जबसम्म हाम्रा संस्कृतिहरूलाई ओझेलमा पारिरहिन्छ तबसम्म राष्ट्रियता सबल हुन्छ भनेर ठान्नु पनि नितान्त भुल नै हुनेछ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरूलाई जोड्ने भनेको नेपाली मात्रको संस्कार र परम्पराहरूको संरक्षणले नै हो ।

राष्ट्रपतिले हिन्दूहरूका मन्दिर धाउँदा टिप्पणी चल्ने गर्दछ । प्रधानमन्त्रीले दशैँको शुभकामना दिए भने नेपालमा आलोचना हुने गरेको छ । हिन्दूका धर्मसंस्कृतिमाथिको आक्रमणलाई नै धर्म निरपेक्षता मान्ने गरिएको छ । यसैवर्षमा ठूलो एकादशी र मुसलमानहरूको बकर इद एकैदिनमा परेको थियो । दुवैका लागि आ-आफ्ना पर्वहरू महत्वका थिए । राष्ट्रपति र प्रधानमन्त्रीहरूले बकर इदको शुभकामना दिए तर ठूलो एकादशीको दिएनन् तर पनि कुनै क्रिया प्रतिक्रिया आएनन् । यदि ठूलो एकादशीको शुभकामना दिएर बकर इदको नदिएको भए के हुन्थ्यो एकपटक अनुमान गरौँ त ।

राष्ट्रपति र प्रधानमन्त्रीहरूले बकर इदको शुभकामना दिए तर ठूलो एकादशीको दिएनन् तर पनि कुनै क्रिया-प्रतिक्रिया आएनन् । यदि ठूलो एकादशीको शुभकामना दिएर बकर इदको नदिएको भए के हुन्थ्यो एकपटक अनुमान गरौँ त ।

विश्वव्यापीकरण भनेको जसले जे गरे पनि हुने भनेको पक्कै होइन । आधुनिकीकरण भनेको गरिबले आफ्नो संस्कार छोड्ने र धनीको अनुसरण गर्ने भनेको पनि पक्कै होइन । समय जति बदलिए पनि मानिसले खाने भनेको भात, दाल, रोटी नै हो । जतिसुकै विकास भए पनि या अविकसित नै रहे पनि बाघ कहिल्यै शाकाहारी बन्दैन । गाई भैँसीले घाँस नै खाने गर्दछन् । नेपालमा हुर्किएको हात्तीलाई अमेरिकै लगे पनि उसको आहारामा सबैभन्दा मीठो पीपल नै हुनेछ । डलरले किने पनि नेपाली रुपैयाँ खर्चिए पनि जसका निमित्त जे हितकर छ, त्यही नै उपयुक्त हुन्छ ।

जनैपूर्णिमाका दिनमा मासुपसलहरूमा तागाधारीको भीड देखिन्थ्यो । कतिपय मासुपसलहरू मासु सकिएर समयभन्दा पहिल्यै बन्द भइसकेका पनि देखिन्थे । चाडको महत्व एकातिर छ तर मनाउने तरिका नितान्त बेग्लै बन्दै गएको छ । यसै गर्दै गइयो भने भोलिका हाम्रा सन्ततिले हाम्रा सनातन पर्वहरूलाई नै भुल्दै जानेछन् । यसले विकराल रूप लिएर हाम्रा सन्ततिहरूको भविष्यलाई ठूलो प्रभाव पार्नेछ । महासंकल्पसहितको नदी स्नान त धेरै ठाउँमा असम्भव जस्तै भइसक्यो तर स्नानादि कर्म पूरा गरेर विधिविधानसहित जनैपूर्णिमा मनाउने परम्पराको जगेर्नाका लागि श्याम खनाल जस्तै युवाहरूको सक्रियता अझै बढ्न आवश्यक देखिएको छ ।

यो त एक पर्वको कुरा भयो । यस्ता अनेकौँ पर्व छन् । हिन्दूका मात्रै होइन । बौद्ध, किरात आदि जे जति विशुद्ध नेपालीहरूको पहिचान बढाउने परम्पराहरू छन् ती सबैको संरक्षण एवं उत्थान गर्नै पर्दछ । हामी नेपाली भएर बाँच्नका निमित्त गुरुङ, तामाङ, शेर्पाहरूको ल्होसार पनि परम्परागत तबरले मनाइनै पर्दछ । दशैँ, एकादशी, औँसी आदि पनि जीवित रहनै पर्दछ । नेवारहरूका विशिष्ट परम्पराहरू, जात्रापर्वहरू छन्, ती सबै बाँच्नै पर्दछ । हामीलाई नेपाली भनेर बचाउने यिनै संस्कारहरूले नै हो ।

दुःख लाग्दो कुरा त के छ भने पाँचौँ पुस्ताकी भाउजू मरेको छ महिना भयो भनेर दशैँ नमनाउने, जनैपूर्णिमामा तागो नलगाउने, तिहारको टीका रोक्ने जस्ता प्रचलन बढ्दै गएका छन् । शास्त्रले एक कुरा भन्छ तर हाम्रा पर्वहरूमा रोक लगाउन अनेक प्रयासहरू हुने गरेका देखिएका छन् । यस्तै बहानामा हाम्रा संस्कारहरू नगर्नेले छोराछोरीको ‘बर्थ डे’ भन्दै मासुभात खाएर मनाएका फोटोहरू फेसबुकमा राख्ने गरेको भने सर्वत्र देख्न पाइन्छ । भाउजू मरेको दुःख थियो भने त यस्ता कार्यहरू पनि त हुँदैनथे होलान् नि !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?